Aamsanchar

एकै घरका १८ सहित २३ जना पहिरोले पुरिएर बेपत्ता

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

बझाङ – बझाङको थलारा गाँउपालिका–४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। ,गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन्।

गगने सार्की रोजगारीका सिलसिलमा भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुशल रहेको बुझिएको छ। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भएर त्रिभुवन मावि महेन्द्रधारको भवनमा बसिरहेका छन्।

गाँउ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए। बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, प्रवाश सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, संजीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवास सार्की, विकास सार्की, एक जना नाम नखुलेका रहेका छन्।

यस्तै मदन सार्की (सरस्वती आवि पिपलगडाका शिक्षक)कलुदेवी सार्की र एलिसा सार्की गरी १८ जना छन्। यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की छन्। शिक्षक साउँदका अनुसार बिहान ४ बजे सुतेकै समयमा पहिरो आएको हो।

​‘केहिले भागेर ज्यान बचाए, कोही निदाएकै अवस्थामा पहिरोसँगै बेपत्ता भएका छन्’ साउँदले भने, ‘अहिले पानी रोकिएको छैन। प्रहरी चौकी मालुमेला, खोली र जिप्रकामा कुरा भइसकेको छ। तर घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण यहाँ पुग्न सकेका छैनन्।’

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए।

उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ। लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ। घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमबहादुर चन्दले घटनास्थलमा भर्खरै प्रहरीको टोली पुगेको बताए।

‘बाटो अवरुद्ध छ, संचार सम्पर्क पनि हुन सकेको छैन। घटनास्थल टाढा छ’ चन्दले भने, ‘पैदलै गएको प्रहरीको टोली भर्खरै पुगेको खबर आएको छ तर घटनाको एकिन विवरण पत्तालागेको छैन।’ उनले सो ठाउँमा अहिले पनि लेदो बगिरहेकोले प्रहरी टोली नजिक जान नसकेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर