Aamsanchar

सीके राउतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

काठमाण्डाै – नेपाल इन्जिनियर्स एसाेसिएशन, वाग्मती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।  आज शुक्रवार माइतीघरमा भएको विरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एसाेसिएशन, वाग्मती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहालगायतका कर्मचारीमाथि भएको दुर्व्यवहारकाे विराेधमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरूको महत्त्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देश र कानुनको धज्जी उडाएको बताउनुभयो । उहाँले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्नुभयो । उहाँले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुङ्गे युगमा फर्किएको भान हुन थालेको बताउनुभयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीहरूको महत्त्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिहरूले बुझ्न सक्नुभएन । अहिले कर्मचारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानुनको धज्जी उडेको छ, यो क्रियाकलापमा सामेल भएका सबै अराजक तत्त्वहरूप्रति म घोर निन्दा र भर्त्सना गर्दछु, कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको माग गर्दछु ।’

प्रदर्शनमा नेपाल इन्जिनियर एसाेसिएशन वाग्मती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको दुर्व्यवहार हिंस्रक भएको बताउनुभयो । उहाँले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नायिकेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यालय प्रमुखलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक सहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताउनुभयो । उहाँले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै घटनामा संलग्नलाई तीन दिनभित्र पक्राउ गर्न माग गर्नुभयो । उहाँले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।

अध्यक्ष बन्जाडेले तीन दिनभित्र अपराधमा संलग्न र नायिकेलाई कारबाही नगरे इन्जिनियरहरूको शक्ति देखाउने चेतावनी दिनुभयो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हिजाे बिहीवार जनकपुरमा रहेकाे खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरूले जनकपुर ८ मा रहेकाे बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्यवहार गरेका थिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर