Aamsanchar

सकिँदै सिमल, लोप हुँदै गिद्ध

Author Image
आइतवार, जेठ १२, २०७६

बिर्तामोड ।

सिमल प्रजातिको बनस्पति मासिँदै गएको छ । २०६४ सालमा बन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि सिमल मासिँदै गएको हो ।

सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्ध समेत मासिएको जानकारहरु बताउँछन् । केही वर्ष अघिसम्म झापा लगायत देशैभर जताततै सिमल थिए । तर, वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एक दशक बित्न नपाउँदै सिमल सखाप भए– डिभिजनल वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले भने– ‘अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।’

सिमल वहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा पाइने सिमललाई अंग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री भनिन्छ । औषधिय गुण भएको यो वनस्पतिको मासिने क्रम तीव्र छ । त्यसमाथि झापामा सिमल लोपोन्मुख बनस्पतिका रुपमा रहेको डिभिजनल बन कार्यालय झापाका डिभिजनल बन अधिकृत घिमिरेले बताए । उनले भने– पछिल्लो समय झापासहित देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चराहरु पनि विस्तारै लोपोन्मुख भएका छन् । सिमलको बोक्राले हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने यसको भुवा रगत सफा गर्न समेत प्रयोग गरिन्छ ।

२०४९ सालमा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो । तर, सरकारले नै २०६४मा सिमल कटानमा फुकुवा गरेपछि धमाधम सिमलका रुख काटिँदा झापासहित देशभर नै सिमल मासिँदै गएको डिभिजनल बन अधिकृत घिमिरे बताउँछन् । सिमल संरक्षण गर्नुपर्ने वनस्पति हो– उनी भन्छन्– वन नीति, २०७१को दफा ११को उपदफा ७मा ‘व्यवसायीकरण हुनसक्ने जडीबुटी एवम् गैरकाष्ठ वन पैदावार खेतीको प्रविधि विकास गरी वन क्षेत्र र बाहिर विस्तार गरिने’ उल्लेख छ । त्यहीभित्र सिमल पनि पर्छ तसर्थ सिमलको सरक्षण गर्न जरुरी छ ।

सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो बैज्ञानिक नाम हो । सन् १७५३मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए । नेपालसहित दक्षिण एशियाका सबैजसो देश तथा चीन, इन्डोनेशिया, लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स आदि मुलुकमा सिमल पाइन्छ । युरोपमा भने यो भेटिँदैन । कार्ल लिन्नियस दक्षिण एशिया नआए पनि उनका एक चेला कार्ल पिटर थुन्जवर्ग श्रीलंका पुगेका थिए । तिनैले त्यहाँबाट सिमलका नमूना स्वीडेन लगेका हुन सक्ने बताइन्छ ।

केही वर्ष अघिसम्म चारकोशे जंगलमा, खोलाका बगरतिर, राजमार्ग लगायतका ठाउँमा सिमलका रूख प्रशस्तै भेटिन्थे । अधिकृत घिमिरेले भने– सिमलको संरक्षण गर्न सके पर्यावरणमा समेत यसले ठूलो मद्दत पु¥याउँछ । सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन छ । तर, औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरू अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक÷दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२मा प्रकाशित ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने लेखेका छन् ।

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेख अनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ । अर्को रोचक जानकारी अनुसार, महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागका नरहरि आचार्य र राजेश तामाङ लिखित इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल (सन् २०१७) शीर्षकको पुस्तक अनुसार चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् । सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणहरूले सिमल औषधिजन्य जडीबुटी रहेको देखाउँछन् । तर, वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।
स्वदेशी तथा विदेशी व्यापारीले कम राजश्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महंगो दाममा खरीद गरिरहेका छौं । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकिन समेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।

हाम्रा जडीबुटी आफैंले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । सिमल नासिएसंगै वातावरणमा समेत असर परेको बताइन्छ । वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्री वितरणमा २०६३ साल जेठबाट प्रतिबन्ध लगाएको थियो । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एशियामा ९ र नेपालमा मात्रै ८ प्रजातिका पाइन्छ । प्छिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर