


वीरगञ्ज –वीरगञ्जमा भारतीय नागरिकलाई दिउँसै हतियार देखाई अपहरण गरी लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
माघ २६ गते भारत बिहार घर भएका विशाल कुमार पटवालाई वीरगञ्ज महानगरपालिका– ६ रेल्वेरोडबाट हतियार देखाएर अपहरण गरी उनको साथमा रहेको नगद लुटपाट गरेको अरोपमा ८ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
रेल्वेरोडमा उनलाई पेस्तोल देखाई वीरगञ्ज–१५ भिष्वा स्थित एकान्त ठाउँमा लगेर नगद लुटेर छोडिदिएका थिए । घटनाबारे खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोली परिचालन गरिएको थियो ।खोजतलाशका क्रममा उनीहरुलाई लुटिएको मध्ये ४ लाख ९५ हजार रुपैयाँ, लुटपाटमा प्रयोग गरिएको मेड ईन युएसए लेखिएको पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ राउण्ड, खुकुरी १ थान, कैची ४ थान, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरका ३ वटा मोटरसाईकल समेत बरामद गरिएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पक्राउ परेको गिरोह भारतका विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको उनले बताए ।
आठै जना विरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।