Aamsanchar

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

Author Image
सोमवार, वैशाख ९, २०७६

मुग्लिन।

“विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको ।

यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०÷२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अगावै कोटा पुगेपछि सूचना जारी गरेरै भर्ना रोकिएको शिक्षक गुरुङले बताउनुभयो ।

अन्य बालबालिकाहरुलाई त यस विद्यालयमा वञ्चित गरियोनी भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “हाम्रो अन्य बालबालिकालाई बञ्चित गर्ने उद्देश्य होइन, पहिलो वर्ष विद्यालयको भौतिक संरचना र जनशक्तिले धान्न सक्ने मात्र भर्ना गरेका हौँ । विद्यार्थीको सङ्ख्या थुर्पानुभन्दा पनि गुणात्मक शिक्षामा ध्यान दिनुपपर्छ ।” विद्यालयको थप भौतिक पूर्वाधार निर्माणपछि आगामी वर्षबाट यस विद्यालयमा अध्ययन गर्न चाहने सबै बालबालिकाको भर्ना लिने उहाँले बताउनुभयो ।

उहाँ अनुसार नर्सरी केजी र कक्षा १ मा सबै बालबालिकालाई भर्ना लिँदा प्रत्येक कक्षामा ३० भन्दा धेरै बालबालिका हुन्छन् । उक्त सङ्ख्या विद्यालयको भौतिक र जनशक्तिले धान्न सक्दैन । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा अन्य कक्षामा भने भर्ना रोकिएको छैन । गतवर्ष १०३ जना बालबालिका भर्ना भएका थिए ।

यस वर्ष १४० जना पु¥याउने लक्ष्य लिएको छ । निजी विद्यालयले चर्को शुल्क लिएर दिने शिक्षाभन्दा कमी नहुने विद्यालय व्यवस्थापन समिति र शिक्षकले अभिभावकसँग प्रतिबद्धता गरेको छ ।

प्रधानाध्यापक गुरुङका अनुसार निजी विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक नै प्रयोग गरिनेछ भने सवारी भाडा बाहेक विद्यार्थीले अन्य शुल्क तिर्नुपर्ने छैन । विद्यालयले व्यवस्थापन गर्ने सवारी भाडा दर पनि अभिभावकले नै निर्धारण गर्ने गुरुङले जानकारी दिनुभयो ।

यसैबीच विसं २०६६ देखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको वडा नं–५ मा रहेको त्रिवेणी बराह माध्यमिक विद्यालयमा यसवर्ष पनि विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि निजी विद्यालयबाट समेत विद्यार्थी उक्त विद्यालयमा भर्ना हुन आएको प्रधानाध्यापक युवराज लामाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर