Aamsanchar

औपचारिकतामा मात्र सिमित नबनोस् सहिद दिवस

Author Image
बुधवार, माघ १६, २०७५

नरेन्द्र ढकाल

हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुइचार सपुत मरेर नगए यो साहित्यकार भूपि शेरचनको कविताको हरफहरुले साँच्चै सहिदहरुको सम्मान गरेको छ । अनि परिर्वतनको विगुल फुकेको छ । तर यहाँ सबै गरिब दुःखीहरूका सपुत मात्र छन । कुनै पनि नेताहरूका सपुत अवश्य पनि छैन होला यो लिष्टमा जसले आगो सल्कायो त्यो पर बसेर आगो ताप्तै छ , जलेर मर्ने त अरू नै छन यहाँ उनैलाई आज माघ १६ गते सहिद दिवस भनेर सम्झिने प्रयत्न गरिदैछ ।

राष्ट्र र जनताको हितका लागि आफ्नो प्राणको आहुति दिने व्यक्तिलाई सहिद भनिन्छ भन्ने सबैलाई थाहा छ । तर, पछिल्लो समय नेपालमा सहिद जस्तो सम्मान जनक पदावलीलाई निकै सस्तो बनाईदै लगिएको छ । आफ्नो जीवनलाई राष्ट्र वा राष्ट्रिय संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निमित्त बलिदान गर्नेहरुलाई सहिद मानिने भए पनि पछिल्लो सयम नेपालमा यस्ता सहिद नभई दुर्घटना, अपराधिक घटना,द्वन्दमा मारिएका व्यक्तिलाई पनि सहिद घोषणा गरेर असली सहिदको अपमान गरिएको छ ।

प्रत्येक वर्ष सहिद दिवस आउँछ । सरकारले माघ १६ लाई सहिद दिवसका रुपमा मान्दै यस दिनलाई सहिदका गाथा सुनाउने दिनको रुपमा प्रयोग गर्दछ । यस वर्ष पनि सदा झै सहिद दिवस आयो । सरकारले सहिद दिवस वा सहिद सप्ताह माघ १० देखि १६ सम्म औपचारिक रुपमा मनायो । तर, सहिदको लागि भने कुनै सम्मान दिन सकेन सरकारले । यो औपचारिकताले मात्रै कदापी पनि सहिद सप्ताहको सार्थकता हासिल हुन सक्दैन । हार्दिक मनको उपस्थिततिले मात्रै पुनित कार्य सम्पन्न हुन सक्छ ।

सहिदको अमरत्वले अहिलेसम्म अलिकति पनि सान्त्वना पाउन नसकिरहेको बेला सरकारले औपचारिकता निभावउने बाहेक कुनै त्यस्तै नौलो काम गर्न सकेको छैन । सहिदको मूल्य र महत्वलाई सरकार अनि नेपाली नागरिकहरुले अझै पनि महसुस गर्न र बुझ्न सकिरहेका छैनन् । सहिदको योगदानलाई मुल्याङकन गर्न समेत सरकारले कुनै चासो देखाउने चेष्टा पनि गरेको छैन । बरु उल्टै सरकार त विश्वको रेकर्डमा सबैभन्दा बढी सहिद भएको देश बनाउन तल्लीन भएको छ । सायदै यस्तो देश कुनै छैन होला ? नेपालका कति सहिद छन् भनेर कसैले सोधेमा उत्तर कसैले दिन सक्ने अवस्था छैन कारण दैनिक सहिदको संख्यामा बृद्धि भईरहन्छ ।

देश र जनताको प्रगती र भलाईको लागि आजाव उठाउँदा संघर्ष गर्दा मर्नेलाई मात्र राज्यले सहिदको कोटीमा राख्नुपर्छ, मरिन्छ भन्ने थाहा हुँदा हुँदै पनि आफ्नो जीवनको वलिदान दिन समेत तयार हुने व्यक्ति नै सहिद कहलिन्छ । जो व्यक्ति संघर्षको क्रममा मर्छन् ती नै वास्ताविक अर्थमा सहिद हुन् । देश र समाजको हितमा प्रयत्न वा संघर्ष अवस्थामा सचेत बलिदान नै सहादत हो ।


गंगालाल, शुक्रराज, धर्मभक्त अनि दशरथ चन्दहरु पनि राणाकै निरंकुशतन्त्रको विरोध गर्दा मारिए । उनीहरुलाई राणा शासकविरुद्ध आवाज उठाउँदा संघर्ष गर्दा जेल पर्न र मर्न सकिन्छ भन्ने हेक्का थियो । तर, उनीहरुले त्यसो गर्न अनकनाएनन् । उनीहरुले क्षमा मागेर मृत्युबाट मुक्ति पाउन सक्थे । तर मागेनन् । न्यायकको पक्षमा सामाजिक हितका लागि उनीहरुको अडान कायम थियो । त्यसैले त उनीहरु देशका लागि सहिद कहलिए । उनीहरु नै वास्ताविक अर्थमा सहिद हुन् । उनीहरुजस्तै सामाजिक हित वा रुपान्तरको लागि सचेत रुपमा जीवनको आहुति दिने सबै मानिस सहिद हुन् । तर पछिल्लो सयमा सहिदको धज्जी उडाईएको छ ।

साँच्चै सहिदका सपना विपना बनाउने साहस छ भने नेपालका ठूला दलले आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन गर्ने हिम्मत गर्नुप¥यो । केवल बतासे गफ, चमेरे चरित्र र छेपारे रङ देखाउने नौटङ्कीको रुपमा देखाउनु हुन्न । मुलुकमा प्रजातन्त्र ल्याउन सहिदले जीवन उत्सर्ग गरे । तर अहिले लोकतन्त्र हुँदै गणतन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले सहिद उपमालाई गलत व्याख्या गरेर पार्टीिपच्छे सहिद घोषणाले उनीहरूको अपमान भइरहेको छ । दलका नेताले आफ्नो जीवन शैली अनि रवाफ फेरे तर जनता हिजो राणा शासन र आजको गणतन्त्रणमा खासै विभिन्नता देख्दैनन् । अनि सहिदले कसका लागि बलिदानी दिए भन्ने विषय एक पटक गहिरीएर सोच्ने बेला आएको छ ।

आज मानिसमा निरासा ब्याप्य हुदै गएको छ । यस्तो अवस्थामा हिजो क्रान्तिका चर्का नारा लगाउनेहरु जब सत्ता र शक्तिमा पुग्छन् उनीहरु भ्रष्ट्रचारमा र्चुलुम्म डुबेका छन् । हिजो देशका निमित्त रगत र पसिना बगाउनेहरुको अवस्था आज पनि उस्तै छ । सहिदको शालिकमा माला र अविर लगाएर दुई चार वटा क्रान्तिकारी भाषण गर्दैमा सहिदको सम्मान हुदैन् । त्यसैले राजनीतिक दलहरुले बेलैमा सोच्न जरुरी रहेको छ । अब मुलुकको समृद्धि र विकास चहाने हो भने सहिदले देखाएको बाटो र सहिदको सपना साकार पार्न तर्फ एकजुट हुन जरुरी रहेको छ ।

सहिदको सपना पुरा गर्न ओली, दाहाल र देउवा मिलेर मात्र हुन्न समग्र नेपालीहरुलाई एकताबद्ध बनाएर दलगत स्वार्थ भन्दा माथि उठाएर सहिदको सम्मान गर्दै उनीहरुको पथमा अगाडी बढ्न जरुरी रहेको छ तब मात्र सहिद दिवसले सार्थकता प्राप्त गर्ने छ । नत्र कर्मकाण्डी मात्र बन्ने छ हरेक वर्षका सहिद दिवसहरु । यो वर्ष सहिदको शालिकमा माल्यार्पणमा नै सहिद दिवस सिमित भएपनि आगामी वर्षबाट सहिदले सच्चा सम्मान र उनीहरुको पथमा देशले फड्को मार्दै देशले समृद्धिको यात्रा तयगरोस् शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर