Aamsanchar

विषाक्त तरकारी खुवाउन पाइँदैन भन्दै नेविसंघको प्रदर्शन

Author Image
सोमवार, असार २३, २०७६

काठमाडौं– सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु–नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।

तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनका क्रममा बोल्दै भट्टले भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने चेतावनी दिए । उनले कुनैपनि हालतमा विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था मिलाइनु पर्नेमा जोड दिए ।

सो क्रमममा भट्टसहित विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, ठाकुर नेपाल, लक्ष्मी सिलवाल, स्वेच्छा उप्रेती, जीवन रानालगायतले सम्वोधन गरेका थिए ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।

जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो । यस्तै २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।

यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर