Aamsanchar

आज तुलसी रोप्ने दिन, एकादशी,हरिशयनी एकादशी चतुर्मास व्रत आरम्भ ( यस्तो छ महिमा )

Author Image
शुक्रवार, असार २७, २०७६

वैदिक सनातन हिन्दु पात्रो पञ्चाङ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।

सनातन धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

अषाढ शुक्लपक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रुपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यस एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाईन्छ ।

हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ। निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ।

आजको दिन भगवान् विष्णुको प्रतिकको रुपमा घरघरमा तुलसी रोप्ने गरिन्छ। घर वरपरको हावा स्वच्छ बनाउने तुलसी बिना भगवान विष्णुको कुनै पनि पुजा आराधनाले पूर्णता पाउदैन। तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औसधिको काम गर्दछन्। रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरुको उपचारमा तुलसी घरेलु औसधि भएर उपयोगमा ल्याउने गरिन्छ। तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरु नरहने मान्यता पनि छ। हिन्दुहरुको लागि तुलसीको निक्कै महत्व रहने गरेको छ त्यसैले पनि होला प्राय हिन्दुहरुले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन्। तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ।

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । भविष्योक्तरा पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।

चलिआएको प्राचिन किम्वदन्तिका अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे तर लगातारको तिन बर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो, नदिनाला सुक्न थालेका थिए र रुख विरुवाहरुले हरियाली गुमाइसकेका थिए । राजाको अपराधका कारणले गर्दा राज्यले र नागरिकले समस्या भोग्दछन भन्ने मान्यता रहेकाले राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले बर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानेर जति गर्दा पनि उनि आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एकदिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रुपमा हरिशयनी एकादशीके महिमाका बारेमा थाहा पाँउछन् र यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास रहेको छ ।

किम्वदन्ती तथा कथाहरुले जेसुकै भनेपनि राम्रो र सत्यकर्म मानव जीवनको अमूल्य सम्पति हो । सत्यपथतर्फ लम्किँदै जानुहोस प्रगति तपाईंको साथमा हुनेछ । तपाईंको दिन शुभ रहोस ।

चतुर्मास व्रत आरम्भ
हरिशयनी एकादशी देखि हरिबोधनी एकादशीसम्मको ४ महिना भगवान विष्णुले सयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ। यस बेला भगवान विष्णुले आफु शयन गर्ने हुदा भगवान शिवलाई आफ्नो कार्यवाहक सुम्पेका हुन्छन्, तसर्थ धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरुले विशेष गरि भगवान शिवको पुजाआजा गरी व्रत बस्ने गर्दछन्। भगवान विष्णु शयन गर्ने यो ४ महिना भित्र श्रावणको व्रत,गणेश चतुर्थी,हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी,नवरात्री, कोजाग्रत पुर्णिमा, गोवर्धन पुजा आदि जस्ता थुप्रै दिनहरुमा बसिने व्रतहरु चतुर्मास व्रतहरु हुन्। यो ४ महिनाको समयमा आफ्नो शारिरीक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापुर्वकाल देखि रहिआएको छ।

असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशी सहित चतुर्मास व्रत थालनी गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ।

बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)