Aamsanchar

बढ्दै छ डेङ्गुको प्रकोप बच्न सचेतना जरुरी

Author Image
सोमवार, असार ९, २०७६

काठमाडौँ ।

एडिस एजिपटाइप जातको पोथी लामखुट्टेका कारण लाग्ने रोग डेङ्गुबाट अहिले पूर्वी नेपालको धरानलगायत क्षेत्र प्रभावित छ । त्यसैले यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाटै जोगिनु सबैभन्दा राम्रो हो ।

शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन डेङ्गुबाट बच्न व्यापक जनचेतना र सरसफाइ आवश्यक भएको बताउनुहुन्छ । बर्खायाममा लामखुट्टे देखा परेसँगै लाग्ने डेङ्गु ज्वरोका कारण बर्सेनि केहीको ज्यान गएको छ भने धेरै प्रभावित भएका छन् । उहाँले बढ्दो सहरीकरणसँगै डेङ्गुको प्रकोप देखिने गरेको बताउनुभयो ।

नेपालमा सन् २००६ मा चितवनबाट डेङ्गु देखा पर्न सुरु भएको थियो । त्यसयता डेङ्गुबाट हरेक वर्ष सयौँ मानिस प्रभावित हुने गरेको डा. पुनले जानकारी दिनुभयो । कुनै वर्ष त राजधानी काठमाडौँमा पनि डेङ्गु भेटिएको थियो ।

धरानमा घट्दो
यो वर्ष धरानमा डेङ्गुले व्यापक दुःख दियो तर अब विस्तारै प्रकोप घट्दै छ । धरानसँगै इटहरी, विराटनगर, झापालगायत ठाउँमा डेङ्गुले प्रकोपकै रूप लियो । धरानमा तीन हप्ता अघिदेखि प्रकोपको रूपमा देखा परेको डेङ्गु क्रमशः घट्दो क्रममा रहेको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।

प्रदेश १ का स्वास्थ्य विभाग प्रमुख भोगेन्द्र डोटेलले धरानमा डेङ्गुको प्रकोप न्यूनीकरण हुँदै गएको बताउनुभयो । विगतको तुलनमा डेङ्गु ज्वरो निकै कम हुँदै गएको उहाँले बताउनुभयो । “केही दिन अघिसम्म दैनिक ३५ जनासम्ममा यो रोग देखा पथ्र्याे तर अहिले दैनिक पाँच–सात जनामा झरेको छ”, डोटेलले थप्नुभयो, “डेङ्गुबाट प्रभावितलाई सघन उपचार कक्ष
(आईसीयू)मा राखेर उपचार गर्नुपर्ने हुँदा त्यसको थप व्यवस्था गरिएको छ । ”

स्वास्थ्य विभाग प्रमुख डोटेलका अनुसार प्रदेश सरकारबाट बीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४५ लाख रुपियाँ आईसीयू खरिदका लागि छुट्ट्याइएको जानकारी दिनुभयो । डेङ्गुबाट प्रभावित व्यक्तिलाई आईसीयूमा राख्नुपर्ने भएकाले प्रदेश सरकारले बजेट छुट्ट्याएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले डेङ्गु नियन्त्रणका लागि सचेतना र सरसफाइ अभियान पनि सञ्चालन गरिएको बताउनुभयो ।

कसरी सर्छ डेङ्गु
सफा पानीमा बस्ने कालो रङमा सेता थोप्ला भएका लामखुट्टेको माध्यमबाट यो रोग सर्छ । डा. पुनका अनुसार डेङ्गु रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । यसले जमेको सफा पानीमा फुल पार्ने गर्छ । उहाँले भन्नुभयो, “सफा पानीमा एडिस एजिपटाइप जातको पोथी लामखुट्टे बस्ने र फुल पार्ने गर्छ । यसले दिउँसै टोक्ने र रोग सङ्क्रमण गर्ने हुँदा लामखुट्टे नै बस्न नमिल्ने गरी सरसफाइ गरी सचेतना पैmलाउनु आवश्यक छ । ”

रोगको लक्षण र उपचार
डा. पुनका अनुसार डेङ्गु रोग लागेपछि अत्यधिक ज्वरो आउँछ । ज्वरो पीडादायी हुन्छ । उहाँले शरीर दुख्ने, भित्री हड्डी दुख्ने, आन्तरिक रक्तस्राव हुने, डेङ्गुको सङ्क्रमण भइसकेपछि ज्वरो आउने मात्र नभई निमोनियाजस्ता अन्य रोग पनि देखा पर्ने जानकारी दिनुभयो ।

त्यसैगरी चिसो लाग्नुका साथै ज्वरो आउने, टाउको दुख्ने, हाड तथा जोर्नी दुख्ने, आँखा दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, छालामा बिमिरा देखिने, रगत बग्ने वा रगतको दाग देखिनेलगायत यसका लक्षण हुन् । यो अवस्थामा रक्तचाप सामान्यभन्दा धैरै कम हुन सक्छ । बिरामीमा भएको ‘प्लेटलेस’लाई लामखुट्टेको टोकाइबाट लाग्ने जीवाणुले सखाप पारिदिन्छ ।

यसैले बिरामीमा सेतो रगतको मात्रा घट्न गई मृत्युसमेत हुने गर्छ ।
उपचारका लागि स्वास्थ्य संस्थामा ज्वरो घटाउन सिटामोल दिने गरिन्छ । चिकित्सकका अनुसार बिरामीले प्रशस्त झोेल पदार्थ खानुपर्छ । बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढाइने गरिन्छ । डेङ्गुविरुद्धको खोप तथा ठोस उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट जोगिने मुख्य उपाय हो ।-सरोज ढुङ्गेल /गोरखापत्र दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर