Aamsanchar

प्रहरीको बर्दीमा न्युरोडकाे सुनका गहना बनाउने कारखानामा लुटेरा समूह पुगे पछि…

Author Image
शुक्रवार, मंसिर ९, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका–१८ स्थित नरदेवीमा रहेको ५ तले भवनको पहिलो तलामा सुनका गहना बनाउने कारखाना छ । भारतीय नागरिकले सञ्चालन गरेको सो कारखानामा कात्तिक २९ मा ३ जना युवाहरु गए । तीमध्ये एकजनाले प्रहरी हवल्दारको बर्दी लगाएका थिए । पेस्तोल पनि भिरेका युवाहरुले भने–‘हामी प्रहरी हौं, हनुमानढोकाबाट आएको ।’ कारखाना सञ्चालकलाई उनीहरूले भने– ‘यहाँ बिल बिनाको सुनको काम हुने गरेको सूचना पाएका छौं ।’त्यसपछि उनीहरूले गहना बनाउन राखिएको करिब १० तोला सुन लिए । अनि भने– ‘तपाइँहरु बिलसहित हनुमानढोका प्रहरी कार्यालयमा आउनुहोला ।’ पहिले हनुमानढोका प्रहरी कार्यालय भनेर चिनिने जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय अहिले टेकुमा छ ।

गहना बनाउने कारखाना संचालकले न्यूरोडस्थित प्रहरी वृत जनसेवामा त्यसबारे जानकारी गराए । जनसेवामा पुगेपछि बल्ल थाहा भयो–‘सुन लिएर जानेहरू नक्कली प्रहरी रहेछन् ।’ सुन लुट्न गएका र उनीहरूलाई सहयोग गर्नेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका २६ वर्षीय सुमन राई, धनकुटाकै २८ वर्षका देविराज राई, धादिङ घर भएका कुमार विश्वकर्मा, धादिङकै ४० वर्षीय बेगबहादुर विश्वकर्मा र ३८ वर्षीया मनिला तामाङ छन् ।

धादिङको त्रिपरासुन्दरी गाउँपालिका घर भएका बेगबहादुर विकले काठमाडौंमा सुन पसल चलाएका छन् । लुटेकामध्ये २६ ग्राम सुन किनेर गालेको अवस्थामा उनको पसलबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहोराले  बताए ।लुटमा प्रयोग गरिएको पेस्तोल मनिला तामाङको डेरामा फेला परेका छ । लुट्न गएका एकजना युवकले सो पेस्तोल उनलाई राख्न दिएको अनुसन्धानबाट थाहा भएको छ । लुटेरा समूहका एकजना अझै फरार छन् । मनिलाको डेराबाट प्रहरीले लागुऔषध फेनारगन १९७ एम्पुल, डाइजेपाम १९७ एम्पुल र नुर्फिन १९७ एम्पुल बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर