Aamsanchar

अपराध नियन्त्रणमा किन चुक्दै प्रहरी ?

Author Image
बुधवार, वैशाख ११, २०७६

बिर्तामोड ।

अपराध अनुसन्धानमा अबल्ल मानिएको नेपाल प्रहरीमाथि पछिल्लो समय जनताले प्रश्न उठाउन थालेका छन् । ठूला अपराधका घटनाहरुमा प्रहरीले लामो समयपछि सफलता हासिल गरेको भए पनि पछिल्लो समय साना अपराधका घटनामा भने विश्वास गुमाउँदै गएको पाइएको छ ।
संगठित रुपमा गरिएका अपराध रोक्न प्रहरी सफल भए पनि हत्या, हिंसा, बलात्कार लगायतका घटनामा प्रहरी चुक्न थालेको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले पूर्वमा सुरक्षा व्यवस्था कडा बनाएको दावी गरे पनि प्रहरी बारम्बार विवादमा मुछिन थालेको छ । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा गत वैशाख २ गते मेचीनगरका १५ वर्षीय किरण कार्की (ढोली) ले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाए पनि घटना शंकास्पद भन्दै प्रहरीमाथि कारबाहीको माग गर्दै अधिकारकर्मीहरुले संघर्ष थालेका छन् ।

दलित अधिकारकर्मी, मानवअधिकारकर्मीहरुले घटना शंकास्पद भएको र कानून विपरीत प्रहरीले किरणलाई हिरासतमा राख्नुमा प्रहरी नै दोषी भएको आरोप लगाएका छन् । बिर्तामोडलाई केही समयअघि मात्रै सीसी क्यामेराको निगरानीमा राखेको प्रहरीले हिरासतमा नै सीसी क्यामेरा जडान नगर्नुले प्रहरीको विश्वश्नीयता माथि प्रश्न खडा भएको अधिकारकर्मीहरुको भनाइ छ । घटनापछि वास्तविकता सार्वजनिक नगरी प्रहरीले भारतीय नागरिक भन्नुले पनि शंका गर्ने ठाउँ बनाएको छ । उक्त घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति गठन गरेर छानबिन शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उता मोरङको पथरीमा वैशाख ७ गते एक महिला नग्न अवस्थामा मृत फेला परेको विषयमा पनि प्रहरीको लापरबाही भन्दै स्थानीय आन्दोलित भएका छन् । राति अबेरसम्म कन्सर्ट आयोजना गर्न दिनु तथा बजार क्षेत्रमा नै महिलाको नग्न शव फेला पर्दा समेत प्रहरीले घटनालाई गम्भीरताका साथ नलिनुले प्रहरीको लापरबाही भन्दै स्थानीय आक्रोशित बनेका हुन् । शनिबार रीना बस्नेतको शब नग्न अबस्थामा भेटिएपछि पथरी असुरक्षित देखिएको भन्दै प्रहरीको काम प्रति स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

मृतक बस्नेतको शव घोप्टो परेको र शव रगत बगेको अवस्थामा फेला परेको थियो । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यालय पथरी, सुरक्षा बेस क्याम्प र सशस्त्र प्रहरी क्याम्प जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेका छन्  ।
यसैबीच उद्योग वाणिज्य संघको आव्हानमा गरिएको बजार बन्दका कारण मंगलबार पथरी पूर्ण रुपमा बन्द रहेको र आक्रोशित स्थानीयले पथरीशनिश्चरे नगरपालिका तोडफोड गर्नुका साथै इलाका प्रहरी कार्यालय पथरीमा प्रर्दशन गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जनाइएको छ । आन्दोलनमा एक प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले रीनाको ब्वाइफ्रेण्ड कमल नेपाललाई पक्राउ गरेको जनाइएको छ । रीनाको हत्यारा पत्ता लगाइ अपराधीलाई कारबाही गर्न माग गर्दै पथरीबासीले संघर्ष समिति गठन गरेर आन्दोलन थालेका थिए ।

पथरीमा गएको दुई महिनाको अवधिमा चार ओटा श्रृंखलाबद्ध हत्या भएको छ । यस्ता घटनाले गर्दा पथरीबासी त्रसित छन् । गत फागुन १६ गते पथरीकै एक सिक्का बारबाट एक युवकको हत्या भएको थियो । ५ तलामाथि रहेको बारमा रमाइलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।
पथरी–कानेपोखरी सडक नजिकैको जंगलमा दुई महिलाको रहस्यमय मृत्यु भएको थियो । २ महिनामा ४ ओटा घटना हुँदा समेत कसैलाई पक्राउ गर्न नसक्दा प्रहरीले विश्वास गुमाउँदै गएको हो । केही समयअघि पथरी शनिश्चरेकी रमा बरालको हत्या भयो । हत्यापछि सिंगो नगरमा सन्त्रास फैलियो । उक्त घटनाको अनुसन्धानमा प्रहरी पूर्णतः असफल देखिएको छ । त्यस्तै पथरी शनिश्चरेमा अबस्थित सिरिजंगा वनमा दुई पटक दुई जनाको हत्या भइसकेको छ । उक्त घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरी असक्षम देखिएको छ । पथरीशनिश्चरेको जिरिखिम्तीमा झापाकी महिलाको हत्या गरी शव फालिएको अबस्थामा केही समयअघि शव फेला परेको थियो । यसघटनामा पनि प्रहरीको अनुसन्धान फितलो मात्र देखिएन, प्रहरी आलोचित बन्न पुग्यो । कुनै पनि घटनाक्रममा पथरी प्रहरीले उल्लेख्य अनुसन्धान गर्न नसकेको स्थानीयको आरोप छ । सिक्का बारमा भएको घटनामा पनि प्रहरी धेरै आलोचित बनेको थियो । रीना बस्नेतको कसले र किन हत्या ग¥यो भन्ने खुलेको छैन ।
गलत क्रियाकलाप, गुण्डागर्दी लगायत खराब कामलाई प्रश्रय दिएको आरोप लाग्ने गरेका पथरी प्रहरी प्रमुख कमल बजगाईं पटक–पटक चुक्ने गरेका छन् । पछिल्लो घटनाक्रममा समेत राति ११ बजेसम्म कन्सर्ट आयोजना गर्न दिनु र बिहानबीच बजारमा शव लड्दा समेत केही थाह नहुनुले प्रहरीको लापरबाही भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
प्रहरीले जनताको विश्वास जित्ने काम नगर्दा एक स्थानमा भएका यस्ता घटनाले सिंगो संगठन नै बदनाम हुँदै जाँदा समेत प्रहरीले आफ्नो अनुसन्धानको दायरालाई फराकिलो बनाउन नसकेको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर