Aamsanchar

फिलिपिनी महिला जोया माथि नेपालले गरेको अन्याय 

Author Image
शनिवार, भदौ ४, २०७३

bharat

– भरत शिवाकोटी

[ हाल प्रवासमा ]

 

joya

केहि समय पहिलेको एक घटनाले धेरैको मन खिचिएको थियो । घटनालाई कतिले सतही रुपमा हेरे त कतिले सुक्ष्म रुपमा हेरे अनि कठैबरी भने र सहानुभूति प्रकट गरे । हुन त यो भन्दा अरु धेरै गर्न सक्ने अवस्था अनि क्षमता र पहुँच नै कहाँ छ र आम जनामानसको ।

हाम्रो देशमा हुने विभिन्न घटना मध्ये अति नै कम मात्रामा हुने गरेको घटना थियो फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसको जीवनकालमा घटेको घटना । आजभन्दा साढे तीन वर्षअघि आफ्नै पारिवारिक वाध्यता बोकेर रोजगारीको सिलसिलामा युएई आएकी जोयालिन हँसिली एक आम महिला प्रतिनिधि नारि हुन । नेपाली हुन अथवा अरु जुनसुकै नागरिक हुन रोजगारीका खातिर अर्को देशमा गएर श्रम गर्ने र त्यही श्रमको कमाईमा आफ्ना आवश्यकता एवं इच्छाहरु पुरा गर्ने अठोट बोकेका हुन्छन अधिकाङश वैदेशिक रोजगारीमा जानेहरुले । यस्तै इच्छा थियो जोयालिनको पनि । जोयाका बुबा रेन्याईको कमाइबाट पारिवारिक आवश्यकता पुरा हुन धौ-धौ परेपछि ति आवश्यकतालाई पुरा गर्नेअठोटको सपना बोकेर युएई आएकी थिइन जोयालिन । उनि काम गर्ने कम्पनीमा कार्यरत नेपालको  चितवन रत्ननगर घर भएका व्याक्ति जीवन थापा पनि रोजगारीका खातिर श्रम बगाउन त्यहाँ पुगेका थिए। काम गर्ने दौरानमा जीवन थापा र जोयालिन बिच प्रेम सम्बन्ध शुरु भयो र त्यो प्रेम झाँगिदै गएर अन्तत विवाहमा परिणत भयो तर अवशोच केहि महिना पश्चात जीवनले गरेको गल्तीका कारण युएई  प्रशासनले जीवनलाई पक्राउ गर्यो । पक्राउ परेका श्रीमान जीवनलाई छुटाउन जोयालिनले आफ्नै कमाई खर्च गरेर आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै नेपालका निमित्त एक महिने पर्यटक भिस्सा लिएर सँगसँगै नेपाल आइन । शुरुमा सुमधुर प्रेम सम्बन्धमा बाँधिएका दुवैको सम्बन्धमा नेपाल आएको केहि महिनापछि नै दरार शुरु भएको देखिन्छ जब जीवनले जोयालिनको राहदानी च्यातिदिन्छन । दिनहरु बित्दै गए, आवश्यक कानुनी प्रक्रिया पुरा नभई उनीहरुका दुई सन्तानले जन्म लिए तर श्रीमान जीवन दिनानुदिन कुलतमा फस्दै गयो । उसले जोयालिनलाई अनेकौ किसिमका यातना दिन थाल्यो, कस्ट दिन थाल्यो, हिंसाको चरमता नाघ्यो र जीवन जिउन र धान्न नसक्ने भएपछी उनि दुई नाबालक छोरालाई काखी च्यापेर भौतारिदै सडकमा निस्किन । उनको पिडामा सहानाभुती राख्नेहरुले परोपकारी संस्था आदर्श गृहमा खबर गरे र आदर्श गृहले उनलाई सहयोग गर्दै नेपाल सरकार द्वारा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर नाबालक छोराका साथमा आफ्नो देश फिलिपिन्स फिर्ता गरियो । घटनाको सारांस यसरि नै आयो विभिन्न मिडिया मार्फत ।

यो घटनालाई लिएर एक कोणबाट सन्तोष गर्न सकिएला जसको श्रेय अनि अभिनन्दन आदर्श गृहले लिनेछ साथमा नेपाल सरकारले पनि । जोयालिनले आफ्नो जिन्दगी आफ्नै किसिमले जिउन सक्नेछिन र यसमा उनिले खुशी अभिव्यक्त गरिसकेकी पनि छन । तर सुक्ष्म रुपमा गहन बिशलेसण गर्ने हो भने यो घटनाले आम नेपालीमा र हाम्रो देश नेपालका निमित्त एउटा कालो धब्बा ओडाइदिएको छ । सिङ्गो देश यो घटनाको सहि निराकरण नभएका कारण बदनाम हुँदैछ । यहाँको कानुनको धज्जी उडदैछ र दुनिया हाम्रो मुलुकतिर फर्केर भन्दैछ, ‘’कस्तो न्याय हुँदोरहेछ नेपालमा जहाँ नेपाली पुरुष सँग विवाह गरेकि विदेशी नारिलाई नाबालक बच्चाका साथ अपमान पूर्वक स्वदेश फिर्ता गरिदोरहेछ र उद्दारको ढवाङ फुकिदोरहेछ ।’’ यथार्थता र सत्यलाई आत्मासाथ गर्ने हो भने जोयालिनलाई उनको देश फर्काउँदैमा असल नागरिकले न त पूर्ण खुशी व्यक्त गर्न सक्दछन न त नेपाल र नेपालीले जस नै पाउनेछन । आज बहुसंख्यक नेपालीहरु चाहे स्वदेशमा रहेका हुन अथवा विदेशमा यही अभिमत प्रकट गरिरहेका छन् तर कसले सुनिदिने ?

joyalin

जोयालिन यो सम्पूर्ण घटनाको पिडित जिउँदो व्याक्ति हुन, उनि आँफै साक्षी हुन, उनका साथमा रहेका हाम्रै देश नेपालमा जन्म भएका दुई नाबालकहरु दुनियाको सबैभन्दा बलियो प्रमाण हुन अनि सवुत हुन । बर्सौ सम्म एउटा छानामुनिजीवन थापा सँग जोइपोइको सम्बन्धमा रहेकी जोयालिन जीवन थापाको श्रीमती होइनन भनेर थापाको घरपरिवार, त्यो गाँउ र रत्ननगरको समाजले भन्न सक्छ ? यतिका यथेस्ट भएका प्रमाणलाई हेर्ने आँखाहरू बन्द गरेर हाम्रो कानुनलाई कस्तो किसिमको प्रमाण जुटेन र जोयालिन माथि यो हर्कत गरियो ? के देश फरक हुँदैमा जोयालिनले भोगेका यातना र उनको अधिकारमा असली न्याय गर्ने अधिकारकर्मीहरु, नागरिक समाजहरु, सरोकारवालाहरु चुप लागेर बस्न मिल्छ त ? के पीडितले वास्तवमै न्याय पाएको हो कि पिडितको अधिकार कुण्ठित गरेर शोसण गरिएको हो ? आज हजारौं मान्छेहरुमा यी र यस्तै किसिमका अन्नुतरित प्रशनहरु बुलन्द भैरहेका छन । तर विडम्बना आजपनि जीवन थापा भन्ने अपराधी खुलेआम कतै छाती फुलाएर हिँडिरहेको छ । उसलाई कार्वाही हुनुपर्छ भन्ने आवाज सम्बन्धित निकाय कतैबाट सुन्न पाइएको छैन । प्रशासन, महिला अधिकारकर्मी,  महिला अगुवा, सरोकारवाला आदि आवश्यक प्रमाण नभएका कारण केहि गर्न नसकेको भनेर हाँस्यास्पद अभिव्यक्ती दिंदै कर्तव्यबाट पन्छिरहेका छन, लाज छोप्न नसकेर मुन्टो लुकाउँदै भागिरहेका छन ।

अझ दु:ख लाग्दो कुरा कति ठाँउमा अनि मिडियामा अनाथ बालकका साथमा फिलिपिनी महिलाको उद्दार भनेर समेत चर्चा बटुल्न खोजियो । एउटा नेपाली नागरिकको श्रीमती र सन्तान भन्ने जान्दाजान्दै अनाथ बनाइयो अनि अपमान गर्दै आकाशतिर फर्केर थुक्ने दुस्प्रयास गरियो जुन थुक आज आफ्नै अनुहारभरि खसेर आँफैलाई गिज्याइरहेको छ । एउटी नारि माथि यतिसम्म त गरियो तर स्वदेश फर्काउने बेलामा समेत कानुनी प्रक्रिया पुरा नगरेको भन्दै सात लाख रुपैंया जरिवाना तिराइयो । यो जरिवाना न त जोयालिनको श्रीमानले तिर्यो न त विषयको गम्भिरयतालाई लिएर आँखा चिम्लेर सुतिरहेको नेपाल सरकारले मिनाहा गर्ने दायित्व नै वोध गर्न सक्यो । रकम तिर्यो फिलिपिन्सको राजदुतावासले । आज नेपाली नागरिकसँग विवाह गरेर आएकी विदेशी नारि नेपाली बुहारीलाई यसो गरिन्छ भने हाम्रा देशबाट समेत विदेशी नागरिकसँग विवाह गरेर गएका नेपाली चेलीहरुलाई भोलिका दिनहरुमा हाम्रो देशले जस्तै कुनै देशले अन्यायको धारले जोयालिनलाई झैँ रेटेमा त्यो सहिय हुन्छ त सरकार ? कुनैपनि देशमा रहेका नागरिकहरुको अभिभावका त्यो देशको सरकार हुन्छ, उनीहरुको हक र अधिकार कानुनमा सुरक्षित हुन्छ तर हाम्रो देशमा एउटा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको हक र अधिकार भनेको लालाबाला सहित उसैको देशमा लखेट्नु हो त सरकार ? जोयालिन एक नेपालीकी श्रीमती हुन सँगै नेपालकी बुहारी हुन, ईज्जत हुन अनि सम्मान हुन । हामीले अपहेलित गरेर अन्यायको घनचक्रमा पारिएकी बुहारीको खोसिएको अधिकार दिलाएर अधिकार सम्पन्न बनाउनुपर्थ्यो, दोषीलाई कानुनको कठघरामा उभ्याउँदै बालकहरुलाई राज्यले न्याय दिलाउन सक्नुपर्थ्यो अनि दुनिया माझ राज्य एउटा उदाहरण बन्दथ्यो तर आज यसको ठिक उल्टो भएको छ । यदि कुनै दिन हाम्रा नेपाली चेलीहरु जोयालिन जस्तै बिदेशबाट नाबालकहरु सँगै लखेटिए भने त्यो अनौठो हुनेछैन । त्यसबेला हाम्रो आवाजमा चाबी लाग्नेछ र जोयालिनका आँशुहरुले पोल्नेछ तर त्यस्तो नहोस भन्ने कामना गरौ ।

हाम्रो नेपाली संस्कार अनुसार नारीलाई अथवा छोरी वा बुहारीलाई घरका गहना मानिन्छ । छिमेकी मुलुक भारत सँग बर्सौदेखी बहु-बेटी सम्बन्ध छ, अरु धेरै देशका नागरिकसँग नेपाली नागरिकको बिहेवारी भएको छ भने कुन त्यस्तो नजिरले जोयालिनको नेपाली बुहारी हुन पाउने अधिकार हरण गर्यो ? कुन सवुतको अभावमा अपराधी जीवन थापालाई सँजायबाट उन्मुक्ति दिईदैछ ? के पिडित महिला र ति कोपिला जस्ता नाबालक नानीहरुलाई जीवन वा उसको परिवारबाट न्याय दिलाउन सकिने व्यवस्था हाम्रो कानुनमा छैन त ? न्याय अथवा उद्दार गरयौ भन्नेहरु तिर तेर्सिएका प्रशनहरु धेरै छन ।

परिवर्तन र अधिकारको नारा लगाएर नथाक्नेहरु बारम्बार यी र यस्तै किसिमका बेथितिको सति जाने गरेको यो एउटा गतिलो प्रमाणले आज स्वदेश तथा विदेशमा रहेका हरेक नेपालीहरुको शिर निहुरयाएको छ । त्यतिमात्र होइन आज विश्व नेपाल सरकारले आफ्नै देशकी बुहारी र काखे बालकहरुमाथि गरेको कथित न्याय र यसले दिएको सन्देशलाई नियालिरहेको छ । आजका दिनमा जोयालिन आफ्नो माइती घर पुगेकी होलिन, परिवार खुशी भएका होलान तर त्यहाँ उनले आफ्नो पिडा पोख्दा हाम्रो देशभित्रकसैको संरक्षणमाचयनसँगबाँचिरहेको अपराधी जीवन थापाको नाम आउने छैन । त्यहाँ त एउटा नेपाली भनेर भनिनेछ र एउटा व्याक्तिले गरेको अपराधलाई न्याय गर्न नसक्ने राज्यले गरेको अपमानका कारण समग्र नेपालीको नाम उच्चारण हुनेछ अनि हरेक नेपालीको शिर लज्जास्पदको घुम्टोले घोप्टो पर्नेछ। त्यसबेला हरेक फिलिपिनी नागरिकहरुले नेपाली प्रति माया होइन घृणा गर्नेछन, राज्यप्रति सहानाभुती होइन नफरत गर्नेछन ।

जोयालिनले नेपालमा भोगेको पिडा र पाएको अपमानको भागिदार आज नेपाल सरकारले हरेक नेपालीमा बोकाइदिएको छ । मेरो देश नेपाल शान्तीभुमी, बुद्दभुमी, सगरमाथाको देश भनेर विश्व सामु चिनिदा चिनिदै आज आफ्नै बुहारीलाई लालाबाला सहित लखेटने देश भनेर इन्द्रेणी लगाउने राज्यसँग खेद व्यक्त गर्न मन लागेको छ ।होजोयालिन, तिमीले बेलामा कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्थ्यो त्यो तिम्रो गल्ति थियो, भूल थियो तर त्यसको बदला तिमीलाई गरिएको भनेको न्याय कदापि न्याय होइन, त्यो सरसर अन्याय हो, न्याय हो त घुँडा टेकेको न्याय हो । त्यसैले जोया म पनि एक नेपाली भएको कारण टाढैबाट लाजको शिर निहुर्याएर नैतिक रुपमा तिमीसँग क्षमा चाहन्छु ।तिमीलाई म अनि मेरा देशका अधिकारकर्मी अनि सिङ्गो सरकारले न्याय दिन सकेन बरु अपमान गर्यो, तिरस्कार गर्यो अनि प्रमाण नभएको भन्दै देशनिकाला गर्यो । यति हुँदाहुँदै पनि जाँदाजाँदै नेपालकी बुहारी हुन नसकेकी तिमीले आफ्नो अपराधी लोग्ने प्रति गहिरो माया दर्शायौ, उसको परिवारको हेक्का राख्न भन्यौ अनि प्रमाणित गर्यौ कि नारि साँच्चिकै नारि हुन्छे भनेर । तिमीले भक्कानिदै गहभरी आँशु टिलपिलाउँदा तिम्रो अनुहारमा छचल्किएको प्रेम र पिडामा बारम्बार गला अवरुद्द भएको थियो ।यसका वावजुद आफु अन्यायमा परेको जान्दाजान्दै पनि उद्दार गर्नेहरु प्रति खुशी व्यक्त गरयौ र भनेउ ‘’आफ्ना नाबालाकहरुलाई हुर्काएर पैसा कमाएर नेपाल आउँछु .’’ यो समयलाखौं नेपालीका आँखाहरू अनयासै रसाएका थिए ।आफ्नो हक र अधिकारको बलिदान दिएर सर्वस्व लुटिएकी तिम्रो नयाँ जिन्दगी चोटका बाबजुद पनि सफल बन्न सकोस भन्ने कामना सँगै मेरो देश नेपाल र नेपालीहरु प्रति महान सोच र माया व्यक्त गर्ने तिमीलाई सलाम जोयालिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर