Aamsanchar

एकीकृत घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

Author Image
आइतवार, फागुन ५, २०७५

म्याग्दी, 

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङको कुम्रिस्थित वडा कार्यालय परिसरमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट साढे दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरबाट २७२ लाभान्वित भएका हुन्् ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ७० नयाँ र १३ प्रतिलिपि नागरिकताको प्रमाणपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले ७७ को स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिएका छन्् ।

जिल्ला निर्वाचन कार्यालयको टोलीले ५७ को तस्विरसहितको मतदाता नामावली दर्ता गराएका छन् । सोही शिविरको अवसरमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ५१ लाई ज्येष्ठ नागरिक र चारलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको छ ।

मराङकी ७६ वर्षीया नरिमा पुनलाई गाउँपालिकाका अध्यक्ष थमसरा पुन, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत शर्मा र वडाध्यक्ष राजाराम शर्माले ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराउनुभएको थियो ।

शिविरमा मराङ र मल्कवाङका बासिन्दाले सेवा लिएका थिए । गाउँपालिकाले सञ्चालन गरेको योजना सम्झौता, अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसम्बन्धी शिविर भने आइतबारसम्म जारी रहनेछ् ।

यसअघि धवलागिरि गाउँपालिकाको गुर्जा, लमसुङ, रघुगङ्गाको रायखोर, मङ्गलाको कुहुँ र मालिकाको देवीस्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । अन्नपूर्ण गाउँपालिकाको शिखमा पनि शिविर सञ्चालन गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर