Aamsanchar

कुमारले ल्याए ‘अश्वत्थामा’

Author Image
शनिवार, असार ७, २०७६

बिर्तामोड,

झापाली पत्रकार कुमार भट्टराईको कृति ‘अश्वत्थामा’को विमोचन गरिएको छ । शनिवार विर्तामोडमा आयोजित समारोहमा साहित्यकार गणेश रसिकले भट्टराईको उपन्यास अश्वत्थामाको विमोचन गर्नु भएको हो । पत्रकार तथा साहित्यकार भट्टराईको यो छैठौं कृति हो ।

यसलाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो । कृतिमाथि साहित्यकार मिश्र बैजयन्ती, कञ्चनजङ्घा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी र पत्रकार बसन्त बस्नेतले टिप्पणी र समिक्षा गर्नु भएको छ ।

विमोचन पछि कृतिमाथि टिप्पणी गर्दै पत्रकार बसन्त बस्नेतले शक्तिको नजिक पुगेर बोल्नेले सत्य बोल्दैन भन्ने कुरालाई कृतिले उजागर गरेको उल्लेख गर्नुभयो । महाभारतकालमा जातीयता, राष्ट्रियताको अवस्थालाई अहिलेको विषयसंग जोडेर कथाबस्तु पस्केर लेखकले सबै पुस्तालाई उपन्यासभित्र समावेश गराएको बताउनु भयो ।

कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले पुस्तक पढ्ने पाठकको कमीका कारण लाईब्रेरीहरु बन्द भइरहेका बेला लेखकले नयाँ गम्भीर विषयवस्तु लिएर उपस्थित भएको धारणा राख्नु भयो ।

त्यस्तै समालोचक मिश्र बैजयन्तीले महिलाको अस्मितामाथि नै प्रश्न उठिरहेको बेला महाभारतकालमा पनि महिलालाई वेश्याको रुपमा देखाउन खोजिएको अवस्थालाई चित्रण गरेको टिप्पणी गर्नुभयो । महाभारतकालिन समयको यथार्थ अवस्था भन्दा टाढा रहेर कृति आएको कृति पाठक समक्ष बलियो रुपमा उपस्थित हुनेपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै लेखक कुमार भट्टराईले मुलुकमा व्याप्त राजनीतिक अस्थिरता र मुलुकमा भएका विभिन्न किसिमका रहस्यमय घटनाहरुले प्रेरिरत भएर उपन्यास लेखिएको उल्लेख गदै महाभारतकालमा शक्तिशाली हुँदाहुँदै पनि अस्वस्थामा गुमनाम हुनु विडम्बनालाई अहिलेको कथावस्तुसंग जोडेर पुस्तक आएको बताउनु भयो ।

सांग्रिला बुक्सद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा मणि शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन लीला अनमोलले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरु कृष्ण धराबासी, सरोज ओली लगायतको उपस्थिति रहेको न्यूज सञ्जालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)