Aamsanchar

विप्लवको सेल्टर खोज्दै प्रहरी

Author Image
बुधवार, असार १८, २०७६

संखुवासभा :  सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा नेत्रविक्रम चन्द विप्लका कार्यकर्तासँग भएको भनिएको गोली हानाहानपछि उतारिएको करिब एक सयजना सुरक्षाकर्मीको टोली अझै फर्किएको छैन। विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्ताको अवस्था नखुलेको जानकारी विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज बिषमले दिएका छन्।

तर सुरक्षास्रोतले भने दुईजना पक्राउ परेका जानकारी दिएको छ। बेपत्ता भनिएका तीनमध्ये एकजना पार्टीसम्पर्कमा पुगेको बिषमले बताएका छन्। प्रहरीको नियमित गस्ती टोलीसँग सिलिचोङ गाउँपालिका १ होयङ्लामा विप्लवका कार्यकर्ताको जम्काभेट हुँदा गोली हानाहान भएको थियो। उक्त गोलीकाण्डपछि नेपाली सेनाका तीनवटा हेलिकोप्टरमा काठमाडौँबाट गस्तीमा आएका थिए। सशस्त्र र नेपाल प्रहरीका ५० भन्दा बढी सुरक्षाकर्मी सिसुवाखोला पुगेका थिए। अहिले त्यस क्षेत्रमा सयजना सुरक्षाकर्मीेले खोजी तीव्र पारेका छन्। दुईजना पक्राउ गोली हानाहानपछि विप्लवका बेपत्ता भएका तीन कार्यकर्तामा चैनपुर नगरपालिका १० का सुजन अधिकारी र सोलुखुम्बुका दोर्जी तामाङ पक्राउ परेका छन् ।

उनीहरु दुवैलाई प्रहरीले अझै सदरमुकाम ल्याएको छैन। उनीहरुलाई गस्तीमा रहेका सुरक्षाकर्मीले साथमै राखेर विप्लवको सेल्टर खोजिरहेका स्रोतको भनाइ छ। जिल्लास्थित सुरक्षा स्रोतका अनुसार काठमाडौंबाट उतारिएका २५–२५ जना जनपथ र सशस्त्र प्रहरीको टोलीसहित जिल्लाबाट परिचालित सुरक्षाकर्मी सिलिचोङको सिसुवाखोला क्षेत्र र भोजपुरको उत्तरी चौकीडाँडा र खाटम्माको सीमा क्षेत्रमा सर्च अप्रेशनमा केन्द्रित छ। भोजपुरको खाटम्मास्थित डिलखर्क माओवादी जनयुद्धका बेला पूर्वको जलजलाकारुपमा चर्चित थियो । विप्लवका कार्यकर्ताले पनि त्यही क्षेत्रमा सेल्टर बनाएर बसेको आशंका सुरक्षा स्रोतले गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिम लामाले सोमबारको घटनाअघि र पछि सिलिचोङ क्षेत्रमा खटिएको टोली फिर्ता भइनसकेको बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर