Aamsanchar

महिलाले बनाए पदमार्ग

Author Image
शनिवार, चैत ९, २०७५

म्याग्दी,

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाको नेतृत्वमा पदमार्ग निर्माण गरिएको छ । महिलाले नाचगान गरेर जुटाएको पैसा परिचालन र श्रमदान जुटाएर पदमार्ग बनाएका हुन् ।

जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरिएको छ । करीब रु १० लाखको लगानीमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी पाइजाले बताउनुभयो । उहाँका अनुसार डेढ मिटर चौडाइ भएको पदमार्ग निर्माणमा रु नौ लाख ६३ हजार ८७० खर्च भएको छ । पदमार्ग निर्माण उपभोक्ता समितिमा पदाधीकारी र सदस्य सबै महिला छन्. ।

गाउँपालिकाले रु एक लाख ९८ हजार अनुदान उपलब्ध गराएको पदमार्ग बनाउन आमा समूहको कोषमा रहेको रु तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप रु तीन लाख ६० हजार ४४० जुटाइएको छ । ४३ घरधुरीले रु ४६ हजार ५०० बराबरको श्रमदान गरेका छन् । गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, विवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बताउनुभयो । आर्थिक स्रोत र श्रमदान जुटाउन महिलाले नै नेतृत्व गरेका थिए ।

उनीहरुले यसअघि पनि रघुगङ्गा गाउँपालिकाको तिप्ल्याङदेखि दोसल्लेसम्म दुई किलोमिटरभन्दा बढी घोडेटो बाटो बनाएका थिए । सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ । बालबालिका र वृद्धवृद्धाले पनि सजिलै हिँड्डुल गर्न पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर