Aamsanchar

स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस

Author Image
आइतवार, फागुन ५, २०७५

चितवन,

नेपाली काङ्ग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ । गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो ।

हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो । नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महीनाबाट अभियान शुरु गरिएको जानकारी दिनुभयो । गत माघ १२ गते माडीमा पार्टीका केन्द्रिय सदस्य गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण गराइएको थियो ।

सभापति श्रेष्ठका अनुसार माघ १६ गते खैरहनी नगरपालिकामा पार्टीका नेता धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिनुभएको थियो । त्यसै गरी माघ १९ गते राप्ती नगरपालिकामा पूर्वमन्त्रीसमेत रहनुभएका काङ्ग्रेस नेता महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

काङ्ग्रेस भरतपुर नगरसमितिले यही फागुन ७ गते पुरुषोत्तम दाहाल र जीवन परियार बोलाएर प्रशिक्षण दिन लागेको समितिका सभापति भरत अधिकारीले बताउनुभयो । यसै गरी रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि प्रशिक्षण गर्ने तयारी भइरहेको काङ्ग्रेसले जनाएको छ ।

सभापति श्रेष्ठले पार्टीको हालै मात्र सम्पन्न महासमिति बैठकले गरेका निर्णयका बारेमा स्थानीय तहका नेताहरुलाई जानकारी गराउन, सरकारका गलत गतिविधिका बारेमा प्रशिक्षित गराउन, काङ्ग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जीत सुनिश्चित गर्न जिल्ला व्यापी रुपमा प्रशिक्षण थालिएको हो ।

प्रशिक्षणमा हरेक वडाबाट कम्तिमा ४० प्रतिशत महिलासहित १० जना स्थानीय नेतालाई प्रशिक्षणमा राखिएको छ । गत निर्वाचनमा सङ्घ र प्रदेशका सबै निर्वाचनमा काङ्ग्रेसले हार बेहोरेको थियो भने स्थानीय तहमा गाउँपालिका बाहेक अन्यत्र काङ्ग्रेसको नेतृत्व शून्य भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर