Aamsanchar

डिल्लीबजारमा रहेका गुन्डा नाइके अभिषेक गिरीको मोरङ कारागारमा सरुवा

Author Image
सोमवार, भदौ २१, २०७८

विराटनगर : अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई सरकारले पुनः जिल्ला कारागार मोरङ सरुवा गरेको छ। कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरेको खुलेपछि उनलाई लगभग साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । गिरी पुनः मोरङ आउने भएपछि कारागारभित्र खैलाबैला मच्चिएको छ । उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्न थालेका छन् । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो । 

कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप उनीमाथि छ । उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो ।

गिरीलाई डिल्ली बजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो । गिरी आएपछि राईको जिम्मेवारी खोसिने कारागारका एक कर्मचारीले बताए । ‘बदमासी गरेकाले गिरीलाई काठमाडौं पठाएर राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो,’ स्रोतले भन्यो, ‘तर राईले समेत कारागारभित्र गिरीभन्दा उधुम मच्चाइरहँदा पनि सम्बन्धित निकाय मौन छ ।’

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका राईको समूहले धेरै यातना दिने र कैदीबन्दीसँग मनपरी असुल्ने गरिरहेको एक कैदीले बताए । यो कुरा कारागारदेखि लिएर स्थानीय प्रशासनसम्मलाई जानकारी छ । तर राईले चलाइरहेको अवैध धन्दामा सरकार पक्ष सहयोगी बनिरहेको र नियन्त्रणका चासो नदिएको गुनासो कैदीबन्दीका आफन्तले गरेका छन् ।

राईकै स्थानान्तरणका लागि आवाज उठिरहेका बेला पुनः गिरीलाई मोरङ ल्याउन लागिएको हो । ‘अहिले राईको व्यवहार पनि त्यस्तै छ,’ एक कैदीले भने, ‘राईको समूहले कारगारभित्र दिने गरेको यातनाका कारण धेरै जनाको मृत्यु भइसकेको छ । त्यस्ता घटना गुपचुप भइरहँदा झन् गिरी नै आउने भइसकेपछि सबैले असुरक्षित महसुस गरिरहेका छौँ ।’ उनका अनुसार राईलाई हटाएर अर्कैलाई चौकीदार बनाउनुपर्ने माग भइरहेका बेला गुन्डा नाइके गिरीलाई ल्याएर कैदीबन्दीलाई थप असुरक्षित बनाउने काम भएको छ । 

चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ । कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको छ। अवैध कमाई सबैलाई बाँड्ने गरेपछि चौकीदारका सवालमा कसैले पनि बोल्न नसक्ने गुनासो कैदीबन्दीको छ । 

विराटनगर महानगरपालिका-११ घर भएका गिरी नेपाली कांग्रेसका नेताहरुको संरक्षणमा अपराध गर्दै आएका गुन्डा नाइके हुन् । छोटो समयमै अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको थियो । कैदीबन्दीलाई शोषण गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप अहिलेका चौकीदार राईमाथि पनि लागेको छ । 

मोरङ ल्याउन लगभग ५ महिनादेखि कांग्रेसका नेताहरुले लविङ गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि गिरीले पुनः मोरङ आउने अवसर पाएका छन् । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा उनलाई मोरङ पठाउने पक्का भएको हो । अभिषेक गिरीसँगै उनका टिमका अन्य तीन जनाको पनि विराटनगर सरुवा भएको छ । अपहरण मुद्दामै कैद भुक्तान गरिरहेका गिरीका सहयोगी राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि एकै पटक विराटनगरस्थित मोरङ कारागार सरुवा गरिएको हो। 

कारागार विभागका एक अधिकारीका अनुसार एउटा कारागारबाट स्थानान्तरण भइसकेका कैदीलाई पुनः सोही स्थानमा सरुवा गर्न मिल्ने कानुनी व्यवस्था छैन । गिरीको सवालमा कानुनी व्यवस्था र परम्पराविपरीत निर्णय भएको विभागका कर्मचारीको भनाइ छ ।  स्रोतका अनुसार गृहमन्त्री र कांग्रेस नेताको निर्देशन एवं दबाबमा उनले मोरङ आउन पाउने भएका हुन् । उनलाई संरक्षण दिइरहेका कांग्रेस नेताहरुकै आग्रहमा रकमको चलखेल गरेर चौकीदार बनाउन पुनः गिरीलाई मोरङ कारागार पठाउने निर्णय भएको गृह स्रोतले बताएकाे छ। 

‘गिरीलाई डिल्ली बजारबाट विराटनगरमा सरुवा गरिएको पत्र प्राप्त भएको छ,’ मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले भने, ‘कहिले ल्याइपु¥याइन्छ भन्ने यकिन चैँ भइसकेको छैन ।’ गिरीसहितको सरुवाका लागि कारागार व्यवस्थापन विभागको बन्दी प्रशासन शाखाले मोरङ कारागारलाई बोदार्थ दिएर डिल्ली बजारलाई पत्र पठाएको छ । 

चलानी नम्बर चलानी २८७ रहेको पत्रमा भनिएको छ ,‘त्यहाँ (डिल्लीबजार) कारागारमा रहेका तपशील बमोजिमका कैदीबन्दीहरुलाई निजको मुद्दासँग सम्बद्ध सबै कागजातसहित आवश्यक सुरक्षाका साथ कारागार कार्यालय मोरङमा स्थानान्तरण गर्नु गराउनु हुन साथै उक्त बन्दी बुझाउन ल्याएमा कारागार कार्यालय मोरङले बुझिलिन हुन समेत मिति २०७८ भदौ १७ गतेको निर्णय अनुसार अनुरोध छ ।’ पत्रमा शाखा अधिकृत सन्तोष लामिछानेको हस्ताक्षर छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गिरीको सरुवा मोरङ कारागारमा भएको पुष्टि गरेका छन्। ‘सरुवाको पत्र चैँ आएको छ,’ उनले भने, ‘तर गिरीलाई ल्याइसकिएको छैन ।’ 

गिरी लामो समयदेखि विराटनगरलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न थिए । अपहरण मुद्दामा दोषी ठहर भएपछि कैद काट्दै गरेका बेला कांग्रेसका नेताको संरक्षणमा कारागारभित्रैबाट आफ्नो धन्दा चलाउने गरेको पाइएपछि उनलाई मोरङबाट काठमाडौं पठाइएको थियो । 

२ सय ५० पुरुष र ५० महिला गरेर ३ सय कैदीबन्दीको क्षमता रहेको मोरङ कारागारमा अहिले ९ सय ५८ जना कैदीबन्दी छन् । जसमा तीन जना बालबालिका रहेको निमित्त जेलर पोखरेलले बताए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)