Aamsanchar

चोरी भएको सीटी सफारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता

Author Image
शुक्रवार, माघ २०, २०७९

विराटनगर – विराटनगरको कोसी अस्पतालबाट चोरी भएको एउटा सीटी सफारी फेला पारेर ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

अस्पताल परिषरमा पार्किङ गरेर राखेको अवस्थामा प्रदेश १–०२–००३ ह २७२५ नम्बरको सफारी गत बुधबार दिउँसो १ बजेतिर चोरी भएको थियो।

तर, ब्याट्री गायव बनाइएको अवस्थामा भोलिपल्ट सफारी भेटियो। चोरी भएको सफारी बेवारिसे अवस्थामा बिहीबार साँझ ७ बजेतिर फेला पारिएको जानकारी मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले दिए।

खोजतलासका क्रममा सफारी फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको उनले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) यज्ञराज शर्माले शुक्रबार सफारी धनीलाई उक्त सफारी फिर्ता दिएका हुन्।

प्रनि कार्कीले चोरी भएको स्थानबाट लगभग १ किलोमिटर उत्तरमा रहेको आदर्श विद्यालयनजिक बेवारिसे अवस्थामा सफारी भेटिएको जानकारी दिए।

उनका अनुसार सफारीमा प्रयोग हुने ब्याट्री भने फेला परेन। सफारीमा लाग्ने ४ वटा ब्याट्री चोरीमा संलग्नले लगेर सफारी भने छाडिदिएको हुनसक्ने प्रहरीको अनुमान छ।

सफारीका धनी एवं चालक संजितकुमार रायले ब्याट्रीको मूल्य १ लाख बराबर पर्ने बताए। उनका अनुसार पछाडिको नम्बर प्लेट पनि उक्काएर फ्यालेको अवस्थामा सफारी फेला परेको हो।

सुनसरीको बर्जु गाउँपालिका–३ घर भएका रायले बिरामी अवस्थाकी आमा राजवतीदेवी रायलाई त्यही सफारीमा राखेर उपचारका लागि अस्पताल ल्याएका थिए।

पार्किङ गरेर आमाको उपचारमा व्यस्त भएको मौका पारेर सफारी चोरी गरिएको राय बताउँछन्। ‘सफारी राखेर आमाको उपचारमा म व्यस्त भएँ। बाहिर निस्किएर हेर्दा पार्किङ गरेको ठाउँमा नदेखेपछि चोरी भयो भनेर प्रहरीलाई खबर गरेँ,’ उनले भने, ‘भोलिपल्ट सफारी त भेटियो। तर, १ लाख मूल्य पर्ने ब्याट्री नै छैन।’

रायले पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सफारीमा नयाँ ब्याट्री किनेर लगाउन सक्ने अवस्थामा आफू नभएको गुनासो गरे। सफारी चलाएर जीविकोपार्जन गर्दै आएकोमा ब्याट्री चोरिएपछि समस्या भएको उनको भनाइ छ। ब्याट्री बिनाको सफारी फेला परेपनि चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
2
+1
2
+1
1
+1
2
+1
0
+1
22
Views: 185

प्रतिक्रिया (०)