Aamsanchar

जसपा, काँग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यको सहमति

Author Image
बुधवार, जेठ २६, २०७८

जनकपुरधाम : प्रदेश २ को सरकार पुनर्गठनको सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्यको सहमति भएको छ। जसपाको लालबाबु राउत नेतृत्वमा रहेको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ।

जसपाको महन्थ ठाकुर– राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि रुष्ट भएको उपेन्द्र यादव प्रदेश २ को सत्ता समीकरणको लागि विगत तीन दिन देखि कसरत गर्दैछन्। जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग छलफलमा छन्।

सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय विभिन्न चरणमा कांग्रेस र माओवादी संग छलफल गरेका छन्।

जसपा उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीन जना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्न लागेको छ। कांग्रेस र माओवादी सत्ता साझेदारीका लागि सकारात्मक भए पनि मन्त्रालय बाँडफाँटमा कुरा मिलारहेको थिएन।  साँझ भएको छलफलपछि सहमति भएको बुझिएको छ।

 सहमतिअनुसार कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन्। जसअनुसार अहिले प्रदेश २ सरकारमा भएको ६ वटा मन्त्रालयलाई टुक्रयाएर १० वटा मन्त्रालय बनाइँदै छ। त्यसमध्ये पाँच वटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीन वटा कांग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको जसपा नेपाल प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी गराए।

दलहरूबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाउने तयारी गरेका हुन्। अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छ।

महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई हटाउँदा भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्रीविहीन छन्। बर्खास्त गरिएका अरु राज्यमन्त्री थिए। अब कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्रयाएर १० वटा पुर्‍याउने तयारी छ। जसपा सांसद रामआशीष यादवका अनुसार सामाजिक विकासलाई टुक्रयाएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर नयाँ सञ्चार मन्त्रालय बनाउने तयारी छ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारले तयारी गरेको छ। सत्ता साझेदारीको सन्दर्भमा छलफल गर्न बनेको सरकारी र कांग्रेसका कार्यदल बीच भोलि (बुधबार) बिहान बैठक बसी अन्तिम टुंगो लगाई सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भएको छ।

आज बिहान सम्झौतामा दुबै पक्षको हस्ताक्षर भए साँझमा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ। स्रोतका अनुसार कांग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)