Aamsanchar

शिवरात्रिमा २० लाख भक्तजनले पशुपतिकाे दर्शन गर्ने अनुमान

Author Image
बिहिवार, फागुन ४, २०७९

काठमाण्डाै – पर्सि ६ गते परेको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा करिब २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भिड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उहाँले बताउनुभयो ।

कोषले शिवरात्रिको व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ । फूल र बत्तीले पशुपति क्षेत्रलाई आजदेखि सजाउने तयारी भएको छ । महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ । शिवरात्रिमा पशुपति क्षेत्र पुग्ने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

शिवरात्रिमा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिरअघिको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिने छ । पशुपति क्षेत्र नजिक रहेका सबै अस्पतालमा महाशिवरात्रिका अवसरमा आवश्यकताअनुसार शय्याका लागि पनि व्यवस्था गरिएको कोषले जनाएको छ । कोषका अनुसार शिवरात्रिका दिन बिहान ७ बजेअघि नै नित्य दर्शनार्थीले दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर