Aamsanchar

लाइसेन्स लिनेको स्वास्थ्य जाँच निःशुल्क

Author Image
सोमवार, माघ ७, २०७५

बिर्तामोड।

यातायात व्यवस्था कार्यालय मेचीमा सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच शुरु भएको छ । सवारी चालक अनुमति–पत्र(लाइसेन्स)का लागि गरिँदै आएको स्वास्थ्य जाँच माघ १ गतेबाट निःशुल्क गरिएको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख खरुदेव चुडालले जानकारी दिए ।

चुडालका अनुसार मेडिकलका लागि कार्यालयले टेन्डर आव्हान गरेकोे थियो, जसमा डा. मनिष मित्तलले सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भन्दै आवेदन दिएपछि मेडिकल निःशुल्क भएको हो ।

सवारी चालक अनुमति–पत्रका लागि गरिने मेडिकलका लागि गतमहिना टेन्डर खुलाइएको थियो । जसमा डा. मित्तलसहित डा. अमित परियारले पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भन्दै आवेदन दिएका थिए । उनीहरुसहित १३ जनाले शुल्क लिएर मेडिकल गर्ने भन्दै आवेदन दिएको कार्यालयले जनाएको छ । ‘डा. मित्तलले सेवाग्राहीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भन्दै रितपूर्वक निवेदन दिएपछि उहाँको निवेदनलाई सदर गरिएको हो’– कार्यालय प्रमुख चुडालले भने ।

गतवर्ष एक सय ५० रुपैयाँमा सवारी चालक अनुमति पत्रका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण कार्यालय परिसरमै गरिँदै आएको थियो । यसवर्ष पनि डा. मित्तलले सेवाग्राहीको एक वर्षसम्म निःशुल्क स्वास्थ्य जाँच गर्ने भन्दै लिखित सम्झौता गरेपछि कार्यालयबाटै सेवाग्राहीले निःशुल्क स्वास्थ्य जाँचको सुविधा पाएका हुन् ।

यता गोदावरी डायग्नोष्टिक सेन्टर बिर्तामोडले ‘ब्लड ग्रुप’ पनि निःशुल्क छुट्याउने जनाएको छ । आइतवारबाट एक वर्षसम्मका लागि सेवाग्राहीको निःशुल्क ‘ब्लड ग्रुप’ छुट्याइने गोदाबरी डायग्नोष्टिक सेन्टरका सञ्चालक बादल उप्रेतीले जानकारी दिए ।

भूपेन्द्र लिङ्देन ‘मन्त्री’ सँग सहकार्य गर्दै सामाजिक सेवा भाव राखेर ‘ब्लडग्रुप’ निःशुल्क गरिएको उप्रेतीले बताए । यसअघि ब्लड ग्रुप छुट्याएको ५० रुपैयाँ शुल्क लिइँदै आएको थियो । डा. मिङ्कु झाले सेवाग्राहीको रगत परीक्षण (व्लडग्रुप) छुट्याउने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर