Aamsanchar

देउवाले आजै विश्वासको मत लिने

Author Image
आइतवार, साउन ३, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन्। यद्यपीस संसद्‌ सचिवालयले सो को कार्यसूची भने सार्वजनिक गरिसकेको छैन। देउवालाई सदनमा विश्वासको मत दिलाउन नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधूप निकै बढाएका छन्‌। उनले हिजो नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए।

एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि देउवाले आजै विश्वासको मत लिन लागेको भन्दै व्यंग्यात्मक ट्वीट गरेका छन्। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्ति पाएको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका उनीनिकट व्यक्तिहरूले जानकारी दिएका छन्‌। पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज अपरान्ह चार बजे बस्दै छ।

सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन्‌। सरकार गठनको अन्तिम संवैधानिक विकल्पबाट देउवा प्रधानमन्त्री बनेका हुन्‌। अब उनले विश्वासको मत नपाए प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्नसक्ने संवैधानिक व्यवस्था छ।

आन्तरिक विवादबीच एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ। बहुमत सांसदबाट विश्वासको मत पाए देउवाले प्रतिनिधि सभाको पूरा कार्यकालभर सरकारको नेतृत्व गर्न पाउनेछन्। प्रधानमन्त्री पदमा देउवाले बाँकी डेढ वर्ष निरन्तरता पाउनेछन्। त्यसपछि चुनाव स्वतः हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर