माओ त्सेतुङ, सुखानीमा हत्या र म

प्रकाशित मिति :2016-12-27 12:55:53

Narendra raj prasai

नरेन्द्रराज प्रसाई
~~~

आठराई ताप्लेजुङमा हाम्रा छातीमा माओ त्सेतुङको बिल्ला सिउरेर मात्र हामी स्कुल जान्थ्यौं।

अनि हाम्रा नेता नन्दकुमार प्रसाई थिए । साथै मदन भण्डारीका राजनीतिक गुरू पनि नन्दकुमार दाइ नै हुन् ।

२०२६ सालमा ताप्लेजुङको हाङपाङबाट झापाको शनिश्चरेस्थित सालबारीमा हामी बसाइँ सर्यौं । त्यसपछि हाम्रा नेता शिवप्रसाद शिवाकोटी र रामनाथ दाहाल भए । झापा आन्दोलनमा हामीलाई सुरूमा नै प्रवेश गराउने पनि उनीहरू दुबै थिए । शिव दाइ मेरी ठुलेमाका छोरा र राम दाइ सानीमाका छोरा हुन्।

झापाको तालिममा हाम्रो एउटा हातमा रेडबुक र अर्का हातमा हाम्रै उचाईको डण्डी हुन्थ्यो।
~
२०२७ सालको मङ्सिर महिनामा झापाको सालबारीमा शिवप्रसाद शिवाकोटीका साला खड्ग दाहाल र म प्रहरीसँगको लाठी मुङ्ग्रीमा परेका थियौं। त्यतिखेर हामीलाई शिव दाइले जे निर्देश गर्थे हामी त्यही काम गरेर धन्यवादका पात्र बनिरहन्थ्यौं।

प्रहरी आतङ्कले म झापामा अटाउन सकिन। एक डेड वर्षको सङ्घर्ष खेपेर १६ वर्षको उमेरमा २०२८ माघ ६ गते म काठमाडौं आएँ । अनि त्यसपछि म राजा महेन्द्रको प्रभावका कारण राजसंस्थाको जय मनाउन लागेछु । वास्तवमा माओका धेरै विचार महेन्द्रसँग पनि मिल्दा रहेछन्। त्यसपछि जुन दल सत्तामा आयो त्यतै जाने हिसावमा मैले आफूलाई उभ्याउन पनि चाहिंन ।

दुर्योधनसँगको वाचामा बाँधिंदा कर्ण दुर्योधनकै दलमा समर्पित भएजस्तै म पनि हरपल राजावादी नै भएको छु । मैले मेरो मनको त्यो सैद्धान्तिक वाचामा कहिले घात गरेकै छैन। राजा ज्ञानेन्द्रले राजदरबारबाट भौतिक गुन्टा कसे पनि मेरो मनले राजा इतरको सिद्धान्तले कहिले गुन्टा कसेन। अनि मलाई राजावादी भएकोमा फिटिक्कै ग्लानी पनि छैन । किनभने नेपालको राष्ट्रिय एकताको शक्ति भनेकै राजसंस्था मात्र हो।

तर मलाई निष्ठावादी जनवादीहरु पनि खुबै मन पर्छन् ।
~
२०२९ साल फागुन २० गतेको कुरा हो। झापा जेलबाट इलाम जेल सार्ने बहानामा शनिश्चरे बजारको बाटोबाट बेलुका ४ बजेतिर रामनाथ दाहाल, वीरेन राजवङ्शी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पुलिसले डोर्याएर लगिरहेका थिए। त्यस बेला उनीहरूका हात बाँधिएका थिए। पाराखोपीको पुलमा हिंडिरहेको अवस्थामा मैले अपर्झट त्यो दृश्य देखें । त्यसै घडी राम दाइ रमेरा आँखा जुद्न गयो। त्यस बखत हामी एकअर्कालाई केही सेकेन्ड टुलुटुलु हेरिरहेका थियौं। २१ गते बिहानै हामीले थाहा पायौं- उनीहरूलाई सुखानी जङ्गलमा पुर्याएर तड्पाई तड्पाई पुलिसले गोली ठोकेर मारेछन्।

अर्थात् २०२९ साल फागुन २१ गते बिहानको सूर्योदयसँगै मेरा दाजु रामनाथ दाहाललाई इलाम जाने मुलबाटैको सुखानीको जङ्गलमा गोली हानेर मारिएको थियो । त्यति खेर मैले त्यो दृश्य पनि सुखानीमा नै पुगेर हेरेको थिएँ ।विष्णुभक्त प्रसाईको पछि लागेर जाँदा म‌ैले त्यो अकल्पनीय र हृदयविदारक दृश्य देखेको थिएँ।

विष्णुभक्त प्रसाई भन्नु २०१६ सालमा आठराई भेगमा प्रथम पटक कम्युनिष्टको झण्डा गाड्ने साहसी व्यक्ति अर्थात् मेरा ठुल्दाजुको नाउँ हो । अनि त्यसै बेला मेरा ठुल्दाजुकै नेतृत्वमा नन्दकुमार प्रसाईहरूको हुद्धा सामेल थियो।

वास्तवमा मेरा ठुल्दाजुकै बुताको कारण जोडिएर म सुखानीको रक्तकुण्डमा पनि पुगेको थिएँ। अनि त्यो डरलाग्दो इतिहास त्यसै दिन मैले मेरो डायरीमा कोरेको थिएँ।

Mao

हामी सुखानी पुग्नुअघि घटनास्थलमा मान्छेलाई हि‌ड्न पुलिसले प्रतिबन्ध लगाएको रहेछ । तर घटनास्थल वारी र पारीमान्छेको कुँडुलो थियो । एकातिर त्यो इलाम झापाको मुलबाटो थियो र अर्कातिर पाँच जनालाई गोली ठोकेर मारेको समाचारले त्यो क्षेत्रमा कोलाहल मच्चिसकेको थियो। मेची अञ्चलका एस्पी पदमबहादुर मानन्धर पुगिसकेपछि मात्र त्यहाँ बाटो हिंड्नेका लागि निषेध हटाइएको थियो। अनि त्यो कहालीलाग्दो ठाउँमा मान्छेहरुको भिड बड्ने क्रम जारी हुने नै भयो । त्यति बेला एउटा प्रहरी आएर एस्पी पदमबहादुर समक्ष भन्दै थियो- “रामनाथले ‘माओवाद’ भनेर जोडले करायो, अरुले जिन्दावाद भने ।” अनि एस्पी मानन्धरले त्यसै बेला कड्केर पुलिसलाई भनेका थिए- “नबोल्, चुप लाग्”!

रामनाथ दाइ भूइँमा सुतिरहेका थिए । त्यहाँ मारिएका अरु कमरेडहरुको मृत शरीर पनि त्यस्तै विभत्स, दर्दनाक रहेरिनसक्नुको थियो । त्यो ठाउँ कतै रगतको दह, रक्ताम्मे र रगतकै टाटैटाटाले ढाकिएको थियो ।

रामनाथ दाइका कम्मरमा चाहिं झन्नै २० फुटको लामो डोरीले बाँधिएको थियो । अरूहरूका पनि कसैका खुट्टा र कसैका कम्मरमा त्यस्तै लामालामा डोरीले बाँधिएको थियो ।

रामनाथ दाइका छातीमा गोलीका तीन वटा ठूलाठूला दुला परेका थिए । उनलाई गोली हान्दा उनी यताउती दौडिएका थिए,शायद ! किनभने उनी ढलेको ओरिपरीका रुखविरुवाका बुटा सोत्तर झैं माडिएका थिए । सबै क्रान्तिकारीहरुलाई ८ देखि १० फुटसम्मको हाराहारीमा बाँधिएको थियो । उनीहरु बाँधिएका ओरिपरी सबैतिरका बुटा र झारहरु माडिएका थिए। त्यहाँ कसैकाटाउकामा गोली हानिएको थियो, कसैका भूँडीमा र कसैको लिङ्गमा नै गोली लागेको थियो । एक जना कमरेडको टाउकाको खबेटा उछिट्टिएर दस फिट टाडा पुगेको थियो । एक जनाको भूँडी फोरिएर छ्यालव्याल भएको थियो।

वास्तवमा त्यो दृश्य हेरेर रुँदै म त्यस साँझ घर पर्केको थिएँ। अनि सबै बेलिविस्तार मेरी आमालाई सुनाएँ र मैले आमालाई पनि मसँगसँगै रूवाएको थिएँ।
~
मेरा दाजु नन्दकुमार प्रसाईको उत्साह, प्रोत्साहन र प्रेरणाले १० वर्षकै उमेरदेखि माओ त्सेतुङको बिल्ला लगाएर मैले स्कुल जाने गरेको थिएँ । त्यो बिल्ला मैले २०२८ सालमा मेरा छातीबाट खोलें । तर आजसम्म पनि मेरो घरको बैठकमा माओ त्सेतुङको एउटा सानो ढलोटको सालिक चाहिं मौजुद छ । मेरो बाल्य र किशोर अवस्थाका नायक माओ त्सेतुङ मेरा आदर्श हुन् । वास्तवमा यस पृथ्वीमा महेन्द्र र माओलाई मात्र मैले मेरो आदर्श पुरूष मानेको छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।

मृगौला जोगाउने हो भने यी १० काम गर्दै नगर्नुस्

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा

Read more