गाँउमा जंगली शहरमा उच्च रक्तचाप

प्रकाशित मिति :2016-12-26 14:57:05

 [हेमन्त क्षितिज]

काठमाण्डुबाट आमा धेरैदिनमा फर्कनुभयो । साना केटाकेटीहरु त्यसै न्यास्रिसकेका थिए । आमा आउने दिन पर्खिएर म पनि थाक्दैथिएँ । आमा टुप्लुक्क देखापर्नु भयो –आँगनमा । साँझ पर्नै लागेको थियो ।

आमाको साथमा एउटा नयाँ ब्याग पनि थियो । साना मसिनाहरु आमासँग झुम्मिएर लाडिए, मैले आमाको ब्याग समाएँ । ब्यागभित्र सानो सीसाको डब्बा थियो – ‘आमा यो के हो ?’ आमा भन्दै हुनुहुन्थ्यो- ‘गार्डेनल –मलाई डाक्टरले दिएको । शिशिरको कोठामै जंगलीले भेट्टायो। म त बेहोस भएँछु – होसमा आउँदा अस्पतालको ओछ्यानमा थिएँ । शिशिरले डाक्टरकोमा पुर्‍याएछ । मलाई उच्च रक्तचाप भएको भन्दै डाक्टरले दिएको दवाई हो यो’।

हामी सानै थियौँ । आमा भन्ने गर्नुहुन्थ्यो – दश वर्ष भयो यसरी बिरामले छुने गरेको । दुइ तीन दिनसम्म बेहोसीपनामा रहनुहुन्थ्यो । हाम्रो गाउँ अलि दुर्गम थियो – शान्तिनगर । धामी, बोक्सी, पिशाच, देवाको बढी नै प्रकोप थियो त्यहाँ । आमाको बाक्लै मुर्छा हामी धामीलाई सुनाउँथ्यौँ । धामीबा ले  जंगली, बुढीबजुनी लागेको छ भन्नुहुन्थ्यो -जोखाना हेर्दा छट्टै देख्नुहुन्थ्यो । बोक्सीको घर र लुगाको रंग पनि बताउने । त्यति मात्र कहाँ हो र ? बिरामीको मुखबाट बोक्सीको आवाज पनि निकाल्ने ।

बिरामीले बोक्सी बकेन भने बिरामीलाई सिस्नोपानी लाउने चलन थियो । हाम्रो त मन नै जिरिंग हुन्थ्यो । कत्रो विश्वास ? बुवाहरु पनि उस्तै पत्याउनुहुन्थ्यो । आमा त दुइ तीन दिनसम्न वेहोश- इन्तु न चिन्तु । अब घरमा ठुलै धामी राख्नुपर्ने भएको सम्झिन्छु । बा कै हैरानी – धेरैथोक जुटाउनुपर्ने । आमा ढलेपछि भाइबैनीहरु र मेरो तोज हैरानी । आमा बौरिने नामै लिनुहुन्न । धामीबा ले अह्राएका छन् बा लाई – कोइला बनाउन, दुम्सीको काँडो खोज्न, मसानघाटको अँगार ल्याउन । हामी केटाकेटीहरु लोलाएको अनुहारले धामी पर्खन्छौँ । अलि अबेर गरेर साँझ कालो भएपछि धामीबा आउनुहुन्छ ।

साविक लुगा खोलेर भोटो, जामा, पगरी, जातजातका लामा र छोटा माला लगाउनुहुन्छ । हामी चाख मानेर चनाखो हुन्छौँ । पगरीमा मुजुर र कुखुराको एकमुठो प्वाँख सिउरिनुहुन्छ । धामीबालाई म महाराजा जस्तै देख्छु । आमा निको हुने आशमा सिकुवाको डिलमा फुलेका फूल छामछुम पारेर टिप्छु र काँसको थालमा चामल सँगै चढाउँछु । बा घुँडा जोतेर कोइला निकाल्नुहुन्छ र आँगनको माझमा बनाएको चारपाटे खाल्डामा खन्याउनुहुन्छ । कोइलाको रापमा मसिना नानी रमाउँछन् । अब धामीबा लाई कलश पनि चाहिन्छ ।

कलश बनाउन मलाई आउँथ्यो ।  धामीबा ‘ए….. बुढी बजु महारानी चारैदिशा डुलीहिँड्ने, डुलीखाने….’ भन्दै मीठोस्वरमा गाउनुहुन्थ्यो । बेला बेला अक्षता आमातिर फ्याँक्दै बेला बेला धामीबाले कसलाई सम्वोधन गर्नुहुन्थ्यो होला ? ‘तिमी महारानी’ पनि भन्नुहुन्थ्यो । मेरो ध्यान आमा हलचल गर्नुहोला कि नहोला कि मा केन्द्रित हुन्थ्यो ।सानाहरु धामीले फ्याँकेको अक्षताले आँफुलाई छुन्छ कि भनेर डराउँथे । अघि नै धामीबा ले भन्नुभएको थियो – ‘अक्षताले छोयो भने जंगली आँफुमा आउँछ रे’।

विचित्र लाग्थ्यो आमालाई निको पार्ने दिन । बाक्लै थुपारेका झरिला कोइलामा धामीबा खाली खुट्टाले उफ्रिनुहुन्थ्यो । हाँकुर… हाँकुर ..आवाज निकालेर । मेरो पनि सातो जान्थ्यो । मसिनाहरु डराएर मेरै छेउमा झुरुप्प बटुलिन्थे । जात्रा हेरेजस्तै गाउँ नै भेला हुन्थ्यो । तर आमालाई बीसको उन्नाइस हुँदैनथ्यो । आमा बल्ल बल्ल चार पाँचदिनमा विस्तारै तङ्ग्रिनु हुन्थ्यो । तब धामीबा टुप्लुक्क आएर जंगली लाग्दा खान नहुने कुराहरु सम्झाउनुहुन्थ्यो । करेला, अदुवा, मासु इत्यादि ।

खसी बाख्रा पाल्न नहुने, खसीले फेरेको सास आफ्नो सासमा मिसियो भने जंगली कहिल्यै निको नहुने कुरा धामीबा ले नै आमालाई भन्नुभएको थियो । अनि त आमाले टाट्नाभरीका खसी-बाख्रा बेचिदिनु भएको थियो । मेरो टाटेखसी पनि त्यसै हुलमा मिसिँदा म धेरैबेर रोएकी थिएँ । तर आजभोली मेरो गाउँमा त्यस्तो अन्धविश्वास छैन । गाउँका सबै भाइबैनीहरु पढेर बुझ्ने भएका छन् ।

स्वास्थ्यसम्बन्धी चेतनाको स्तर राम्रो छ । स्वास्थ्य चौकी खुलेको छ, जहाँ प्रेसर र सुगरको जाँच हुन्छ । जनचेतना जगरुक भइसकेको छ । रिँगटा लाग्नु, मुर्छा पर्नु उच्च रक्तचापको कारणले हुनसक्छ । जंगली होइन भनेर भन्न सक्ने हुनुभएको छ बुवा र धामीबा हरु । शान्तिनगर गाविसमा निर्माण भएको यो स्वास्थ्य चौकी अन्धविश्वास हटाउन कोशेढुंगा सावित भएको छ ।

जसले गर्दा गाउँमा कुमालेको पिशाच, जंगली, देवा र शिकारीजस्ता रोगहरुको पहिचान परिवर्तन भएको छ । अप्ठ्यारो व्यवहार, साँघुरो सामाजिक संरचना, धेरैवटा बालबच्चाहरुको चटारोको तनावबाट उब्जिने यस्ता रोगहरु अहिले गाउँभरी हाइ ब्लडप्रेसरको नाउँले चिनिएको छ । अधिकांश बुवा आमाहरु आफ्नो रक्तचाप नापेर बढे घटेमा सचेत हुन थाल्नुभएको छ । नियमित औषधीको सेवनले आमासँग भएको कथित जंगली रोग पनि हराएर गएको छ ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more
ताजा अपडेट