


हिमपातका कारण पर्यटकीय क्षेत्र तीनजुरेबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक अवरुद्ध भएको छ । सामान्य वर्षा र हिमपातका कारण गन्तव्यतर्फ फर्किँदै गरेका र त्यसतर्फ जाँदै गरेका दर्जनौं सवारी साधन बाटोमै रोकिएको पाँचपोखरीका होटल व्यवसायी उमेश बुढाथोकीले बताए । पाँचपोखरी क्षेत्रमा १ फिटसम्म हिउँ जमेको बुढाथोकीले बताए । मौसममा आएको बदलीसँगै आइतबार रातिबाट सामान्य हिमपात भएको हो । तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ जमेकाले यस क्षेत्रका सबै सडक अवरुद्ध भएका छन् ।
सडकमा हिउँ जमेकाले यो क्षेत्रमा सवारी आवागमन रातिदेखि नै ठप्प छ । सडकमा हिउँ जमेकाले बसन्तपुरबाट ताप्लेजुङको साँघुतर्फ गएका सवारी साधन बीच बाटोमा फसेको बुढाथोकीले टेलिफोनमा बताए । त्यहाँबाट पूर्वी तराईतर्फ आउँदै गरेका केही यात्रुवाहक सवारी साधन समेत बीच बाटैमा रोकिएको गुफा बजारका स्थानीय केदार लिम्बूले जानकारी दिए । बाक्लो हिउँ परिरहेकाले बसन्तपुर–ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको छ ।
धरानबाट ताप्लेजुङको साँघु पुगेर फर्किँदै गरेका यात्रुवाहक र अन्य केही साना सवारी साधन गुफापोखरी आसपास क्षेत्रमा रोकिएका छन् । हिउँले सडक पुरेकाले पैदल हिँड्न समेत समस्या भएको स्थानीयको भनाइ छ । सिमसिम पानी सँगै हिउँ परेकाले लेकाली क्षेत्रमा रहेका चौंरी र भेडालाई चरन समस्या भएको गुफा क्षेत्रका चौंरी पालक किसान ग्याजोला भोटेले बताए । ‘पशु चौपाया चर्ने पूरै जंगल हिउँले सेताम्मे भएको छ,’ शेर्पाले भने, ‘चरनमा जंगलमा छोडिएका चौंरी, गाई–भैंसी र भेडा बाख्रा गोठमा फर्किन समेत समस्या भएको छ ।’हिमपात पछि लेकाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । बुढाबुढी र केटाकेटीलाई चिसोले सताउन सक्ने स्थानीयको भनाइ छ । ढिलोगरी भएपनि हिमपात भएपछि माथिल्लो क्षेत्रका होटल र पर्यटन व्यवसायी भने उत्साहित भएका छन् । यो वर्ष पुस र माघ महिनामा हिउँ परेको थिएन । फागुन महिनामा परेको हिउँ छिट्टै पग्लिने भएकाले लामो समय नरहने चौकी बजारका होटल व्यवसायी उदयकुमार लोले बताए । ‘ढिला भएपनि हिउँ पर्यो,’ उनले भने, ‘धेर थोर जति भएपनि पर्यटक आउलान् भन्ने आशामा छौं ।’ ढिलागरी भएपनि हिउँ परेपछि लेकाली क्षेत्रका किसानलाई राहत पुगेको छ । हिउँले जमिनमा चिस्यान कायम गर्ने भएकाले कृषि उत्पादन बढ्ने किसानको भनाइ छ ।