Aamsanchar

तीन जिल्लाका कारागारलाई रुपान्तरण गरिने

Author Image
मङ्गलवार, फागुन ७, २०७५

गलकोट,

साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न बागलुङ, पर्वत र म्याग्दीका जिल्ला कारागार रूपान्तरणका लागि पहल थालिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तरजिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले तीनवटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङमा महिला बन्दीगृह तथा म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दीगृह बनाउने निर्णय गरिएको बताइएको छ ।

जिल्ला कारागारमा हुने कैदीबन्दीको चाप र व्यवस्थापनका लागि तीनै जिल्लाका कारागारका कैदीबन्दी गाभ्ने निर्णय भएको बागलुङका प्रजिअ खरेलले बताउनुभयो । “तीनै जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या छ”, खरेलले भन्नुभयो, “कारागारलाई रूपान्तरण गर्दा समस्या समाधान हुन्छ ।”

बागलुङ, पर्वत र म्याग्दीका कारागारको व्यवस्थापन एवं क्षमता विस्तारका लागि कारागारलाई रुपान्तरण गर्ने निर्णय गरेर गृहमन्त्रालय र कारागार विभागमा पठाइने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सम्बन्धित निकायको अनुमति प्राप्त भएपछि कारागार रूपान्तरण गरी महिला र पुरूषलाई छुट्टाछुट्टै कारागारमा राख्दा कारागारको व्यवस्थापनमा सहज हुने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अपेक्षा छ । बागलुङमा रहेको जिल्ला कारगारलाई रुपान्तरण गरी महिला बन्दीगृहको रूपमा मात्र विकास गर्दा कारागारको क्षमताअनुसार मात्र कैदीबन्दी राख्न सकिने छ भने अन्य जिल्लामा पुरूषलाई मात्र कारागारमा राख्दा व्यवस्थापनमा निकै सहज हुनेछ ।

पचास जनाको क्षमता रहेको जिल्ला कारागार बागलुङमा ९५ पुरुष १४ महिला र एक नाबालिका गरी ११० कैदीबन्दी रहेको कारागार कार्यालयका प्रमुख मोहन पौडेलले जानकारी दिनुभयो । अन्तरजिल्ला समन्वय समितिले जिल्ला कारागार बागलुङको अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा आवास, खानेपानी र स्वास्थ्यलगायतका समस्या भएको कैदीबन्दीले बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर