Aamsanchar

मोरङमा गाडीभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

Author Image
मङ्गलवार, जेठ २५, २०७८

विराटनगर- विराटनगर महानगरपालिका-३ मा सरकारी गाडीभित्र मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बेहोस अवस्थामा भेटिएका थिए। बेहोस अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले ढकाललाई मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्र चालकलाई बेहोस अवस्थामा फेला पारिएको हो।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए।’ उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। कोरोना भाइरस संक्रमणको आशंकामा मृतकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।

मृतक ढकाल विराटनगर महानगरपालिका-३ पुष्पलाल चोकमा डेरा बस्थे। डेराबाट गाडी लिएर विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खवर आएको र पछि मृत्यु भएपछि आफूले भेटेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकालले जानकारी दिए।

प्रहरीका अनुसार मन्त्रालयबाट कार्यालय प्रमुख ढकाललाई लिएर सुनसरीतर्फ जानका लागि चालक बिहान १० नबज्दै गाडी लिएर डेराबाट निस्किएका थिए । ‘डेराबाट मलाई लिनका लागि बिहान १० बजे नै मन्त्रालयको क्वार्टरमा आउनुपर्ने चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो। बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ प्रमुख ढकालले भने, ‘आफन्त र परिवारका सदस्यसँग पनि सम्पर्क हुन सकेन। पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो।’

स्थानीय बासिन्दाका अनुसार चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो। सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।

राईले मृतकको शवको पोस्टमार्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत विवरण प्राप्त हुने जानकारी दिए। अस्पतालले भने गाडीका सिसाहरु बन्द गरिएका कारण अक्सिजनको आपूर्ति रोकिएर सास फेर्न नसक्दा चालकको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर