Aamsanchar

लाङटाङ राष्ट्रिय निकुञ्जको सर्च अभियान, २२ थान तारको पासो बरामद

Author Image
आइतवार, असार ८, २०७६

रसुवा,

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ । महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले विशेष अभियानमा रसुवादेखि सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो बरामद गरिएको बताउनुभयो ।

निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजङ्ग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जङ्गल इलाकाको सर्च अभियानकोे क्रममा भेटिएका जनावरमध्ये दुई घाइते जनावरलाई उद्वार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको समेत प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिनुभयो । सडक सञ्जाल जोडिएका क्षेत्रमा विसं २०७२ को भूकम्पपछि खाना पकाउने प्रयोजनका लागि अधिकांश निकुञ्जवासी ग्यास प्रयोग गर्न थालेका र दाउरा प्रयोग गर्नेले पनि खेतबारीका आफ्ना स्वामित्व क्षेत्रको खाली जमीनमा बोटविरूवा लगाउने बानीको विकास बढेका कारण वन पैदावारको व्ययभार घट्दै गएको बताइएको छ ।

हिमाली क्षेत्रको भ्रमण गर्न आउने पर्यटकले अनुमति बेगर ल्याएका १२ ड्रोन क्यामरामा छायाङ्कन गरिएका श्रव्यदृश्यको मेमोरी बरामद गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । आफ्नो कार्यालय र सुरक्षाका लागि खटिएका नेपाली सेना कालिजङ्ग गणले गरेका संरक्षणका कार्य प्रगति आम नागरिकलाई सुसूचित गर्ने उदेश्यले पत्रकारमाझ जानकारी गराउने कामसमेत सम्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाअन्तर्गत हिमाली भेगको एक हजार ७१० वर्ग किलोमिटर भू–भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको सुरक्षार्थ ठाउँठाउँमा स्थापना गरिएको सुरक्षा पोस्टले गौडागौडा र नियमित गस्तीबाट अनुगमन गरिरहेको बताइएको छ । रसुवा धुञ्चेमा रहेको हेडक्र्वाटरले तीनै जिल्लाको आफ्नो आधार इलाका क्षेत्रमा रेखदेख गरी आवश्यक्ताअनुसार गाउँठाउँमा रहेका चौकीबाट यथेष्ट सुरक्षाबल व्यवस्थापन गरिएको बताउँदै निकुञ्ज प्राविधिक रमेश बस्नेतले वन वनस्पति एवं वन्यजन्तुका साथै जैविक विविधता हाम्रो हो, संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सम्पूर्ण निकुञ्जवासीमा आग्रह गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर