Aamsanchar

पाँच वर्षमा एक खर्बका मोबाइल

Author Image
आइतवार, असार ८, २०७६

काठमाडौँ।

विगत पाँच वर्षमा करिब एक खर्ब रुपियाँ बराबरका मोबाइल सेट नेपालमा आयात भएको छ । दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै मोबाइलको प्रयोग बढ्दा यसको आयात उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि चालू आर्थिक वर्षको १० महिनासम्म ९३ अर्ब ६० करोड रुपियाँ बराबरको मोबाइल आयात भएको छ । चालू आवको बाँकी दुई महिनामा यो रकम थप बढ्ने छ ।

विभागको तथ्याङ्क अनुसार आव २०७१/७२ मा ११ अर्ब ७८ करोड रुपियाँ बराबरको मोबाइल आयात भएको छ । त्यसको अर्को वर्ष आव २०७२/७३ मा १८ अर्ब २० करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ । मोबाइल आयातको क्रममा एकै पटक चार अर्ब रुपियाँले बढेर आव २०७३/७४ मा भने २२ अर्ब ६६ करोड पुगेको छ ।

पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी आव २०७४/७५ मा नेपालमा मोबाइल आयात भएको देखिन्छ । तथ्याङ्कअनुसार अघिल्लो आवमा २४ अर्ब ८७ करोड रुपियाँको मोबाइल नेपाल भित्रिएको छ । चालू आवको १० महिनामा भने यसको आयात १६ अर्ब चार करोड रुपियाँ पुगेको छ ।
नेपालमा खासगरी सामसुङ, सायोमी, ह्वावे, ओप्पो, एप्पल, जियोनी, भिभो, लाभाजस्ता ब्रान्डका मोबाइल बढी चर्चित छन् ।

वेबसाइटको ट्राफिक विश्लेषण गर्दै आएको स्ट्याटकाउन्टरका अनुसार नेपालमा सामसुङ ब्रान्डको बजार हिस्सा सबैभन्दा धेरे छ । स्ट्याटकाउन्टरका अनुसार मेसम्म कुल बजारमध्ये सामसुङ मोबाइलको मात्रै ४७.०१ प्रतिशत हिस्सा छ । त्यसपछिको सायोमीको ९.०६ प्रतिशत, ह्वावेको ८.४२ प्रतिशत, ओप्पोको ८.२४ प्रतिशत र आइफोनको ६.१५ प्रतिशत हिस्सा छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले नेटवर्कको पहुँच बढाउँदै लगेपछि मोबाइलको आयातमा पनि त्यसैअनुसार प्रभाव देखिएको तथ्याङ्कले देखाउँछ । नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमा आधारित दूरसञ्चार सेवा प्रदान गर्दै आएका छन् ।-गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर