Aamsanchar

तीन दिनकी छोरी चारकोसे जंगलमा फाल्ने बाबुविरुद्ध म्याद थप

Author Image
मङ्गलवार, माघ १०, २०७९

धरान : तीन दिनकी नवजात शिशु (छोरी) फाल्ने बाबुविरुद्ध सुनसरी प्रहरीले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको  छ।

नवजात शिशुलाई सुनसरीको दुहबी नगरपालिका–१० का ३३ वर्षीय अमित चौधरी  र ३० वर्षकी उनकी श्रीमती बिन्दु चौधरीले बराहक्षेत्र नगरपालिका–२ को चारकोसे जंगलमा फालेका थिए। अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका–२ को चारकोसे जंगलमा लगेर फालेका थिए। जंगलमा गोठालाले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका थिए।

शिशु माघ ४ गते बीपी प्रतिष्ठानमै जन्मिएको चिकित्सकले बताएपश्चात् प्रहरीले शनिबार अमित र बिन्दालाई पक्राउ गरेको थियो। बिन्दालाई रिहा गरेसँगै शिशुलाई आमाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए। बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले नवजात शिशुलाई हत्या गर्ने उद्देश्यले जंगलमा फाल्ने बाबुलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने सुनसरी प्रहरीलाई धन्यवाद दिए। उनले जनप्रतिनिधि र प्रहरीले बेलैमा शिशुको उद्धार गरी ज्यान बचाउन सफल भएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)