Aamsanchar

राजपाद्वारा संविधान संशोधन प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण

Author Image
मङ्गलवार, जेठ २१, २०७६

काठमाण्डौ

  राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संसोधनको विषय उठिरहेको हुँदा पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाउनुभयो । उहाँले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संसोधनका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो ।

उहाँले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गर्नुभयो । संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उहाँले संविधान कार्यान्वयनतर्फ सरकारलाई सचेत गराउनुभयो । सरकारले संघियताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद शाहलाई बोल्नका लागि समय दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर