Aamsanchar

युएईमा सबैभन्दा विशाल र क्रियाशिल संस्था प्रवासी नेपाली मंच

Author Image
सोमवार, भदौ २७, २०७३

1002647_79888511608583372850_n copy

युएईमा रहेका विभिन्न सामाजिक तथा गैर सामाजिक संघ संस्थाहरु मध्ये नेकपा एमाले सम्बद्द रहेको संगठन प्रवासी नेपाली मंच युएई पनि एक हो । झन्डै १० वर्ष पहिले नै स्थापना भएको यो संगठनले  युएईमा आफुलाई निक्कै बलियो संगठनको रुपमा स्थापित गरेको छ र विभिन्न सांगठानीक तथा सामाजिक कामलाई एकैसाथ अगाडी बढाइरहेको छ । युएईस्थित आमसंचार प्रतिनिधि भरत शिवाकोटीले प्रवासी नेपाली मंच युएईका महासचिव भेसराज ढकाल सँग यस संगठनका बारेमा गर्नुभएको संक्षिप्त कुराकानी

प्रवासी नेपाली मंच युएईको स्थापना कहिले र के उदेश्यका निमित्त भएको हो ?

प्रवासी नेपाली मंच युएईको स्थापना २०६३ सालमा भएको हो । मंचको उदेश्य युएईमा रहेका आम नेपालीहरुलाई आईपर्ने समस्याहरुमा सहयोग गर्ने र सामजिक संस्थाको रुपमा काम गर्दै अगाडी बढनु हो सँगै हाम्रो पार्टी नेकपा एमालेमा आस्था एवं विश्वास गर्ने हिजो नेपालमा हुँदा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका साथीहरु तथा अन्य प्रवासमा रहेका नेपालीहरुलाई गोलबद्द गर्दै राष्ट्रलाई सम्रिद्दी तर्फ लानका निमित्त उन्मुख गर्नु पनि हो । प्रवासमा रहेको ठुलो हिस्साले राजनीतिलाई घृणा गर्ने होइन देशको राजनीतिलाई नजिकबाट नियाल्नुपर्दछ र आफ्नो देशको राजनीतिक विषयमा पनि जानकार हुनुपर्दछ किनभने हामी राजनीतिक अस्थिरताको कारण नै प्रवासमा छौ र जबसम्म सहि राजनीतिक दृष्टिकोणलाई समात्न सकिदैन तबसम्म हाम्रो भविष्य अँध्यारो रही रहने छ । यसरी नै प्रवासी नेपाली मंच युएईले प्रबासी नेपालीलाई देशको हरेक गतिबिधि सँग आफ्नो संलग्नता गरि समृद्द रास्ट्र निर्माणमा सहयोग गरिरहेको छ ।

यसको सन्जाल कस्तो छ् युएईमा ?

प्रवासी नेपाली मंच केवल युएईमा मात्र होइन हरेक देशहरुमा क्रियाशील छ।  युएईमा सामाजिक तथा गैर सामाजिक संस्थाहरु मध्ये सबैभन्दा विशाल र क्रियाशिल संस्था प्रवासी नेपाली मंच हो ।

1002647_7988_8874164608583372850_n copy

हालसम्म प्रवासी मंचले नेपाल र नेपालीका निमित्त के कस्ता योगदान गरेको छ ?

यस मंचले युएईमा मात्र नभएर राष्ट्रमा पनि आपत बिपत परेको बेला सहयोग गर्ने गरेको छ । विभिन्न समयमा हुने गरेका दैविक प्रकोप तथा अन्य किसिमका विपतहरु जस्तो आगलागी, बाढीपहिरो तथा अन्यका निमित्त यस मंचले मंचका सदस्यहरु अनि स्वेच्छाले आर्थिक सहयोग गर्न चाहने व्याक्तिहरु सँग आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग गर्दै आएको छ । विनासकारी भुकम्प गएको बेला यस मंचले करिब ८ लाख रुपैया आर्थिक संकलन गरी सहयोग प्रदान गरेको थियो । यहि भुकम्पका कारण ठुलो धनजनको क्षति भयो,सयौं संरचनाहरु क्षतविच्क्षेद भए अनि हाम्रो राष्ट्रको शान धरहरा ढल्यो जो हामी सबैलाई थाहा छ । पुर्ब प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो एक महिनाको तलब दिएर घोषणा गर्नु भएको “म बनाऊछु मेरो धराहरा अभियान“ का लागी यस मंचले सहयोग गर्ने निणर्य गरी अहिले हामी आर्थिक संकलनको अभियानमा छौं । विगतमा एमआरपी पासेपोर्ट बनाऊने समयमा नेपाली दुतवास युएईमा नेपालीहरुको अत्यधिक चाप रहँदा र दुतावासमा यथेस्ट कर्मचारी नहुँदा मंचका अधिकांश सदस्यहरु गएर दुतवासमा स्वयंसेवकको रुपमा सहयोग गर्नु भएको थियो । उक्त कार्यलाई दुतवासले मात्र होइन सबै संघ संस्थाले प्रशङ्सा गरेका थिए र मंचका सदस्यहरुलाई दुतावासले प्रशङ्सा पत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो । यसको अलावा युएई सरकारले संचालन गरेका विभिन्न कार्यक्रमहरुमा हाम्रो संगठन सरिक हुँदै आएको छ।उदाहरणको लागी हरेक बर्ष “क्लिन अप द वोर्ल्ड“ मा स्वयंसेवकको रुपमा हाम्रो संगठनको सहभागिता! यस्तै अन्य धेरै कामहरु हामीले गरेका छौ ।

प्रवासमा च्याउ उम्रेझै उम्रेका विभिन्न समाज र क्षेत्र केन्द्रित सामाजिक तथा गैर सामाजिक संस्थाहरुलाई के भन्न चाहनुहुन्छ ?

युएईमा अहिले करिब ७५, ८० को हाराहारीमा विभिन्न राजनीतिक तथा गैर राजनीतिक संघ संस्थाहरु क्रियाशिल रहेका छन र सबै संस्थाको मुख्य उदेश्य यहाँ रहेका नेपालीहरुलाई समस्या परेको बेला सहयोग गर्नु तथा सामजिक कार्य गर्नु नै हो । कतिपय संघ संस्थामा विभिन्न समस्याहरु पनि रहेका छन, आर्थिक अपारदर्शिताका कुराहरु नि बेला-बेला वाहिर आएका छन । यस्ता आन्तरिक कुराहरु आँफैभित्र सु-स्पस्ट ढंगले मिलाउने क्षमता हरेकले राख्न सक्नुपर्दछ । क्षेत्र केन्द्रित तथा अन्य संघ संस्था भन्दा हाम्रो प्रवासी मंचको दायरा अलि फराकिलो छ भन्ने लाग्छ किनभने हामी समग्र देशलाई नै क्षेत्र मान्दछौ र हरेक नेपालीको प्रतिनिधित्व गर्दछौ । यो सँगै सहयोग तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पुँजी सुरक्षित गर्ने र देशलाई समृद्दिको बाटो तर्फ उन्मुख गराउन आफ्नो ठाँउबाट योगदान गर्ने काममा हामी अरुभन्दा अग्र स्थानमा छौ भन्ने हाम्रो ठम्याई  छ ।

नेपालबाट वैदेशिक रोजगारिका निमित्त आएका नेपालीहरुले यहाँ विभिन्न चुनौती र समस्याहरु झेलिरहेका छन । यसलाई न्युनिकरण गर्न मंचले के गर्दैछ ?

वैदेशिक रोजगारिका निमित्त आएका नेपालीहरुले भोग्नुपरेका अनेकौं समस्याहरु छन र यो चुनौती पनि हो । यसलाई न्युनिकरण गर्न हामीले गर्ने जमघट तथा भेला अनि समारोहहरुमा यस बारेमा छलफल चलाउने गरेका छौं । युएईको कानुनको बारेमा, विभिन्न घटनाहरुका बारेमा र अन्य विषयहरुमा सुचना आदानप्रदान गर्दै त्यसलाई प्रवाह पनि गर्ने गरेका छौ । जसबाट हामी पुर्व सतर्कता हुन सक्दछौ । हामीले पुर्ब प्रधानमन्त्री शुशिल कोईराला र पुर्ब परराष्टमन्त्री महेन्द्र पाण्डे तत्कालिन समयमा युएई भ्रमणमा रहदा प्रवासी नेपाली मंच युएईको तर्फबाट ज्ञापन पत्र बुझाएका थियौ । ऊक्त ज्ञापन पत्रमा वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत नेपालीहरुले भोगेका समस्याहरु जस्तो श्रम स्वीकृति गर्दा भोग्नु परेका झन्झटिला समस्याहरुलाई सहजीकरण गर्न, नेपाली महिलाहरुले डोमेस्टिक कामदारका रूपमा काम गर्दा भोगेका समस्याहरु समाधान गर्न, प्रवासमा रहेका संपुर्ण नेपालीहरुलाई माथिल्लो निकायहरुको निर्वाचनमा प्रवासबाट नै मतदान गर्ने अधिकार सुनिश्चित गर्न, प्रवासमा काम गरेर नेपाल फर्के पछि दक्ष कामदारलाई सरकारले सिपमुलक रोजागारीको अवसर सृजना गर्न, नेपालबाट दलालहरुले भिजिट भिसामा ठुलो रकम असुली गरी कैयौं नेपालीहरुलाई युएईमा ल्याई अलपत्र पारेको भेटिन्छन यसलाई पुर्ण रुपमा रोक्नुपर्ने आदि कुराहरु उल्लेख थियो र पुर्ब प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रमामा प्रवासी नेपाली मंचको आवाजलाई सम्बोधन पनि गरिएको थियो।

1002647_798885113496225_372850_n copy

प्रवासी नेपाली मंच युएईले नेपालमा हाइड्रोपावार निर्माणका लागि लगानी जुटाउँदैछ भन्ने सुनिन्छ यस बारेमा केहि बताइदिनुहुन्छ कि?

हो, अहिले प्रवासी नेपाली मंच संगठन बिस्तार, सामाजिक कार्यआदिमा मात्र नभएर राष्ट्रलाई समृद्दी बनाऊने अभियानमा पनि लागेको छ । प्रवासी नेपाली मंच युएईको पहलमा भर्खरै मात्र “ ओभरसिज नेपाली इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनि ‘’ नेपालमा रजिष्टार गरिएको छ । यो कम्पनिको उदेश्य भनेको प्रवासमा रहेका नेपालीहरुमा छरिएर रहेको सानो-सानो पुँजीलाई संकलन गरी व्याक्तिको पुँजी बचत गर्दै राष्ट्रलाई समृद्दी बनाऊने योजनाहरुमा लगानी गर्ने हो । यसबाट प्रवासमा रहेका नेपालीहरुको लगानी सुरक्षित हुनेछ र एउटा आम्दानीको स्रोत समेत बन्नेछ भन्ने हामीले अपेक्षा गरेका छौ। यस कम्पनिले लमजुङको मादी पोखरा भन्ने ठाँऊमा बन्न लागेको ४४ मेगावाट क्षमता रहेको जलबिधुत आयोजनामा पहिलो लगानी रु १० करोड गर्ने निर्णय गरेको छ । यस आयोजनाको काम यही मंसिर महिनाबाट शुरु हुँदैछ।

राजनीति देश विकासको मेरुदण्ड हो, नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिनुभएको छ ?

नेपालको पछिल्लो राजनितीक घटना क्रमलाई हेर्दा पहिलो कुरा देशमा राजनितीक स्थिरता छैन, अस्थिरता छ । जब सम्म देशमा स्थिरता हुँदैन, विकासका कामहरु गर्न कठिन हुन्छ । पुर्ब के पी ओलीको सरकारले ल्याएका योजनाहरु र सरकारले देखेको सपनाहरुबाट आम नेपाली जनतामा केही आशा पलाएको थियो जसले अहिले सम्म इतिहासमा कसैबाट हुन नसेकेका कामहरु छिमेकी राष्ट्र चिनसँग को व्यपारीक, पारवाहन सम्झौता, रेल मार्ग बनाऊने सम्झौता र भारत सँगको बन्दरगाह सम्झौता गरेको थियो सँगै अरु थुप्रै विकासका योजनाहरु बजेटसँगै प्रस्तुत पनि गरेको थियो । तर दुर्भाग्यवस ओली सरकार प्रति बढ्दै गएको लोकप्रियताले कतिपय राजनीतिक दलहरु त आत्तिए नै सहपाठिले समेत ओली सरकारमा रही रहे आफ्नो भविस्य देखेन र सरकारबाट खुट्टा झिकेपछि ओली सरकारलाई बिश्वासको संकट पर्यो अन्तत सरकार ढल्यो । जनताले सरकारलाई अन्तिम समय सम्म पनि साथ दिइरहेका थिए र ओली सरकारको निरन्तरताका निमित्त आवाज उठाइरहेका थिए तर बाह्रय शक्तीको आशिर्वाद र चंन्गुलमा फसिसकेका केहि राजनीतिक दलहरुले जनताको आवाज भन्दा आफु सरकारमा आसिन हुने र लाभ लिने कुरालाई प्रधान ठान्दै जनताको आवाजलाई वास्ता गरेनन,जसलाई जनताले हिसाबकिताबका रुपमा राखेको हुनुपर्दछ । अहिलेको सरकार कसरी बनेको हो र के गरिरहेको छ यो सबैलाई छर्लङ्ग छ । यो सरकार प्रति जनतालाई त्यति आशा र भरोसा छैन र सरकारले गर्दै गरेका जनताका अपेक्षा विपरितका कामहरुले पनि यसलाई प्रमाणित गर्दैछ । जब सम्म देशमा राजनीतिक स्थायित्व कायम हुँदैन तबसम्म जनताले आशा गरेको शान्ती,समृद्दी र दिगो विकास असम्भव छ भन्ने हामी प्रवासी नेपालीहरुको बुझाई रहेको छ ।

भरत शिवाकोटी,युएई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)