Aamsanchar

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ ०९ गते बिहीबार

Author Image
बिहिवार, जेठ ९, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि शुभ सङ्केत मिल्नेछ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर राशिमा शुभ ग्रहको प्रभाव रहेकाले कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँके÷ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । दिन अनुकूल नभए पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । दिउँसो छैटौं भावमा चन्द्रमा जाने भएकाले संयम र अनुशासित भई अघि बढ्नु राम्रो हुन्छ । दिउँसोबाट व्यर्थका तर्क, बहस र वादविवादको परिस्थिति सिर्जना हुनेछ । विवाद भइ हाले पनि विजय र श्रेय तपाईंले नै पाउनु हुनेछ । आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । यद्यपि दिनभरि दुःख र झमेला व्यहोर्नु पर्ने दिन भए पनि बेलुकीपख सन्तुष्टिको वातावरण मिल्नेछ । परदेशमा बसोबास गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न सक्छन्र । अपराह्नपछि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए पनि प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । छोराछोरी र भाइबहिनीको भावना बुझेको राम्रो हुन्छ । दाम्पत्यसम्बन्ध सामान्य रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सुरुमा सामाजिक क्षेत्रमा बसे पनि दिनभरि सुखभावमा चन्द्रमाको उपस्थिति रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ । राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

नयाँ काममा हात हाल्नु बलियो समय छैन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आज गरेको लेनदेनको कारोबारमा भनेजस्तो लाभ नमिल्न सक्छ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । भर्खर चिनजान भएको व्यक्तिउपर ठूलो भरोसा नराख्नु राम्रो हुन्छ, नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कामधन्दा र मिहिनेतबाट सामान्यतया लाभ हुने सम्भावना देखिंदैछ । उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । नोकरी र सामाजिक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ । ठूलाबडाले सहयोग गरेमा राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउन सकिन्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।-पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)