Aamsanchar

सुबिधाभोगी जनप्रतिनिधि सबैलाई गाडी, कृषकलाईभन्दा कर्मचारीलाई सुविधा

Author Image
मङ्गलवार, असार १०, २०७६

झापा ।

बाह्रदशी गाउँपालिकाले अध्यक्षदेखि कार्यपालिका सदस्यसम्मका लागि १९ थान सवारी साधन खरिद गरेको पाइएको छ । जसका लागि गाउँपालिकाले एक करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीका लागि गाउँपालिकाले एक थान स्कारपियो गाडी खरिद गरेको छ । जसको मूल्य ५७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै उपाध्यक्ष रत्नाकुमारी राजवंशीलाई गाउँपालिकाले एक थान स्कूटर र सात वटा वडाका वडा अध्यक्षहरुलाई एक÷एक थान मोटरसाइकल प्रदान गरेको छ । यसैगरी कार्यपालिका सदस्य र पाँच जना प्राविधिकका लागि समेत १७ थान मोटरसाइकल खरिद गरेको पाइएको छ ।

गाउँपालिकाले एक थान स्काभेटर ३४ लाख रुपैयाँमा खरिद गरेको छ । सो स्काभेटर गाउँपालिकाको काम भन्दा बढी भाडामा प्रयोग गरिँदै आएको छ । तर, स्काभेटरले गाउँपालिकालाई आम्दानी दिनुभन्दा पनि खर्च बढी गराएको बताइएको छ । स्काभेटर भाडामा लगाउँदा गत वर्ष कै ६ लाख रुपैयाँ उठ्न बाँकी रहेको गाउँपालिका श्रोतले जनाएको छ । स्काभेटर अहिले बिग्रिएर कार्यालय परिसरमा थन्किएको छ ।

यता गाउँपालिकाले मोटरसाइकल खरिदका लागि मात्रै ४५ लाख रुपैयाँ खर्च गरेको कार्यालयका सूचना अधिकारी तेजप्रसाद रेग्मीले जानकारी दिए । ती सवारी साधनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ लाख २० हजार ९ सय ४५ रुपैयाँ खर्च गरेको छ ।

जनप्रतिनिधिले मात्रै पेट्रोलियम पदार्थका लागि एक लाख ५१ हजार सात सय ३० रुपैयाँ खर्च गरेका छन् भने कार्यालयका कर्मचारी र प्राविधिक समेतले एक लाख ७९ हजार २ सय १५ रुपैयाँ पेट्रोलियम पदार्थमा खर्च गरेको गाउँपालिकाका नायव सुब्बा मिनबहादुर कार्कीले जानकारी दिए ।

गाउँपालिकाले विकास निर्माणमा भन्दा विलासिताका साधनमा बढी खर्च गरेको स्थानीयको आरोप छ । गाउँपालिकाले कृषि क्षेत्रमा कृषकका लागि केही काम गर्न नसकेको वाह्रदशीका कृषकको भनाइ छ । उनीहरु भन्छन् – स्थानीय जनप्रतिनिधिले आफ्नै मात्र स्वार्थ हेरे हाम्रा लागि केही गरेनन् ।

बिलाशिताका साधन खरिदमा गाउँपालिकाले मोटो रकम खर्चिएको बताउँदै वाह्रदशी गाउँपालिकास्तरीय मूल कृषक समूह सदस्य तथा वडा नम्वर ४ का अध्यक्ष ज्ञानप्रसाद राजवंशी भन्छन्– ‘हामीलाई अहिले श्रम शक्तिको अभाव भएका वेला यान्त्रिकीकरण खरिदमा सहयोग गर्नु पर्नेमा जनप्रतिनिधिले विलाशिताका साधन खरिद गरी मोज गरेका छन् ।’

सर्वसाधारणको टाउकामा करको बोझ थपेर जनप्रतिनिधि धमाधम आफ्ना लागि विलाशिताका सवारी साधन किन्दैछन् । सर्वसाधारणलाई अत्यावश्यक हुने एम्बुलेन्स, वारुणयन्त्र, शववाहनजस्ता सवारी व्यवस्थापनतिर वाह्रदशी गाउँपालिकाको ध्यान गएको छैन ।

झापाका कतिपय गाउँपालिकाका जनप्रतिनिधिले खरिद गरिएको सवारी साधन समेत फिर्ता गरेका छन् तर वाह्रदशी गाउँपालिकामा अध्यक्षदेखि कार्यपालिका सदस्यसम्मलाई मोटरसाइकल र इन्धनसमेत बाँडिएको छ ।
जनप्रतिनिधिको विलासितामा करोडौं रुपैयाँ खर्च भएपनि दुर्घटना हुँदा, सर्वसाधारण बिरामी पर्दा, आगलागी हुँदा र प्राकृतिक विपत्तिलगायतमा उद्धार गर्ने सवारी वाह्रदशी गाउँपालिकाले खरिद नै गरेको छैन ।

कृषकलाईभन्दा कर्मचारीलाई सुविधा

वाह्रदशी गाउँपालिकामा ८४ हजारभन्दा बढी पशु छन् । अधिकांश कृषकले अहिले व्यवसायिक पशुपालन शुरु गरेका छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि वाह्रदशीका कृषक पशुपालनमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका धेरै युवाले अहिले व्यवसायिक पशुपालन गरिरहेका छन् । तर, गाउँपालिकाले उनीहरुका लागि प्राविधिक सहयोग गरेको देखिँदैन ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा कृषकका लागि भन्दा कर्मचारीलाई फाइदा पुग्ने किसिमको बजेट तयार गरेको पाइएको छ । कृषकलाई प्राविधिक सहयोगभन्दा कर्मचारीलाई वढी सुविधा हुने गरी कार्यक्रम तयार गरेको बताइएको छ । गाउँपालिका श्रोतका अनुसार भ्रमण खर्चका लागि ३० हजार, सञ्चार खर्चका लागि २० हजार, इन्धन अन्य प्रयोजनका लागि भन्दै १८ हजार, कार्यालय सञ्चालनका लागि ३० हजार, मर्मत सम्भार खर्चका लागि ५० हजार, फर्निचर खरिदका लागि एक लाख, अनुगमन तथा मूल्याङ्कनका लागि ३० हजार, विविधमा २० हजार, सवारी इन्धनका लागि ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै औषधि खरिदका लागि २ लाख ५२ हजार रुपैयाँ गाउँपालिकाले वजेट विनियोजन गरेको छ । तर सो रकमको कति र कस्ता औषधि खरिद गरिएको हो त्यसको कुनै तथ्याङ्क गाउँपालिकासंँग नरहेको एक कर्मचारी बताउँछन् । उनी भन्छन्– यहाँ मनलागी हुन्छ, गाउँपालिकाबाट निःशुल्क औषधि पाँए भन्ने एक जना कृषक पनि भेटिँदैन । सबैले पशु प्राविधिकबाटै औषधि किनेर लान्छन् ।’

गाउँपालिकाले कृषकका लागि घार खरिद गर्न दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको देखिन्छ । गोष्ठी तथा तालिमका लागि ५० हजार, आकस्मिक रोग नियन्त्रणका लागि ५० हजार र च्यापकटर खरिदका लागि १ लाख २० हजार रुपैयाँ रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, गाउँपालिकाको नजिकै उत्तरतर्फ रहेको पशु सेवा विभागमा न औषधि छ नत समयमा कर्मचारी नै भेटिन्छन् ।

कार्यालयमा समेत धमिराले माटो उठाएर ढिस्कै ढिस्का बनाएपछि पूर्वाञ्चल दैनिकले सोमवार सो सम्बन्धि समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले कार्यालय सफाई गर्न निर्देशन दिएका छन् ।

सोमवार ११ वजे पूर्वाञ्चलकर्मी सो कार्यालय पुग्दा कार्यालयमा एक जना कार्यालय सहयोगी ओमप्रकाश सिंह राजवंशी कुर्सीमा मस्त निदाई रहेका थिए । कार्यालयमा पशु प्राविधिकसहित तीन जनाको दरवन्दी भएपनि कार्यालयमा भने कार्यालय सहयोगी मात्रै निदाएको अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर