Aamsanchar

कनकाईमा मनाइयो प्रजातन्त्र दिवस

Author Image
मङ्गलवार, फागुन ७, २०७५

सुरुङ्गा।

कनकाई नगरपालिकाको आयोजनामा विविध सांस्कृतिक प्रस्तुतिसहित ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

स्थानीय कनकाई माविको प्रांगणमा सम्पन्न कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता र झापा क्षेत्र नं. ४ का संघीय सांसद एल.पी. साँवाको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि साँवाले वर्तमान सरकार संविधानको कार्यान्वयन गर्दै प्रजातन्त्रलाई जनताको पक्षमा उपयोग गर्न लागीपरेको तर देशीविदेशी शक्तिहरु अहिलेको संरचनालाई ध्वस्त गरी अस्थिरता सृजना गर्न षडयन्त्र गरिरहेको आरोप लगाए ।

आउँदो आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकलाई भत्ता वृद्धि गर्न गृहकार्य भइरहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हीराकुमार थापाले नेकपाको नेतृत्वको सरकार विरुद्ध भइरहेको षडयन्त्र चिर्दै जनताको विकास निर्माणको चाहना पुरा गर्न अग्रसर भइरहेको बताए ।

कार्यक्रममा कनकाई नगर क्षेत्रका विद्यालय तथा जातीय संघसंस्थाले विभिन्न जातजातिको संस्कृति झल्कने विभिन्न झाँकी तथा २ दर्जन बढी नृत्यहरु प्रस्तुत गरेका थिए । कनकाई नगर उपप्रमुख मञ्जु प्रसाईले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि गंगाराम दाहाल, नेपाल आदिवासी जनजाति महासंघ कनकाई नगर अध्यक्ष धर्मलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर क्षेत्रमा बसोबास गर्ने जातजातिका नृत्यसहित प्रजातन्त्र दिवस मनाएर जातीय एकता र सहकार्यको सन्देश दिन खोजिएको कार्यक्रमका संयोजक नगर कार्यपालिकाका सदस्य नबलकिशोर दत्तले जानकारी दिए ।

कार्यक्रममा नगर क्षेत्रभित्रका विद्यालयका प्रअहरु, जातीय संघसंगठनका अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, नगर परिषद् सदस्यहरु, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर