Aamsanchar

हातपात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता,मेची अस्पतालका चिकित्सक ६ घण्टापछी फर्किए काममा

Author Image
सोमवार, साउन ४, २०७८

 झापा – मेची अस्पताल भद्रपुरका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । डाक्टरमाथि हातपात गर्नेलाई कानुनी कारबाहीको माग गर्दै अस्पतालका चिकित्सकहरू विरोधमा उत्रिएपछि आकस्मिकबाहेक सबै सेवा ठप्प बनेको थियो । चिकित्सकहरूले सेवा ठप्प पारेपछि सोमबार ओपिडी सेवा बन्द भयो । अस्पताल पुगेका बिरामीहरू त्यतिकै घर फर्किन बाध्य भए । हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म काममा नफर्किने चिकित्सकहरूको अडान थियो ।
अस्पतालको सेवा ठप्प बनेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र चिकित्सकहरूबिच छलफल भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा डाक्टरमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले प्रतिबद्धता जनाएपछि चिकित्सकहरूले विरोधका सबै कार्यक्रम फिर्ता लिएको अस्पतालका मेसु डा। टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए ।

चिकित्सकहरू पुनः अस्पतालको कामकाजमा फर्किसकेको अस्पतालका मेसु डा. बाह्रकोटीले बताए । सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा ठप्प भएको उनको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले प्रहरीमा जाहेरी दिएपछि हातपात गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई जानकारी गराइसकेको बताए । आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए ।

आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबिच उपचारकै विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा दुवै पक्षबिच हात हालाहाल भएको सिसी क्यामेराले खिचेको फुटेजमा देखिन्छ । डाक्टरमाथि बिरामीको आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका थिए । घटनाको विषयलाई लिएर अस्पताल प्रशासनले विरोधमा उत्रिएका चिकित्सकहरूसँग छलफल गरेका थिए ।

यता बिरामीका आफन्त निरौलाले भनाभनका क्रममा डा. केवलले आफूलाई ‘खाते’ भनेकाले हात हालेको स्वीकार गरेका छन् । ‘श्रीमतीलाई सन्चो नभएपछि उपचारका लागि मेची अस्पताल लगिएको हो । ‘आकस्मिक कक्षमा डाक्टर थिएनन्, डा। कपुरी ४५ मिनेटपछि आए, निरौलाले भने‚ ‘त्यही विषयलाई लिएर डाक्टर कपुरीसँग केही भनाभन भयो, भनाभनकै क्रममा उनले मलाई खाते भनेपछि मैले नै सुरुमा हात हालेको हो । त्यसपछि डाक्टरले पनि मलाई हात हाले ।’ डाक्टरको कुटाइबाट नाकमा गम्भीर चोट लागेको उनको भनाई छ । निरौलाले अस्पतालभित्र डाक्टरमाथि हात हाल्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

अस्पताल प्रशासनले दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए । ‘हातपात गर्ने निरौला समेत घाइते भएको र उनको ओमसाईमा उपचार भइरहेको जानकारी आएको छ, घटनास्थलको सिसी क्यामेराको फुटेज पनि हेरियो,’ डिएसपी थापाले भने, ‘जाहेरीको आधारमा अब कानुनी कारबाहीको प्रक्रिया अघि बढ्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर