Aamsanchar

पथरीमा २२ महिलामा पाठेघरको क्यान्सरको संक्रमण

Author Image
शनिवार, असार ७, २०७६

झापा ।

पूर्वी मोरङको पथरी शनिश्चरे नगरका ३० जना महिलामा पाठेघरको मुखको क्यान्सरको संक्रमण भएको पाइएको छ ।

शुक्रबार सहारा नेपाल साकोस बिर्तामोड २ ले पथरीमा आयोजना गरेको पाठेघर तथा प्रसूति रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा जाँच गर्न आएका महिलामा यस्तो जटिल समस्या देखापरेको छ ।

३४० जना महिलाले स्वास्थ्य परीक्षण गर्दा २२ जना महिलामा पाठेघरको मुख संक्रमणको क्यान्सर भएको पत्ता लागेको हो । २२ जनामा क्यान्सरको जीवाणु देखिएको हो । त्यस्तै, आठजना महिलाको आङ खसेको, पाँचजनाको परीक्षण यकिन नभएकाले बायस्पी गर्नुपर्ने देखिएको थियो । एकजनाको भने पाठेघरको मुखमा एैँजेरु पलाएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।

महिलाको स्वास्थ्य जाँचका लागि शिविरमा खटिएकी बिएन्डसी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। स्मृति मुल जोशीले यस क्षेत्रका धेरै महिलामा पाठेघर तथा यौनजन्य रोगको समस्या पाइएको बताइन् ।

सेवा लिन आएका प्रभावित महिलालाई डाक्टर जोशी नेतृत्व टोलीले परामर्श र स्वास्थ्य–सुरक्षा विधिबारे सल्लाह दिएको छ । शिविरमा आएका महिलालाई खासगरी पाठेघरको संक्रमण कसरी रोक्न सकिन्छ भनेर चिकित्सक र स्वास्थ्यकर्मीले सजग गराएका थिए ।

सहारा नेपालको जीवन वरदान कार्यक्रमअन्तर्गत झापा र मोरङका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन भइरहेको छ । आफ्ना सदस्य र लघुवित्त समुदायलाई लक्षित गर्दै सहाराले समस्याका रुपमा रहेको पाठेघर रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक भक्त खड्काले जानकारी दिए ।

स्वास्थ्य शिविरमा विवाहित महिलाको स्वास्थ्य परीक्षण गरेपछि डाक्टर जोशीले महिलामा सेतोपानी बग्ने साझा समस्या रहेको निष्कर्ष निकालेकी छन् । त्यस्तै, पाठेघर झर्ने, समयमा महिनावारी नहुने, पाठेघरको मुखमा घाउ, एैँजेरु पलाउनेजस्ता प्रजननसम्बन्धी रोगबाट महिलाहरु पीडित रहेको जोशीले बताइन् ।

ग्रामीण क्षेत्रमा महिलामा सरसफाइसम्बन्धी ज्ञान र सचेतना नभएको, सुरक्षित यौन सम्बन्ध नभएको तथा भाइरलका कारण पनि पाठेघरको समस्या देखिँदै आएको चिकित्सकको भनाइ छ ।

बिएन्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भएको शिविरमा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाले परामर्श लिएका थिए । रोगको जटिलता हेरेर सहारा नेपालले प्राथमिकतामा राखेर पीडित महिलाहरुको उपचार पनि निःशुल्क गर्ने योजना बनाएको छ ।

शिविरमा पाठेघरको क्यान्सर भएनभएको पत्ता लगाउने ल्याब परीक्षण पनि गरिएको थियो । प्राविधिकले पाठेघरको क्यान्सरको अवस्था के छ भनेर भिजुवल इन्स्पेक्सन विथ एसेटिक एसिड (भिआइए) परीक्षण गरेर रोग पत्ता लगाउने गरेको छ ।

रोग लुकाएर बसेका महिलालाई पाठेघर र प्रजनन सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहाराले यसअघि झापाको शिवगञ्ज, राजगढ र बनियानीमा शिविर सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर