Aamsanchar

भारतीय फोटोग्राफर दुर्लभले भने , ‘नेपालको प्रचारका लागि सधैँ लागिरहनेछु’

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

काठमाडौं – भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीले नेपालको पर्यटन प्रचारका लागि आफू लागिरहने बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फोटो पत्रकार चौधरीले नेपालको पर्यटन प्रचारमा आफू सधैँ लागिरहने बताएका हुन् । खोटा मुद्राको कसुरमा पक्राउ परी एक वर्षको जेल सजाय काटेका चौधरीले उक्त घटनालाई केवल एक दुर्घटना भन्दै आफू जेल परे पनि नेपालीका हार्दिकतालाई सधैँ सम्झिरहने र माया गर्ने बताए । साथै नेपालको पर्यटन प्रचारका लागि आफू नेपाल आइरहने र काम गर्ने दोहोराए । भारतको कोलताका स्थायी ठेगाना भएका २४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटो, टाइम्स अफ इण्डिया लगायतका सञ्चारमाध्यममा काम गर्थे । यसअघि सन् २०१८ मा पनि नेपालको अन्नपूर्ण सर्किटको भ्रमण गरी यहाँका प्राकृतिक सुन्दरतालाई नेशनल जिओग्राफी लगायतका मिडियामा प्रकाशन समेत गरेका थिए ।

यद्यपि उच्च अदालतबाट सफाइ नपाए सर्वोच्च अदालतसम्म आएर आफूमाथि लागेको दाग मेटाउने उनले बताए ।

चौधरीले कानुनको सामान्य अज्ञानता र नेपाली सरकारी कर्मचारी तथा सीमामा कार्यरत कर्मचारीकै कमजोरीका आफूले एक वर्षको कैद सजाय भोग्नुपरेको गुनासो गरे । यद्यपि कानुनको जानकारी नहुँदैमा उन्मुक्ति नहुने भन्दै पहिले कानुन बुझ्नै पर्ने कुरा बताए ।

भिडियो बनाउन फेरि पनि नेपाल आउँछु 

पत्रकार भेटघाटका क्रममा फोटोग्राफर चौधरीले आफू जुन उद्देश्यबाट नेपाल आएको थिएँ त्यो उद्देश्य पूरा गर्न फेरि पनि आउने बताए । उनले भने, ‘म जुन उद्देश्यबाट नेपाल आएको थिएँ, त्यो उद्देश्यबाट विचलित छैन । म फेरि पनि सोही भ्लग तथा नेपालको प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न नेपाल आउने छु र पोखरा तथा घान्द्रुकमा पुगेर भिडियो बनाउने नै छु ।’

नेपालीको सहयोगी भावनाको सम्मान गर्छु

फोटो पत्रकार चौधरीले आफू नेपाल र नेपाली जनतालाई सधैँ माया गर्ने व्यक्ति भएको समेत बताए । चौधरीले भने, ‘म नेपाल, नेपाली जनता र यहाँको प्राकृतिक सुन्दरतालाई सधैँ माया गर्ने व्यक्ति हुँ । नेपालीहरूको सहयोगी भावनाको म सधैँ सम्मान गर्छु र फेरि फेरि पनि नेपालको पर्यटन विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने नै छु ।’

फोटो पत्रकार चौधरीले नेपाली सञ्चारमाध्यम र पर्यटन व्यवसायीलाई समेत धन्यवाद दिएका छन् । उनले भने, ‘मलाई एक वर्षभित्रै जेलबाट निकाल्न नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति कृतज्ञ छु । नेपाली फोटो पत्रकारहरूको संस्था राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) तथा त्यसका अध्यक्ष प्रदीपराज वन्त, मलाई प्रशासनिक र आर्थिक सहयोग गर्नुहुने पर्यटन व्यवसायी सुमन पाण्डे, भारतीय अभियान्ता राहुल बरुवा, मलाई कानुनी सहायता प्रदान गर्नुहुने वरिष्ठ अधिवक्ता अवधेश कुमार सिंह, अधिवक्ताहरू सुरज खत्री, शान्ता पाठक तथा भारतीय दूतावासलाई पनि धन्यवाद दिन चाहन्छु ।’

फेरि भेट्ने वाचा

फोटो पत्रकार चौधरीले नेपाली पत्रकारहरुसँग फेरि पनि आफ्नो भेट हुने प्रतिवद्धता जनाएका छन् । नेपालको प्राकृतिक सुन्दरता  तथा नेपालीहरूको अपनत्वको प्रचार गर्न आफू फेरि नेपाल आउने त्यतिबेला कुनै फोटो प्रदर्शनी हुन सक्ने बताएका छन् । साथै अदालतबाट पूर्ण सफाइ पाएपछि आफूहरूको पुनः भेट हुने चौधरीले बताए ।

आफ्नी आमाका साथ पत्रकार भेटघाटमा उपस्थित भएका चौधरीले आफू तत्कालका लागि आफ्नो देश भारत जाने र पछि फेरि नेपाल आउने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर