Aamsanchar

पाशुपत क्षेत्रमा अयुतचण्डी महायज्ञ गरिने

Author Image
सोमवार, चैत १३, २०७९

काठमाडौं – आर्थिक समुन्नतिका लागि पहिलोपटक पाशुपत क्षेत्रमा अयुतचण्डी महायज्ञको आयोजना गरिने भएको छ। महामण्डलेश्वर प्रखर जी महाराजको सान्निध्य तथा मारवाडी सेवा समिति नेपालको आयोजनामा महायज्ञ आयोजना हुन लागेको हो।

बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेका प्रखर जी महाराजको नेतृत्वमा महायज्ञ आयोजना हुन लागेको मारवाडी सेवा समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। समितिका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार अयुतचण्डी महायज्ञ एवं गणपति महायज्ञ २०८० वैशाख १० देखि २४ गतेसम्म पशुपति मन्दिर परिसर हंश मण्डप वनकालीमा हुनेछ।

स्वात्मनिर्भर नेपाल, आर्थिक उन्नति, औद्योगिक क्रान्ति, राष्ट्रको अभ्युदय, स्वरोजगार एवं स्वावलम्बन महायज्ञको उद्देश्य रहेको गोयलले जानकारी दिए। महायज्ञका लागि गत फागुन २७ गते पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमिपूजन एवं संकल्प गरिसकिएको समितिका महासचिव प्रमोदकुमार अग्रवालले बताए। उनका अनुसार नेपालमा पहिलोपटक २५१ ब्राह्मणद्वारा १०० कुण्डीय महायज्ञको आयोजना हुन लागेको हो।

श्रीमद्भागवत कथा, सन्त सम्मेलन र श्रीकृष्ण रासलीला पनि महायज्ञका क्रममा प्रस्तुत हुने छ। पत्रकार सम्मेलनमा प्रखर जी महाराजले नेपालप्रतिको आफ्नो सद्भाव उच्च रहेका कारण १६ वर्ष पहिले तय भएको महायज्ञ अहिले आयोजना गर्न लागेको बताए। महायज्ञले नेपालको आर्थिक विकासमा सकारात्मक सन्देश प्रवाह हुने बताएका उनले धार्मिक पर्यटनका लागि पनि महत्वपूर्ण भूमिका रहने अपेक्षा गरे।

महायज्ञमा ठूलो संख्यामा भारत तथा अन्य मुलुकबाट समेत भक्तजनहरू आउने भएकाले त्यसको अलग्गै महत्व हुने उनको भनाइ थियो। उनले धर्म अनुयायीहरूका साथै आम नागरिकलाई महायज्ञमा उपस्थितिका लागि पनि आग्रह गरे।
नेपालमा पहिलोपटक २५१ ब्राह्मणद्वारा १०० कुण्डीय महायज्ञको आयोजना हुन लागेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर