उदयपुर : नेपाल पत्रकार महासंघ उदयपुर शाखाले रेडियो नेपालका जिल्ला संवाददाता गजेन्द्र राईको रिहाइको माग गरेको छ।
महासंघ उदयपुर शाखाले शनिबार प्रेस विज्ञप्ति जारी गरि प्रहरीले भिडियो रिपोर्ट प्रकाशन गरेकै भरमा पक्राउ पुर्जीबिना जबरजस्ती पक्राउ गरेको भन्दै उनकाे रिहाइको माग गरेको हो।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको रिपोर्टिङको बेला प्रहरीले मंसिर १० गते निगरानी पोष्ट अनलाइनका सञ्चालक समेत रहेका राईलाई दिउँसो अन्दाजी ४ बजे गाईघाट बजारको बिपीचोकबाट पक्राउ गरेको थियो।
‘समाचार लेखेको विषयमा पत्रकार राईलाई साइबर क्राइम मुद्दा दर्ता भएको छ,यो आफैँमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो,राईमाथिको मुद्दा नितान्त समाचार लेखेकै आधारमा भएको हुँदा राज्यले प्रेस जगतलाई हेर्न स्थापना गरेको अर्धन्यायिक निकाय प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोजी निष्कर्षमा पुर्याउनसमेत जोडदार माग गर्दछौँ,‘विज्ञप्तिमा भनिएको छ।