Aamsanchar

विधेयक सर्वसम्मत रुपमा पारित

Author Image
मङ्गलवार, वैशाख १०, २०७६

झापा ।

प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुभएपछि विधेयक पारित भएको थियो ।

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभामा उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँसभा, नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्नुभएको थियो ।

त्यसअघि प्रदेशसभाको विषेश समयमा बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरले प्रदेश सभालाई निरीह बनाउने काम भएको आरोप लगाउँदै सङ्कल्प प्रस्ताव पारित गरेर सङ्घीय सरकारलाई पठाउन आवश्यक भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य डिल्ली चौधरीले सङ्घीयतालाई कसरी बलियो बनाउने भन्ने विषयमा सबैको ध्यान जान आवश्यक भएको उल्लेख गर्दै प्रदेशसभाको अधिकारको विषयमा सङ्कल्प प्रस्ताव लैजान काङ्ग्रेस तयार रहेको बताउनुभयो । प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रदेशसभा स्थापित हुँदा प्रदेश सरकारलाई घाटा नलाग्ने उल्लेख गर्दै सिंहदरबारको महारोग प्रदेशमा पनि सर्न लागेको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले भारतबाट आयात भएको तरकारीले कृषकको उत्पादन लागत पनि नउठेको भन्दै कृषिलाई व्यवसायीकरण गर्न आग्रह गर्नुभयो । यस्तै शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डे, धनकली चौधरीलगायतले निर्माण व्यवसायीको लापरवाहीले कपिलवस्तुको एक पुलमा आवतजावत गर्न समस्या देखिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर