Aamsanchar

खानेपानीको ट्याङ्कीमा शव फेला

Author Image
आइतवार, चैत १२, २०७९

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वी राजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज आइतवार बिहान शव भेटिएको हो ।

घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो । ‘दुई/तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देख्यौँ’, मल्लले भन्नुभयो ।

पृथ्वी राजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटक–पटक काटिने गरेकाले त्यही कारण पानी धमिलो आएको हो कि भन्ने शङ्का आफूलाई भएको उहाँले बताउनुभयो । ‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ’, मल्लले भन्नुभयो ।

उहाँले त्यो शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको जानकारी दिनुभयो । ‘ढक्कन खोल्दा सुरुमा कपालजस्तो देख्यौँ, पछि कपडा पनि देख्यौँ, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौँ’, उहाँले भन्नुभयो । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 543

प्रतिक्रिया (०)