Aamsanchar

भष्टाचारी कर्नेल जेल चलान, जागिरबाट बर्खास्त

Author Image
आइतवार, जेठ १२, २०७६

४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत अन्य आर्थिक हिनामिनामा सैनिक अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले ५ जेठमा सदर गरेका थिए । प्रधानसेनापतिको कार्यालयले सजायसम्बन्धी फैसला बिहीबार सुनाएको थियो । सेवाबाट बर्खास्त उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ । प्रधानसेनापति थापाको कार्यकालमा यति ठूलो रकम भ्रष्टाचार भएको र आरोपीले जागिरबाट बर्खास्तीको सजाय पाएको यो पहिलो घटना हो ।

कर्नेल कार्कीविरुद्ध गत फागुनमा सेनाको सिकायत जाँचबुझ निर्देशनालयमा उजुरी परेपछि छानबिन सुरु भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको प्रारम्भमा निर्देशनालय गठन भएको थियो । निर्देशनालयले उजरीका लागि अधिकांश सैनिक ब्यारेकमा पत्रमञ्जुसा बाकस राखेको छ । प्रमाणसहित परेको उजुरीमाथि छानबिन गर्न सेनाले कर्नेल शोभित अधिकारीको नेतृत्वमा कोर्ट अफ इन्क्वाएरी गठन गरेको थियो । कार्कीले गरेको भ्रष्टाचार पुष्टि भएको भन्दै कोर्ट अफ इन्क्वाएरीले २३ वैशाखमा कारबाहीका लागि सिफारिस गरेको थियो । लगत्तै उनलाई सैनिक प्रहरी हिरासतमा राखिएको थियो ।

उनको मुद्दा हेर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले १८ नम्बर बाहिनीपति सहायकरथी हिमांशु खड्काको अध्यक्षतामा समरी सैनिक जनरल अदालत गठन गरेका थिए । सैनिक अदालतले २ जेठमा कार्कीलाई भ्रष्टाचार गरेको रकम असुल्न र पदबाट बर्खास्त गर्न आदेश दिँदै तीन महिना जेलसजाय पनि सुनाएको थियो । सेनाका अनुसार उनले भ्रष्टाचार गरेको रकम सरकारको राजस्वमा दाखिला भइसकेको छ ।

भ्रष्टाचार अभियोगमा सेनाले यसअघि भर्ना छनोटका ८१ जनालाई कारबाही गरिसकेको छ । पछिल्लोपटक बाँसबारीस्थित सेनाको रिपुमर्दिनी स्कुलका प्रधानाध्यापकसहित तीनजनालाई विद्यार्थी भर्नाका वेला अभिभावकबाट पैसा असुल गरेको अभियोगमा बर्खास्त गरेको थियो । सैनिक प्रवक्ता पाण्डेले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानसेनापतिको कमान्ड मार्गनिर्देशनअनुसार भ्रष्टाचार मुद्दामा छानबिन भइरहेको बताए ।नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर