Aamsanchar

घुमफिर गर्दै मकालु हिमाली क्षेत्र याङ्लेखर्क पुगेका इलामका एक व्यक्तिको मृत्यु

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता  नवीनराज राईका अनुसार मकालु आधार शिविर भ्रमणका लागि गएका घिमिरेको निमोनियाबाट ज्यान गएको हो । पर्यटक घिमिरे श्रीअन्तुमा शिक्षण पेसाका साथै होमस्टे सञ्चालन गरी बसेको एसपी राईले बताए । भ्रमणका क्रममा याङ्लेखर्कमा पुगेपछि अस्वस्थ बनेका घिमिरेलाई उपचारार्थ सदरमुकाम ल्याउँदै गर्दा गत मंगलबार उनको बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए ।

गत असोज २८ मा मृतक घिमिरेसहित उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र, छिमेकी मिलन ढकाल, मोरङको विराटनगर महानगरपालिका–४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभाको चैनपुर नगरपालिका–६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए । घटनाबारे प्रहरीले बिहीबार मात्र जानकारी पाएको हो । घटनास्थल सदरमुकाम खाँदबारी बाट ५ दिनको पैदलमा पर्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)