Aamsanchar

प्रदेश २ मा सरकार ढाल्ने विपक्षीको योजना फेल !

Author Image
सोमवार, जेठ २७, २०७६

जनकपुरधाम ।

प्रदेश २ मा सत्तारुढ सांसदहरुको असन्तुष्टिलाई क्यास गर्दै सरकारको नीति तथा कार्यक्रम फेल गर्ने विपक्षीको योजना असफल भएको छ ।

यदि विपक्षीले चाहेको जस्तो सरकारको नीति तथा कार्यक्रम बहुमतले पास हुन नसकेको भए सरकार नै ढल्ने अवस्था आउँथ्यो । तर, तत्काललाई यो संकट टरेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबार नै छलफल सकिएको थियो भने आज शनिबार पारित गराउन प्रदेश सभाको बैठक बोलाइएको थियो । । दिउँसो २ बजेका लागि बोलाइएको बैठक समयमा बस्न सकेन् । ४ बजेतिर अर्काे सूचना टाँसियो, ५ बजे बैठक बस्छ । तर, यो बैठक पनि बस्न सकेन र जेठ २७ गते अर्थात सोमबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसियो ।

सूचनामा बैठक स्थगित गर्नुको कारण नीति तथा कार्यक्रमा सत्तारुढ सांसदहरुले हालेको संशोधनलाई मानिएको छ । तर, त्यसमा विपक्षीको खेल पनि मिसिएको छ ।

विपक्षीहरुले नीति तथा कार्यक्रम फेल गराउने रणनीति बैठकमा लिएका थिए । प्रमुख प्रतिपक्षी नेकपाका एक सांसदले भने, ‘हामीले बनाएको योजना सत्ता पक्षले थाहा पाएरै बैठक स्थगित गराएको हो । समग्रमा हाम्रो योजना नै फेल भयो ।’

ती सांसदका अनुसार शनिबारको बैठकको शुरुमा सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रमको बिरोध गरे लगत्तै विपक्षीले मतदानबाट निर्णय लिन माग गर्ने योजना थियो । यसका लागि नेकपा र कांग्रेस दुबै सहमत देखिएका थिए ।

सत्तारुढ दलका असन्तुष्ट सांसदले मतदान नगर्ने र त्यसो हुँदा सरकारको नीति तथा कार्यक्रम फेल हुने विपक्षीको विश्लेषण थियो । किनकी १०७ सदस्यीय प्रदेशसभामा सत्तारुढ समाजवादी पार्टी र फोरमको समान्य बहुमत छ भने विपक्षमा नेकपाको ३४ र कांग्रेसको १९ सांसद गरी ५३ सांसद छन् । यदि सत्तारुढ दलका असन्तुष्ट सांसदहरुले मतदान नगर्ने हो भने बहुमत पुग्दैन ।

तत्कालको संकट टर्‍यो 

नीति तथा कार्यक्रमबिरुद्व सत्ता पक्ष राजपाकै पाँच जना सांसदले संशोधन दर्ता गराए । पार्टीको आग्रहपछि दुई सांसदको संशोधन फिर्ता भएपनि तीन सांसदले लिएका छैनन् । राजपा महासचिव समेत रहेका मनिष सुमन र सचेतक परमेश्वर साहले भने पार्टीको आग्रहमा संशोधन फिर्ता लिएका छन् । सांसद विक्की यादव, नेत्रबिक्रम साह र डा. रिना यादवले संशोधन फिर्ता लिका छैनन् ।

मन्त्रीहरुले आफ्नो अनुकुलको योजना बनाएको भन्दै राजपाका सांसदहरुले संशोधन दर्ता गराएका छन् । सबैभन्दा बढी १२ बुँदे संशोधन विक्की यादवले दर्ता गराएका छन् ।

संशोधन फिर्ता लिन राजपा नेतृत्वले निर्देशन दिएपनि उनीहरुले फिर्ता लिएका छैनन् । राजपा अध्यक्ष मण्डल संयोजक अनिल झासहित सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी जनकपुर आएका छन् । प्रदेश २ सरकारलाई हेर्ने महेन्द्र राय यादव नेतृत्वको समन्वय समितिले पनि सांसदहरुलाई बोलाएर संशोधन फिर्ता निर्देशन दिएको थियो ।

तर संशोधन दर्ता गराएका सांसदहरुले अध्यक्ष मण्डल तथा समन्वय समितिले आफूहरुको चित्त बुझाउन नसकेका कारण फिर्ता नलिएको बताएका छन् ।

सत्तारुढ सांसद असन्तुष्ट देखेपछि विपक्षीले नीति तथा कार्यक्रम फेल गर्ने योजना बनायो ।

तर, यसबारे चाल पाएपछि सरकार चलाख बन्यो । एक मन्त्रीले भन्छन्, विपक्षीको योजना पूरा हुन सकेन ।’ विपक्षी दलकै सांसदहरुले यस्तो सूचना आफूहरुले पाएको उनले बताए । आफ्ना दल र संसदीय दलका नेताप्रति रुष्ट सांसद विपक्षीमा पनि भएको र उनीहरुले आफूहरुलाई सहयोग गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर