Aamsanchar

गणतन्त्र दिवस : जनताले जितेको दिन

Author Image
बुधवार, जेठ १५, २०७६

नारद गौतम / काठमाडौँ।

आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा अर्थात् जनताले जितेको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको छ ।

नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ र बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । साथै, नारायणहिटी राजदरबार परिसरमा निर्माण भएको ‘गणतन्त्र स्मारक’ आजबाटै सञ्चालनमा आउँदैछ ।

नेपाली जनताको ठूलो त्याग, तपस्या र अनेकौं बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई जनजनसम्म पु¥याउनका लागि के गर्नुपर्ला भनी पूर्वराष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका नेताहरूसँग राखिएको जिज्ञासामा उहाँहरूले देशमा गणतन्त्र आइसकेकाले अब नेपाली जनताको चाहना सुख, समृद्धि र विकास रहेको बताउनु भएको छ ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले अनुभवी नेताहरूले गणतन्त्रलाई कमजोर बनाउन नदिने विश्वास गर्दै जनतामा आएको चेतनताले गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने बताउनुभयो । डा. यादवले भन्नुभयो, ‘‘राष्ट्रपति विद्यादेवी भण्डारी शालीन व्यक्तित्व हुनुहुन्छ, राजनीति गरेर जनताको बीचबाट आउनुभएको हो, उहाँ संविधानको रक्षक र पालक हुनुहुन्छ ।’’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले गणतन्त्र आएकै कारण नेपालको इतिहासमा पहिलोपटक जनता अधिकार सम्पन्न भएको बताउनुभयो । गणतन्त्रले जनताले छानेको व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, आफ्नो प्रतिनिधिमा स्थापित गर्ने गरेको चर्चा गर्दै उपनेता नेम्बाङले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता अङ्गमा एकैचोटि महिलालाई पु¥याउन सफलता मिलेको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई सय वर्षदेखि राजतन्त्रले जम्मा गरेको फोहोर एक दशकमै सफाचट गर्नै सकिन्न र धेरै पुराना संरचना अझै कायमै रहेको बताउनुभयो । उहाँले एकैचोटि सबैथोक फेर्न खोज्नु पनि हुँदैन र गणतन्त्रमा टेकेर सुशासनतर्पm जाने मार्गप्रशस्त गर्नुपर्छ भन्नुभयो । नेता भट्टराईले जनताको चेतना उच्च रहेकाले पूर्वराजा ज्ञानेन्द्रले आफ्ना सन्ततिको हितका लागि गणतन्त्रलाई स्वीकार गर्दै उनीहरूलाई गणतन्त्रको प्रक्रियामा सहभागी हुन सक्ने मार्गप्रशस्त गर्नु राम्रो हुने सुझाव दिनुभयो ।

‘गणतन्त्रको विकल्प राम्रो गणतन्त्र मात्र हो’ भन्दै नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले गणतन्त्र घोषणा भएको एक दशक बिते पनि व्यावहारिकरुपमा दुई वर्ष मात्र पूरा भएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले संविधान बनाएपछि मात्र वास्तविकरुपमा गणतन्त्र आएको हो, त्योभन्दा पहिले त सङ्क्रमणकाल थियो ।’’

उपप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन, मधेस विद्रोहले गर्दा राजतन्त्र फालिएको हो, नेपालको सबभन्दा ठूलो उपलब्धि भनेकै जरैदेखि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्नु रहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको गणतन्त्र ठीक बाटोमा अगाडि बढिरहेकाले फालिएका शक्ति पुनःस्थापित हुनसक्ने कुनै गुन्जायस नरहेको स्पष्ट पार्नुभयो । गणतन्त्रका लागि अब नेपालीले फेरि कहिल्यै लड्नु पर्दैन भन्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘‘गणतन्त्रको विकल्प कसैले सोचेको छ भने निभ्न लागेको बत्तीजस्तो हो, त्यसले केही रापताप दिन सक्दैन ।’’

नेपाली काँग्रसका नेत्री डा. डीला सङ्ग्रौलाले गणतन्त्रको जगमा उभिएर यसको संस्थागत विकास, यसको मूल्य र मान्यता र एकीकृत संस्थागत गर्न अझ एकत्रित हुनुपर्ने सुझाव दिनुभयो । जनताले सुख, समृद्धि, विकास खोजेका छन्, त्यो दिलाउन प्रतिपक्षले सरकारलाई खबरदारीको भूमिका खेल्नुपर्ने भनाइ पनि उहाँको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेत्री रामकुमारी झाँक्रीले गणतन्त्रले नीतिगत रूपमा विश्वमै लोभलाग्दो उपलब्धि प्राप्त गरेका छाँै भन्नुभयो । विगतको चर्चा गर्दै नेत्री झाँक्रीले एक शताब्दी पहिलेका महिलाको अवस्था फर्केर हेर्दा महिला त मानव नै थिएनौँ, छोरीलाई सन्तान नै स्वीकार गरिँदैनथ्यो, महिलाको अस्तित्व कहीँ पनि स्वीकार गरिएको थिएन, तर आज महिलाका धेरै अधिकार स्थापित भइसकेको बताउनुभयो ।

राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २०६२÷६३ को आन्दोलनलाई गणतन्त्रमा लैजानुपर्छ भन्ने बढ्ता जोड गिरिजाप्रसाद कोइरालाको रहेको स्मरण गर्नुभयो । उहाँले थप्नुभयो, ‘‘गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर त्यसरी बहकिनु हुँदैन, हामी झुक्नुचाहिँ हुँदैन र गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन ।’’

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र रहेको चर्चा गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न जननिर्वाचित प्रतिनिधिले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतले गणतन्त्र घोषणापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराालाले भन्नुभएको एउटा वाक्य उद्धरण गर्नुभयो । गणतन्त्रको घोषणापछि खुसी प्रकट गर्दै गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो,“आज देशको सपना साकार भएको दिन हो, मेरो सपना साकार भएको दिन हो ।” वास्तवमा, जेठ १५ नेपालको इतिहासको एक अविस्मरणीय दिन हो । जनता र राजाबीचको लडाइँमा जित अन्ततः जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको दिन हो ।-गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)