पत्रकारिताका पिता मदन सर

प्रकाशित मिति :2016-12-19 14:33:47

yekraj giri 2एकराज गिरी
सम्पादक
पूर्वाञ्चल दैनिक

प्रधानसम्पादक स्व. मदन ढकालको स्मृति विशेष

यो मनले पत्याइरहेकै छैन, विश्वासै लाग्दैन– कि मदन सर (मदन ढकाल) हामीलाई छोडेर जानु भएको घटना । अकल्पनीय र अल्पायुमै उहाँलाई गुमाउँदाको यस क्षण उहाँको बारे केही बोलौंभन्दा गला अवरुद्ध हुन्छ, लेखौं भन्दा कलम अघि सर्दैन, सोच्दा कहाँ –कहाँ गहिराईमा पुगेर टोलाइरहेको पाउँछु । मनमा अनुत्तरित प्रश्न मडारिएको छ– अल्पायुमै हामीलाई छोडेर किन जानु भो मदन सर ? तस्वीर हेर्दा लाग्छ– मदन सर हामीसँगै हुनुहुन्छ, हाँस्दै बोल्दै हुनुहुन्छ । मनले पत्याउन गाह्रो माने पनि यथार्थ हो, मदन सर अब भौतिक रुपमा हामी माझ रहनुभएन । madan copy
मदन सर मेरो पत्रकारिताका पिता हुनुहुन्थ्यो । उहाँ नभएको भए पत्रकारिता क्षेत्रमा सायद मेरो जन्म हुने थिएन । उमेरले पनि मेरो पिता (मानबहादुर गिरी)संगैको मदन सर । २००९ सालको जन्म उहाँहरुको । पत्रकारिता यात्रामा झापाका अग्रज पत्रकार नकुल काजीका पहिलो शिस्य मदन सर । अनि मदन सरको पत्रकारिता अध्यापन यात्राको पहिलो विद्यार्थी म । हाम्रो भेट गोमेन्द्र उच्च मावि (हाल गोमेन्द्र बहुमुखी महाविद्यालय) मा भएको हो । ०५४ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न जीवनोपयोगी शिक्षाको खोजी गरें । त्यतिखेरको चलन अनुसार नपढेर भारत र अन्यत्र बैदेशिक रोजगारीमा जाने आँट मसँग थिएन, कहिले सोचिन पनि । गोमेन्द्रले पहिलोपटक काठमाडौंबाहिर पत्रकारिताको अध्यापन शुरु गराउँदै थियो । पहिलो व्याचको विद्यार्थी म सँगै २०÷२५ जना थियौं । गोमेन्द्रले मदन सरसँग कुरा गरेर र आँट गरेर पत्रकारिता विषय ल्याएको थियो होला । किनभने पत्रकारिता विषय पठ्नपाठन शुरु भए पनि त्यसका पाठ्यपुस्तक पाइँदैनथे । पढाउने शिक्षकको कुरा त परकै हो । बल्लतल्ल प्रेस काउन्सिलले हाते पुस्तक छापेको थियो । मदन सरले पछि एउटा पाउनुभएछ । त्यसले कोर्ष एक छेउ मात्र समेट्थ्यो । तर मदन सरले हामीलाई हिन्दी, अंग्रेजी भाषाका पत्रकारिताका पुस्तक अनुवाद गर्दै तथा आफ्नै अनुभव बताएर पढाउनुहुन्थ्यो । हामीलाई उहाँ शुरुकै दिनबाट प्रभावशाली व्यक्तित्व लाग्थ्यो । बोली कमाण्डिङ थियो, कहिले दौरा सुरुवाल र कोट त कहिले टाइसुटमा जानु हुन्थ्यो । उहाँ आफैले सवारी चलाएको कहिले देखिन, तर उहाँलाई गन्तव्यमा पु¥याइदिने र लिने आउनेको कमी थिएन । madan dhakal
पढाइसँगै मैले समाचार खोज्न, लेख्न थालिसकेको थिएँ । उहाँले गाउँघरका घटना, विषयवस्तुको समाचार बनाउन प्रेरित गर्नुहुन्थ्यो । मैले लेखेको समाचार सम्पादनसहित प्रशिक्षार्थी पत्रकारको रुपमा नाममै छापिदा औधि खुशी लाग्थ्यो । उहाँले पढाइसँगै नोट लेखाउनुहुन्थ्यो । विद्यार्थीले आफैं खोजेर पढ्ने पाठ्यपुस्तक नभएकोले पनि होला । पत्रकारिता विषयमा म र अर्को एक जना साथी मात्र नियमित उत्तीर्ण भयौं । अरु सबैको पत्रकारिता मै ‘व्याक’ लाग्यो । दुई बर्ष मैले गोमेन्द्रमा पत्रकारिता पढें । मदन सरको अनुपस्थितिमा पत्रकारिताको कक्षा रुपक खनाल सरले लिनु हुन्थ्यो । कम्प्युटर प्राविधिक विष्णु योङ्हाङ हामीसँगै पत्रकारिता पढेका, पछि उनले पेशा छोडे । मसँगै नियमित उत्तीर्ण हुने यज्ञदेव इङ्नाम पेशामै आएनन् । पछिल्लो व्याचका मदन सरकै विद्यार्थी हुन् राजु पाठक । उनी अहिले राम्रैसँग स्थापित छन् पत्रकारितामा । पछिल्लो व्याचकै मनोज राय (तपस्वी) पूर्वाञ्चल दैनिक हुँदै कञ्चनजंघा एफएमसम्म राम्रैसँग पत्रकारिता गर्दागर्दै बैदेशिक रोजगारीमा लागे । पत्रकारिता प्राज्ञिकहरुले गर्ने बौद्धिक र चुनौतिपूर्ण पेशा हो । तर कहीं नबिकेर ‘पत्रकार गर्न’ यस क्षेत्रमा छिरेकाले पेशा नै बदनाम पनि गराएका छन् । विभिन्न प्रशिक्षण तथा कार्यक्रममा मदन सर सँधै भन्ने गर्नुहुन्थ्यो– ‘डण्डा बोक्दैमा हवल्दार र कलम बोक्दैमा पत्रकार भइँदैन है ।’
विश्व विजेता कहलिएका नेपोलियन बोनापार्टको भनाइ– ‘चार हजार संगीनभन्दा एउटा कलम खतरनाक हुन्छ’ भन्ने कुरा मदन सर पढाउने क्रममा बारबार दोहो¥याउनुहुन्थ्यो । पत्रकारिता आफैंमा कठिन, श्रमको कुनै मूल्य नहुँने, समाचार लेख्दा पैसा पाउने अवस्था थिएन स्थानीय क्षेत्रमा त्यतिबेला । म राम्रैसँग समाचार लेख्न थालिसकेका थिएँ । गाउँघरका सुरुङ्गा, घैलाडुब्बासँगै मध्य झापाको समाचार सम्प्रेषण गर्थें । समाचार लेख्नु नामैका लागि मात्र थियो । त्यसैताका पूर्वाञ्चल दैनिकले केही समाचारदाता आवश्यकता सम्बन्धी विज्ञापन निकालेको थियो । मसहित १४ जनाले आवेदन ग¥यौं । खुल्ला प्रतिस्पर्धाको परीक्षामा चार जना मात्र उत्तीर्ण भयौं– म, इन्द्रसिंह राजवंशी, लक्ष्मी भण्डारी र अर्का एक सन्थाल (नाम याद भएन) । यो नतिजा पूर्वाञ्चलमै प्रकाशित भएको रहेछ, मलाई मित्र केशव दाहालले घरमै सुनाए । त्यसपछि औपचारिक रुपमा पारिश्रमिक पाउने पत्रकारको रुपमा मेरो पत्रकारिता प्रवेश ग¥यो । त्यो बाटोमा डो¥याउने प्रेरणाको स्रोत हो मदन सर ।
पत्रकारिताको त्यस अघिको पढाइ बढाउन काठमाडौं जानुपर्ने बाध्यता । अन्यत्र थिएन । काठमाडौं जाने अवस्था थिएन । फेरि पत्रकारितामा जीवन गुजार्ने पारिश्रमिक पाउने अवस्था पनि थिएन । जे अध्ययन गरिन्छ भोलि त्यसलाई पेशा बनाउँन सकियोस् भन्ने चेतना सानैबाट भएकोले पत्रकारिताको अभ्यासलाई निरन्तरता दिँदै यताबाट पूर्ण नभए आंशिक समय शिक्षक बनेर पनि जीवन चलाउने सोच राखी कनकाई क्याम्पस सुरुङ्गामा वीएडमा भर्ना भएँ । एमएड पनि त्यही बाट गरें । पत्रकारिता छोडिन । पछि पत्रकारितामै भविष्य देख्न थालें । शिक्षक हुने रुचि घट्यो । मदन सरको निरन्तर हौसल्ला, आँट भरोसाकै कारण शिक्षा संकाय पढें पनि पूरै पत्रकारितामा होमिएँ म ।
गोविन्दचन्द क्षेत्री पूर्वाञ्चलकै संस्थापक सम्पादक । उहाँ, केशव आचार्यले नै पूर्वाञ्चलमा समाचारदाता नियुक्त गर्दा हाम्रो परीक्षा लिनुभएको थियो । अग्रजहरु लीला बराल, कृष्ण हुमागाई, मोहन काजीले मैले पठाएको समाचार जाँचेर पास गर्नुहुन्थ्यो । पत्रकारिताको अभ्यासमा मैले उहाँहरुबाट धेरै सिकेको छु । अस्वस्थताको कारण गोविन्द सरले करिब २६ महिना बिदा लिनुभयो । त्यस बेला सम्पादकको जिम्मेवारी मदन सरले निर्वाह गर्नुभयो । गोविन्द सर काममा फर्केपछि मदन सरले जिम्मा लगाएर बाहिरिनुभयो । त्यसबेला उहाँ विवेचनामा आवद्ध हुनुभयो । बाहिरबाटै पूर्वाञ्चललाई सहयोग पु¥याउनु हुन्थ्यो । केही समयपछि डेस्कमा काम गर्ने सम्पादकसहित सबै पत्रकारले सामुहिक राजीनामा दिएपछि पूर्वाञ्चल करिब ३ महिना बन्द भयो । राजीनामा दिनेमा म, इन्द्रसिंह पनि थियौं । प्रकाशक भरतलाल गिरीको पहलमा गोपाल गिरी, म(एकराज गिरी), लक्ष्मण ढकाल र इन्द्रसिंहले पूर्वाञ्चलको प्रकाशन नियमित गरायौं । केही समयपछि भद्रपुरबाट धाउन गोपाल सरलाई गाह्रो भयो । मदन सर फेरि सम्पादकको जिम्मेवारी सम्हाल्न आउनुभयो । पूर्वाञ्चलमै निरन्तर रहनुभयो । दिवंगत हुँदाका बखतसम्म उहाँ पूर्वाञ्चलको प्रधान सम्पादक नै रहनुभयो । पत्रकारिताको करिब पाँच दशकको यात्रामा सबैभन्दा लामो सेवा मदन सरले पूर्वाञ्चलमै गर्नुभयो ।
पत्रिका भरिने समाचार हातैले लेखेर पु¥याउनुपर्ने । प्रविधिको नाममा फ्याक्स, ल्याण्डलाइन फोन र टेप रेकर्डर मात्र थियो । धेरै लेख्ने, खटेर काम गर्ने, राम्रो लेख्ने भएकोले होला मलाई सबैले डेस्कमा विश्वास गरेर काम सुम्पनु हुन्थ्यो । त्यो चुनौतिलाई मैले अवसरमा बदल्दै आफूलाई ‘अपग्रेट’ गर्दै गएँ । सम्पादकीय बाहेक सबै मैले नै हेर्न थालिसकेको थिएँ । त्यसअघि नै असल शासन अभियानका सहकर्मी सुब्रत न्यौपाने हुँदै राजेन्द्र गौतम देखि क्रमशः सुरेन्द्र भण्डारी, तुलसीप्रसाद निरौलालाई मेरै पहलमा डेस्कमा बसेर काम गर्ने अवसर दिलाएँ ।आफ्नो क्षमताले भ्याएसम्म समाचार लेख्न सिकाएँ । उनीहरु फिल्डमा रहँदा फोनबाट समाचार टिपेर लेखिदिने, सम्पादन गरिदिने गर्थें । मलाइ गर्व लाग्छ– सुब्रतजी, राजेन्द्रजी अलग – अलग सञ्चार गृहका सम्पादक छन्, मदन सरबाट समेत दिक्षित हुने मौका पाए । मदन सर र अरु अग्रजले डेस्कमा कस्लाई ल्याउँदा राम्रो हुन्छ तैले नै सिफारिस गर भनेर मलाइ जिम्मा दिनुहुन्थ्यो । त्यसो हुँदा टिम वर्क मिलेर काम पनि राम्रो हुन्थ्यो । मदन सरले सधै सबैलाई हौसला दिनुहुन्थ्यो, जो जुन पेशामा छ मनबाटै लाग्न प्रेरित गर्नुहुन्थ्यो । मदन सर जस्तै बन्न मैले अहिले पनि क्रियाशील २०औं पत्रकारलाई पत्रकार बन्न प्रेरित गरें, सीप सिकाएको छु । मदन सरले कसैलाई काममा कहिल्यै हस्तक्षेप गर्नु भएन । स्वतन्त्र छोड्नु हुन्थ्यो । यति मात्र हेर्नु हुन्थ्यो कि काममा त्यसले क्षमता देखाएको छ कि छैन, कतै चुकेको पो छ कि ! व्यवस्थापक चन्द्रकान्त ढकालसहित धेरै कर्मचारी तथा पत्रकार मित्रहरुलाई पूर्वाञ्चलसम्म डोहो¥याएर ल्याउने काम मैले गरें । चन्द्रकान्त अर्थात सीके अंकल आज कुशल व्यवस्थापकको रुपमा स्थापित हुनुहुन्छ । पत्रिकालाई उत्कृष्ट बनाउने गोप्य योजनाहरु मदन सर, म, सीके अंकल र होमजी तथा आवश्यकता अनुसार विभागीय कर्मचारी राखेर बनाउने गथ्र्यौं । अध्यक्ष टोरुप प्रसाई उतिसारो झापा नबस्ने भएकोले कार्यालयको काममा आवश्यक निर्देशन दिन र हाम्रो योजनामा आँट भर्ने काम प्रकाशक भरतलाल गिरीले गर्दै आउनु भएको छ । तर अब मदन सर हुनुहुन्न, हामीलाई उहाँको अभाव खड्कीएको छ ।
मदन सर निष्ठावान पत्रकार, प्रेरणापुञ्ज हुनुहुन्थ्यो । उहाँ सँगसँगै रहेर पत्रकारिता गर्ने अवसर मैले जति अरुले कमै पाए । उहाँसँग मेरो वितेको पल र समय अवधि ढकाल परिवारका पनि कमै सदस्यले मात्र गुजार्न पाएका छन्, झण्डै डेढ दशकदेखि म उहाँसँगै छु । मदन सरको झण्डै पाँच दशक लामो पत्रकारिता यात्रामा मैले उहाँसंग लामो सहयात्रा गर्ने मौका पाएँ । पूर्वाञ्चल दैनिकमा मदन सरको प्रवेश म भन्दा पछाडि नै भए पनि मैले उहाँसँग लामो समय गुजारें । म उहाँलाई काममा धेरै सघाउँथे । कहीं उहाँले प्रशिक्षण दिन जानु छ भने प्रशिक्षणका लागि आवश्यक सामग्री मैले जुटाइदिन्थे । कही पढाउन जाँदा पुस्तक खोजेर मैले नै ल्याइदिन्थे । उहाँको व्यस्तताले गर्दा जिल्ला र जिल्ला बाहिर पत्रकारिता प्रशिक्षणमा, कार्यशालामा उहाँले प्रस्तुत गर्ने धेरै कार्यपत्र मैले नै तयारी गरिदिन्थें । मलाई त्यति विश्वास गर्नुहुन्थ्यो कि, मैले तयार गरेको सामग्रीमा, कार्यपत्रमा थपघट नगरी प्रस्तुत गर्नुहुन्थयो । म चाहिँ उहाँले प्रशिक्षण दिने, कार्यपत्र प्रस्तुत गर्ने कतिपय कार्यक्रमको सहभागीको रुपमा सामेल हुन्थें । खोजी र अध्ययन गरिरहने बानी र क्षमताले मैले मदन सरको मन जितेको थिएँ ।
तीन बर्ष अघि र त्यसअघि पनि उहाँले पटक – पटक मलाइ ‘पूर्वाञ्चलको जिम्मेवारी अब तिमीले सम्हालनुपर्छ , म झापा बस्दिन’ भन्नुहुन्थ्यो । कहिले काठमाडौं बस्ने त कहिले कहाँ जाने कुरा गर्नुहुन्थ्यो । तर, मैले कहिल्यै मानिन । मैले त्यतिबेला उहाँलाई भनेको थिएँ –‘तपाइँले गर्ने पनि काम सबै मै गर्छु तर तपाइँ बसिमात्र दिनु, दिनमा एक पटक के गर्दैछौं भाइ भनेर कार्यालय आइदिनु भए पुग्छ । तर छोडेर जाने कुरा नगर्नु । तपाईले झापा छोड्नै पर्ने त्यस्तो कारण के छ, के अभाव छ र ? जीवनको उत्तराद्र्ध भनेको मलामी कमाउने हो । तपाइँको मलामी पूर्वाञ्चल दैनिकले कमाउँछ ।’ उहाँले मलाइ तिमीले ठीक भन्यौ भन्नुभयो र पूर्वाञ्चलमै रहनुभयो । मेरो एउटा सपना थियो मदन सर आफ्नो जीवनको अन्तिम क्षणसम्म पूर्वाञ्चल दैनिकको प्रधान सम्पादक नै रहनुहोस्, त्यो पूरा भएको छ । तर,अल्पायुमै गुमाउनुपर्दा किन हो मदन सर बिना एक्लो लागेको छ जिन्दगी । गुरु, पिता र अभिभावकविहीन अनुभूति भएको छ ।
म अनुशासित र काममा विश्वास गर्ने भएकैले होला, मेरो अघि चुरोट खानु हुन्नथ्यो । मैले देखिहालें भने हत्तपत्त फ्याक्नु हुन्थ्यो । उहाँले पिउने ठाउँमा म जान्नथें । मसंगै हुँदा पिउन मान्नुहुन्नथ्यो । अरुले करकाप गर्थे , पिउदा पनि एक,डेड पेगमात्र । म सम्झाउँथे, यस्तो कुरा नखानु, तपाई बिरामी पर्नुहुन्छ, यसले राम्रो गर्दैन भन्थें । तर, लुकीलुकी जे गर्नु नहुँने त्यही गर्नुभो र भौतिकरुपमा विलिन हुनुभो । यसमा दोष उहाँलाई पिउन प्रेरित गर्ने र करकाप गर्नेहरुको पनि उत्तिकै छ । किनभने प्रायलाई मदन सरको बिराम थाह थियो । म उहाँले चुरोट लिने पसलमा पनि गएर नदिनु भन्थें, घरमा सावित्रा गुरुआमालाई पनि मदन सरलाई गाली गर्नु भन्थें । तर, पसलबाट आफैै झिकेर, एउटाबाट मात्र होइन हरेक दिनमा चाहिने चुरोट ३÷४ वटा पसलबाट झिक्नुहुन्थ्यो । एउटा पसलबाट देख्दा दिनभरलाई ३÷४ वटा चुरोट कमै भए पनि सबै जोड्दा १५÷२० वटै चुरोट पिउनु थालिसक्नु भएको थियो । चिकित्सकले बारम्बार सुझाए पनि उहाँले आफ्नो जीवनको परवाह गर्नुभएन र अल्पायुमै छोडेर जानुभयो । मदन सर र म एउटै कोठामा काम गथ्र्यौं । म कार्यालयमा काममै व्यस्त हुन्थें, भेटघाटमा आउनेहरुलाई उहाँले अल्मल्यानु हुन्थ्यो । अरुसंग गफ गर्नु प¥यो भने काममा मलाइ ‘डिस्टर्व’ हुन्छ भन्ने बुझिहाल्नु हुन्थ्यो अनि अर्को कोठा कि त नजिकैको अधिकारी चिया पसल जानुहुन्थ्यो ।
म बिर्तामोड आएको मदन सरकै सहयोगमा हो । काँइला भाइ बुहारी भरत–भगवतीको घरमा उहाँले नै डेराको बन्दोबस्त गरिदिनुभयो । दश वर्ष बस्यौं हामी त्यो घरमा । बिहे गरेको चार महिनापछि नै श्रीमती सुजताका साथ म बिर्तामोड आएको थिएँ । कारण थियो राति अबेरसम्म पूर्वाञ्चलको डेस्कमा काम गर्नुपर्ने । घरबाट धाउन गाह्रो थियो । छोरी समृद्धि त्यहीं जन्मी । मदन सर भाइको घर आउँदा होस् या त मलाइ भेट्न बारम्बार डेरा आउँनुहुन्थ्यो । छोरा सरहको मायापाएको थिएँ मैले । उहाँका काँइला भाइ भरत त्यही घरबाट झरेर मेरै आँखा अघि बित्नुभयो । पूर्वाञ्चल प्रवेश गरेदेखि आजसम्म पूर्वाञ्चलमै निरन्तर क्रियाशील छु । मदन सरकै प्रेरणाले पूर्वाञ्चलसँगै नयाँ सडक, हिमालय टाइम्स राष्ट्रिय दैनिकमा काम गरें । नेपाल, हिमाल, समय म्यागजिनमा लेखें । एफएम मेची ट्युन्समा छ महिने विदा बसेर सम्पादक भई समाचार सुचारु गराएँ । सनराइज सफएफमा पनि मैले नै समाचार सुचारु गराएको थिएँ । मलाई त्यो मौका दिने मदन सरसहित प्रज्ज्वल घिमिरे र कुमार भट्टराई हुनुहुन्थ्यो । मलाई मदन सरले पढाइमा जहिल्यै प्रोत्साहित गर्नुभो । पढाई नछोड भन्नुभो । निरन्तर झक्झक्याउनुभो । आज म जे छु मदन सरकै शिस्यको रुपमा उभिएर यहाँ आइपुगेको छु । मदन सरका पिता परशुराम,श्रीमति सावित्रा, भाइहरु मोहन, लक्ष्मण, अरुण, सुरेश तथा बुहारीहरु शीला, दुर्गा, भगवती, विमला,तारा ढकालसहित ढकाल परिवार,उहाँहरुका नातागोतासंग म पनि परिवारकै सदस्य जत्तिकै छु । छोराबुहारी सृजन–एलिना ढकाल, छोरीज्वाइहरु सीमा–लीलाप्रसाद घिमिरे, उमा–चन्द्रप्रकाश भट्टराई, सुष्मिता– भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपालवीच पनि म परिचित छु । स्थापनाकालदेखि रहनुभएका लक्ष्मण सर अहिले पनि पूर्वाञ्चल दैनिकको सहकर्मीको रुपमा हुनुहुन्छ । पिता परशुरामपछि ढकाल परिवारको पहिचान र प्रतिष्ठा बढाउने पहिलो व्यक्ति मदन सर नै हो । उहाँ पत्रकारिता र समाजकै ज्योति हुनुहुन्थ्यो ।
मदन सरबाट जे सिकें त्यही गर्दैछु । उहाँले झैं मैले को के गर्दैछ कहिल्यै चासो राखिनँ, कसैको कुरा काटिनँ, कसैको कुरा यता उता सुनाइनँ । कसैको खुट्टा तानिन । सकेसम्म अघि बढ्नै सहयोग गरें, गर्दैछु पनि । तर, समाजमा यस्ता पनि मान्छे हुँदारहेछन् जो अरुको आह्रिस गर्ने, खुट्टा तान्ने, कुरा काट्ने, स्वच्छ मान्छेलाई, संस्थालाई कलंकित बनाउने, विवादमा तान्ने । तर म र म आवद्ध संस्था त्यस्ता परिस्थितिमा पनि अविचिलित रह्यो र रहिरहने छ । त्यस्ता झुण्डको कुनै परवाह गर्ने छैन । आज मदन सर नभए पनि उहाँले दिएको आँट हामीसंग छ ।
धेरैले कार्यक्रममा उहाँलाई प्रमुख अतिथि विशेष अतिथि बोलाउँथे । भ्याएसम्म पुग्नु हुन्थ्यो । उहाँ हिंडिरहने भएपछि म कार्यालयमै बसिरहन्थें काम गरेर । दुई जनै हिंड्दा काम अवरुद्ध हुन्थ्यो । सामाजिक संघसंस्थामा संलग्नता र सक्रियता अत्यन्तै थियो । त्यही प्रेरणाले म पनि धेरै संघसंस्थामा आवद्ध भई क्रियाशील छु । उहाँलाई मधुमेह धेरै पहिले नै भएको हो । कार्यक्रममा जाँदा खाने समय नमिलेका कारण पनि उहाँको स्वास्थ्य धेरै विग्रियो । खानेकुरा भेटेको बेला मलाइ मधुमेह छ भनेर खासै केही बार्नुहुन्नथ्यो । घरमा भने गुरुआमा सावित्राले उहाँको खानपिनमा अति नै ख्याल गर्नुहुन्थ्यो । गुरुआमालाई पनि मधुमेह छ । पत्रकारिता र समाज भनेपछि मदन सरले आफ्नो स्वास्थ्यको ख्याल कहिल्यै गर्नुभएन । ०७२को दशैंताका देखि नै उहाँ हस्पिटल बस्नुभो । त्यतिबेला बाटै बढेको रोगले उहाँलाई लिएर गयो । धेरै बर्ष पहिले नै उहाँलाई धरान घोपामा विरामी भएर अन्तिम अवस्थामा उपचार गराउँदा सबैले माया मारेका थिए । तर, उहाँको उच्च मनोबल, आत्मविश्वासले फर्कनुभएको थियो ।
१५ गते बुधबार उहाँ अचानक गम्भीर अस्वस्थ हुनुभो । विर्तासिटी हस्पिटलमा भर्ना गरियो । केही क्षणमै भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आयो । रुवावासी चल्यो । चिकित्सक हारिसकेका थिए । हामी हस्पिटल परिसरमा थियौं । झण्डै ४५ मिनेट कृतिम श्वास दिएपछि उहाँ फिर्नुभयो । भेन्टिलेटरसहित आईसीयूमा राखियो । त्यहीबेला मदन सरका अत्यन्त निकट हाम्रा पनि अग्रज बेदप्रकाश अग्रवालले ज्योतिषिले भनेको कुरा स्मरण गराउनुभयो (‘बुबा परशुरामलाई ज्योतिषीले भनेका छन् तपाईको अन्त्येष्टि कार्यमा एक जना छोरा हुँदैनन् ।’ काइँला भरत अल्पायुमै वित्नु ज्योतिषीको भविष्यवाणी मिलेको ठानियो । तर, अहिले ज्योतिषी पनि फेल भए, भविष्यवाणी गलत सावित भयो । परिवारका सदस्य बाहेक हस्पिटलका अध्यक्ष गोपालकुमार बस्नेत र मैले आईसीयूमा भेटेका थियौं मदन सरलाई । आईसीयूमा भेट्न नमिल्ने भएपछि म हस्पिटल गएको थिइनँ । तर, मदन सरले सावित्रा गुरुआमा, छोरा सृजन, अरुलाई पनि एकराजसँग भेट्नु छ, बोलाई दिनु भन्नुभएछ । हस्पिटलमा निक्कै बेरको प्रतीक्षा र आग्रहपछि बल्ल आईसीयूमा उहाँलाई भेट्न पाएँ । जीवनप्रति निराश जस्तो पाएँ । तर पीडा लुकाएर मुस्कुराएर के छ भाइ, के गर्दैछौं, म त थला परें भनुभयो । मैले केही हुँदैन सर, चिन्ता नगर्नु भनेर मनोबल बढाउने प्रयास गरें । पत्रिका र पत्रकारिताकै बारेमा कुरा भयो । म बाहिरिएँ । क्रमश पहिलेभन्दा अवस्था निक्कै सुध्रिएको थियो । १५ गते बुधबार अवस्थाको तुलनामा मलाई उहाँको जीवन फर्कने पूरै आश थियो । मंसीर १८ गते नै म एउटा मिशनको लागि पश्चिम नेपाल जाने कार्यक्रम थियो । मदन सरको अवस्थाले गर्दा रद्द गरें । पछि अवस्था सुध्रिएपछि, भेट र कुराकानी भएपछि २२ गते लागें पश्चिम । त्यही बेला उहाँले झुक्याउनुभयो । म दाङ घोराही थिएँ, बिहान ३ बजे भाइ सुरेन्द्रको एसएमएस आयो –‘दाजु, मदन सर वित्नुभयो’ भनेर । मैले केही सोच्न सकिन, सँगै कोठामा रहेका मित्र दीपेन्द्र भट्टराईलाई नि यो समाचार सुनाउन मैले सकिन । १ घण्टापछि मात्र उहाँलाई भनें । उहाँको भौतिक शरीरलाई भेटन आउन खोजें – नेपालगञ्जबाट काठमाडौं, अनि काठमाडौंबाट भद्रपुरको लागि । तर, त्यही बेला बढेको शितलहरले नेपालगञ्जबाट जहाज चढ्न सम्भव थिएन । यस करारण म उहाँको महायात्रामा अनुपस्थित रहें ।
सादा जीवन र उच्च विचारका मदन सरको बारेमा जति नै चर्चा गरे पनि कम हुन्छ । उहाँको भौतिक अनुपस्थिति हामीलाई सदैव खड्किनेछ । अग्रज पत्रकार चन्द्र भण्डारी भन्नुहुन्छ – ‘मदन ढकाल व्यक्ति होइन संस्था हो, आज संस्था ढलेको छ ।’ मदन सर हामी सबैको साझा सम्पत्ति हो । समाजको सम्पत्ति, देशको गहना हो । उहाँमा ज्ञानको विशाल सागर थियो । देश विदेश भ्रमणका अनुभव, पत्रकारिता, साहित्य, शिक्षण, समाजसेवा धेरै क्षेत्रको अनुभव र ती क्षेत्रमा राम्रो प्रभाव थियो उहाँको । प्रशासक, राजनीतिज्ञहरु डराउँथे उहाँसँग । त्यो आँट र क्षमता थियो मदन सरसँग । पूर्वाञ्चल दैनिक झापाली पत्रकारिताको विश्वविद्यालय हो । त्यो विश्वविद्यालयको भिष्मपिता नै हुनुहुन्थ्यो मदन सर । जहाँबाट पत्रकारिताका कुशल विद्यार्थी जन्मिएका छन् । आज स्थानीय मात्र होइन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यही विश्वविद्यालयका विद्यार्थी उत्कृष्ट पत्रकारको रुपमा उभिएका छन् । उहाँले देखाएको बाटोमा हामी विचलित अघि बढ्नेछौं । पत्रकारितामा मदन सरले बाल्नुभएको निष्ठाको दीप निभ्न दिने छैनौं । मदन सरलाई ज्यूँदो राख्न पूर्वाञ्चल दैनिक उहाँको परिवार र अन्य शुभचिन्तकसँग सहकार्य गरेर अघि बढ्नेछ । मदन सर, हामी तपाईंलाई सँधै ज्यूँदो देख्न चाहन्छौं र राख्नेछौं । १२औं दिनको पूर्वाञ्चल दैनिक तपाईंमा समर्पण गर्दै श्रद्धसुमन चढाउँदछौं । अलविदा मदन सर ।
नामः मदनकुमार ढकाल
प्रचलित नाम तथा उपनामः मदन ढकाल, गाजले बाजे, कुलावंशी साहित्यालंकार, एम उपमन्यू
जन्मः २००९ साल जेठ १९ गते आइतवार
जन्मस्थानः तत्कालीन अनारमनी–१,
राइटर गाउँ, खोपवाडी, झापा
हालको ठेगानाः बिर्तामोड–१ अतिथि सदन टोल, झापा
माताः तुलसादेवी ढकाल (स्व.)
पिताः परशुराम ढकाल
शिक्षा ः एमए(नेपाली)
विवाहः २०३२ साल
श्रीमतीः सावित्रा खनाल ढकाल
भाषा ज्ञान ः नेपाली, हिन्दी, अंग्रेजी, मैथिली, बंगाली, राजवंशी
सेवा÷अनुभव ः २०२४ सालदेखि साहित्यिक पत्रिकाको सम्पादन, २०६८ सालदेखि प्रावि– क्याम्पस तहसम्म अध्यापन (१९ बर्ष), २०२८ सालदेखि विवेचना अर्धसाप्ताहिकको दार्जीलिङ प्रतिनिधि भई पत्रकारितामा संलग्न
प्रकाशोन्मुख कृति ः कविता संग्रह –१, कथा संग्रह–१, सिके प्रसाई(भरत बाबुको स्मृति यात्रा),
अन्तिम घडीको संलग्नताः पूर्वाञ्चल दैनिक प्रधान सम्पादक, नेपाल पत्रकार महासंघ केन्द्रीय सभासद्, योगिनरहरिनाथ अन्तर्राष्ट्रिय परिषद् महासचिव, सिके चिन्तन प्रतिष्ठान सदस्य ।
स्वर्गारोहणः २०७३ मंसीर २३ गते राति ११ः४० बजे विहीवार
परिवारः श्रीमती, एक छोराबुहारी, चार छोरीज्वाइँ

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more