Aamsanchar

नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिय सदस्यमा झापाली व्यवसायी कार्कीको उम्मेदवारी

Author Image
शनिवार, चैत ११, २०७९

बिर्तामोड ।  नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि झापाली व्यवसायी राजकुमार कार्की (राजु) को उम्मेदवारी  घोषणा गरिएको छ ।

महासङ्घको काठमाडौँमा आगामी चैत २८ र २९ गते हुने अधिवेशनमा वस्तुगत तर्फको केन्द्रिय सदस्य पदका लागि अघि सारिएको हो ।

नेपाल अलैँची व्यवसायी महासङ्घले  आज  (शनिबार ) बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर  झापाली व्यवसायी कार्कीलाई समर्थन गर्ने घोषणा गरेको छ ।

नेपाल अलैँची व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष, हाल नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की (राजु) लाई महासङ्घमा आवद्ध अन्य वस्तुगत सङ्घहरूको पनि सर्मथन रहेको  नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले बताए । उनले भने  ‘ महासंघको नेतृत्वमा आम उद्योगी व्यवसायीको पीर मर्का र पीडा बुझ्ने, उद्योगी– व्यवसायीको अहितमा हुने जुनसुकै निर्णय र क्रियाकलापका विरुद्ध साहस पूर्वक उभिन सक्ने ब्यक्तिको आवश्यकता परेको भन्दै कार्कीलाई उम्मेद्वार बनाउने महासङ्घले निर्णय गरेको हो’ ।

उम्मेदवार कार्की ।

व्यवसायी कार्कीको पक्षमा नेपाल अलैँची व्यावसायी महासंघ, नेपाल सुपाडी प्रशोधन तथा निर्यात संघ, नेपाल भनिएर उत्पादक संघ लगायत ६ वटा वस्तुगत संघले  साझा उम्मेदवार बनाएको नेपाल भनिएर उत्पादक संघका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए  ।

एउटा कुशल, संगठक, प्रष्ट वक्ता, सबैखाले उद्योगी व्यवसायीका समस्या समाधानका लागि अग्रपङ्क्तिमा उभिने हक्की स्वभावका कार्की व्यवसायी हरुका प्रिय पात्रको रुपमा परिचित छन् ।

कार्की नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल कुचो संघको संस्थापक समेत हुन् । कार्कीलाई वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा मतदान गरी अत्यधिक मतले विजयी गराउन सबै वस्तुगत संघहरुमा आवद्ध व्यक्तिहरू समक्ष नेपाल अलैँची व्यवसायी महासङ्घले अपिलसमेत गरेको छ ।

पत्रकार भेटघाटमा महासङ्घका केन्द्रीय उपाध्यक्ष सुवास भट्टराई, सल्लाहकार पवनकुमार बिन्दल, नेपाल सुपारी निर्यात तथा व्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल भनिएर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे, महासंघका महासचिव नारायण चिमरिया, सचिव सुष्मा भण्डारी, कोषाध्यक्ष जितु बंशल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर