Aamsanchar

पत्रकारिताको व्यावसायिकतामा जोड

Author Image
मङ्गलवार, जेठ ४, २०७३

borna b karki
काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अहिले आँखाको नानीजस्तै गरेर बचाउन आवश्यक रहेको बताउँदै पत्रकारितालाई अब पनि व्यावसायिक बनाउन सकिएन भने टिकाउन निकै चुनौती हुने धारणा राख्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।भेलाको उद्घाटन सूचना तथा सञ्चारमन्त्री शेरधन राईले  गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले महासङ्घ पहिचानको विषय र श्रमजीवी पत्रकारको आवाजलाई विभिन्न कोणबाट सम्बोधन गर्ने प्रयासमा रहेको जानकारी दिनुभयो ।

आयोजक संस्था फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूह नेपालका कोषाध्यक्ष यशोदा अधिकारी लगायतले समानुपातिक र समावेशिताका विषयमा उठेका विषयलाई सञ्चारमाध्यम लगायत सबै सङ्घसंस्थामा कार्यान्वयनमा लैजान आमसञ्चारको प्रभावकारी भूमिका औँल्याउनुभयो ।

‘हाम्रो अभियान ः पूर्ण प्रेस स्वतन्त्रता र समावेशी आमसञ्चार’ नारा तय गरिएको राष्ट्रिय भेलामा महासचिव गजुरधन राईले शासन व्यवस्था परिवर्तन भए पनि हाम्रो चिन्तन कति परिवर्तन भएको छ भन्ने उहाहरणका रुपमा समावेशिता र समानुपातिक सिद्धान्त कार्यान्वयनले स्पष्ट गर्छ भन्नुभयो ।

मुलुकका ४६ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको उक्त भेलाले सङ्गठनको विधान संशोधनका साथै भावी कार्ययोजना तय गर्ने छ । फोनिजका हाल एक हजार ७०० सदस्य छन् । सो अवसरमा विभिन्न जातीय पत्रकार सङ्गठनले फोनिजलाई उपलब्ध गराइएको सहयोग रकम समारोहमा अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर